३२ अंकले बढेको नेप्सेमा आधा दर्जन कम्पनीको बोलवाला, बजारको वृद्धि कति स्वाभाविक ?

  २०७६ वैशाख ८ गते १७:४६     विकासन्युज

काठमाडौं । साताकाे पहिलाे दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१.८९ अंकले बढ्यो । आइतबार २.५९ प्रतिशतकाे बजार वृद्धिको मुख्य हिस्सा बैंकिङ समूह रह्यो । २७ ओटा वाणिज्य बैंक रहेको उक्त उपसमूह ४५.४९ प्रतिशतले बढ्यो जुन ४.१ प्रतिशत बढी हो ।

नेप्से ३२ अंकले बढे पनि ११ ओटा उपसमूहमध्ये २ ओटाको परिसूचक घटेको छ भने ३ ओटा उपसूचकको एक प्रतिशत भन्दा कम मूल्य वृद्धि हुँदा ४ ओटा सूचकको मूल्य १ देखि २ प्रतिशतले भएको छ । तर बैंकिङ समूहमात्रैको मूल्यवृद्धि ४ प्रतिशत माथि पुगेको छ जुन अन्य उपसूचकको भन्दा दोब्बर भन्दा बढी प्रतिशतको बढोत्तरी हो ।

बैंकिङ परिसूचकभित्रकै वृद्धिलाई नियाल्ने हो भने पनि त्यसभित्र रहेका २७ ओटा कम्पनीको शेयरमूल्यको उतारचढावमा एकरुपता देखिँदैन । आजको बजारमा यो उपसूचकमा पर्ने कम्पनीमध्ये २ ओटाले मूल्य गुमाएको अवस्था छ भने १७ ओटा कम्पनीको मूल्य औसतभन्दा कम प्रतिशतले बढेको छ । नबिल, एभरेष्ट, बैंक अफ काठमाण्डू, हिमालयन, एसबिआई, स्ट्याण्डर्ड चार्टर्ड र कुमारी बैंक गरी ७ ओटा कम्पनीको मात्रै ६ प्रतिशतभन्दा बढीले मूल्य बढेको छ ।

६ प्रतिशत माथि बजार मूल्य वृद्धि भएका कम्पनीमध्ये कुमारी बैंकबाहेक अन्य सबै बजार पुँजीकरण ठूला मानिएका कम्पनीहरु हुन् । बढी बजार पुँजीकरण रहेका कम्पनीमा लगानी सुरक्षित (जोखिम कम) हुने भएकाले लगानीकर्ताहरुको यी कम्पनीहरुमा बढी आकर्षण देखिएको हो । पहिले नै बजारमा राम्रो तरिकाले स्थापित भइसकेकाले यी कम्पनीहरुमा स्थिर लाभांश भुक्तानीहरूको सम्भावना रहन्छ। यी लाभांशहरूले लगानीकर्ताहरूलाई राम्रो रिटर्नहरू दिन सहयोग पुग्नेछ ।

गत साता मार्वाडी समूह बजारमा प्रवेश भएकाले सोही समूहका बैंकहरुको बढी कारोबार भएको बजारमा हल्ला चलेको थियो । बीमा कम्पनीकाे लगानी क्षेत्रकाे दायरा फराकिलाे भएपछि ती कम्पनीहरु पनि तुलनात्मक रुपमा बलिया कम्पनीहरुमा आकर्षित भएर शेयर किन्न थालेको समेत बताइन थालिएको छ । तर यस मात्र नभएर बजारमा सेयर किनबेच गर्नेबीच उल्लेख्य बार्गेनिङ भएकाले सेयर कारोबारको रकम बढिरहेको छ । यसले बजारमा थप सुधार ल्याउने संकेत गरेको छ ।

आइतबार बढी कारोबार गर्ने १० कम्पनीमा १० वटै वाणिज्य बैंकहरु परेका छन् । सो मध्ये सबैभन्दा बढी नेपाल बैंकको १४ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकको सोमबार वैशाख ९ गते बुक क्लोज गर्दै छ त्यसैले आइतबार यस कम्पनीको बढी सेयर किनबेच भएको हो ।

सेयर बजारमा उछालः नेप्से ३१ अंकले बढ्दा कारोबार रकमले एक अर्ब नाघ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.