राष्ट्रिय भर्ना अभियानमा संस्थागत विद्यालयकाे असहयाेग: महँगाे शुल्क, बैशाख नलाग्दै भर्ना बन्द

  २०७६ वैशाख ८ गते १४:५२     डोमी शेर्पा

काठमाडौं । काठमाडौं सबैभन्दा धेरै विद्यार्थी भएको र राम्रो विद्यालयमा गनिने हात्तीवन स्थित लिटिल एन्जल्स स्कुलले २०७६ को भर्ना कार्यक्रम चैत ३० गते बन्द गर्यो । ललितपुर जिल्लाकै रातो बंग्ला स्कुलले पनि आफ्नो भर्ना केही दिन अघि मात्र बन्द गरेको छ ।

काठमाडौंका ठूला र महँगा मानिने चाँदबाग स्कुल, द एक्सिलेसर स्कुल, रुपिज इन्टरनेशनल स्कुल लगायतले पनि आफ्नो भर्ना कार्यक्रम सकिएको भन्दै नयाँ विद्यार्थी र अभिभावकलाई फर्काउने गरेका छन् ।

यी त उदाहरण मात्रै हुन् । तुलनात्मक रुपमा राम्रा भनिएका ‘क’ वर्गका अधिकांश विद्यालयहरुको भर्ना कार्यक्रम चैत नलाग्दै सुरु हुन्छ । यसबाहेक काठमाडौंका धेरै विद्यालयहरुले २०७६ को लागि भर्ना बन्द गरिसकेका छन् । तर सरकारले भने आफ्नो भर्ना सत्र सुरु पनि गरेको छैन ।

सरकारले बैशाख २ गतेदेखि राष्ट्रिय भर्ना अभियान सुरु गरेको हो। सरकारले घोषणा गरेको उक्त मितिदेखि काठमाडौंका सबै स्थानीय तहले भर्ना गरिरहेका छन् । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका यो अभियानमा सामिल छन्।

काठमाडौंले “हाम्रो नगर, हाम्रो गाउँ सबै बालबालिकालाई विद्यालय पुर्याउँ” भन्ने नाराको साथ २ गतेदेखि १४ गतेसम्म भर्ना अभियान सञ्चालन भईरहेको र विद्यालयबाहिर रहेका बालबालिकालाई पढाइको पहुँचमा ल्याउने उद्देश्यले अभियान सुरु गरिएको कामपाको शिक्षा विभागले जनाएको छ । त्यस्तै ललितपुर जिल्लाको शिक्षा विभाग तथा समन्वय ईकाइले पनि ललितपुरमा भर्ना अभियान चलिरहेको बताएको छ।

तर संस्थागत विद्यालयहरुले आफ्नो मर्जी गरिरहेका छन् । विद्यालयहरुले भर्ना कहिले खुल्ने र बन्द हुने समयको बारेमा धेरै अभिभावक अलमलमा छन् । सबैले एकै समयमा सँगै भर्ना सत्र सुरु नगर्दा धेरै विद्यार्थीले आफु पढ्न चाहने विद्यालयमा पढ्न पाएका छैनन् ।

संस्थागत विद्यालयहरु भने समयावधि भन्दा अगाडि भर्ना सुरु गरेर बन्द गर्ने विद्यालयहरुमाथि राज्यप्रतिको उत्तरदायि नभएको र नाफामुखी मात्र भएको आरोप लाग्न थालेको छ । संस्थागत र सामुदायिक विद्यालयहरु एक अर्काका परिपुरक भए पनि र देशको शिक्षाको उनीहरुको पनि उत्तिकै योगदान हुने भएकोले सरकारी अभियानलाई असहयोग गर्ने सरकारी विद्यालयलाई कारबाही हुनुपर्ने माग समेत सरोकारवालाहरुले गरेका छन् ।

सरकारले कारबाही गर्नसक्छ ?

बैशाख नलाग्दै भर्ना बन्द गर्ने विद्यालयलाई सरकारले कारबाही हुने महानगर शिक्षा विभागले जनाएको छ। काठमाडौं महानगरपालिका शिक्षा विभागले काठमाडौं महानगर क्षेत्रभित्र रहेका विभागको नियमन क्षेत्रभित्र पर्ने विद्यालयहरुले बैशाख २ गतेदेखि १४ गतेसम्म भर्ना सञ्चालन गर्नुपर्ने भन्दै तोकिएको समयभन्दा अघि भर्ना बन्द गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

काठमाडौं महानगरपालिका शिक्षा विभागकी प्रमुख निर्मला केसीले विद्यालयहरुले समय नै नभई भर्ना कार्यक्रम सञ्चालन गर्न र भर्ना बन्द गर्न नपाउने भन्दै त्यस्तो देखिए कारबाही गर्ने बताएकी हुन् । ‘विभागले बैशाख २ देखी बैशाख १४ गतेलाई भर्ना सत्र तोकेको छ।

विद्यार्थीहरुको भर्ना सोही समयभित्र गर्नुपर्छ । त्यसभन्दा अघि कुनैपनि क्रियाकलापलाई विभागले मान्यता दिँदैन । त्यस्तो भेटिए कारबाही हुन्छ । त्यस्तो कारबाही २५ हजार रुपैंया जरिवानादेखि विद्यालयको दर्ता खारेजीसम्म हुनसक्छ ।’– प्रमुख केसीले भनिन् ।

त्यस्तै ललितपुरका शिक्षा विभाग तथा समन्वय प्रमुख गुणराज पोखरेलले पनि यदी विद्यालयहरुले बैशाख अगाडी विद्यालयको भर्ना बन्द गरेको पाईएमा सरकारी नियम अनुसार कारबाही हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.