नेपाली चिनी उद्योग संकटमा, ‘लागत भन्दा घटीमा बिक्री’

  २०७६ वैशाख ८ गते १२:४६     विकासन्युज

काठमाडौँ । नेपाल चिनी उद्योग संघले चिनी उद्योगीहरु संकटमा पर्दै गएको जनाएको छ । नेपालमा उत्पादित चिनीको बिक्री न्यून हुनु र लागत भन्दा घटी मूल्यमा बिक्री गर्नु गरेकाले संकट उत्पन्न भएको जनाइएको छ । संघले स्वदेशी चिनी उद्योगहरुको वस्तु स्थिति सार्वजनिक गर्दै गतवर्षको उखु क्रसिङ सिजनमा २ अर्ब २५ करोड घाटा व्यहोरेको जनाएको छ ।

उखु कृषकहरुलाई भुक्तानी दिनका लागि चिनी उद्योगीहरु लागत मूल्य भन्दा पनि घटी कारखाना मूल्य ६३ रुपैयाँ प्रतिकेजीमा चिनी बिक्री गर्न तयार रहेको संघले जनाएको छ । क्रसिङ सिजन २०७४/०७५ मा चिनी उत्पादन लागत कारखानाद्वारा मूल्य ६२ रुपैयाँ र २०७५/०७६ मा ६४ रुपैयाँ ३० पैसा रहेको छ ।

नेपाल सरकारबाट २०७४ बैशाख ४ गते चिनीमा भन्सार महशुल १५ प्रतिशत वाट ३० प्रतिशत कायम गर्दा पनि विदेशी चिनी निर्वाध रुपमा आयात भएको महालेखाको प्रतिवेदनले समेत पुष्टी गरेको संघले जनाएको छ । २०७५ भदौको अन्तिम साता चिनी आयातमा परिणात्मक बन्देज पश्चात मात्र स्वदेशी चिनी बिक्री भएबाट अधिकांश चिनी उद्योगहरुले गत सिजनमा २०७४/०७५ को उखुको भुक्तानी गर्न सक्षम रहेको संघले जनाएको छ ।

संघले सार्वजनिक गरेको विवरण अनुसार चालु क्रसिङ सिजनको २०७५ चैत २५ गतेसम्ममा १ लाख ६२ हजार २ सय ५० मेट्रिक टन उत्पादन भएको छ । क्रसिङ चालु रहेकाले २८ हजार २ सय ५० मेट्रिक टन थप चिनी उत्पादन हुनेछ ।अघिल्लो वर्षको मौज्दात ७६ हजार ५ सय ४२ मेट्रिक टन रहेकाले २ लाख ६७ हजार ४२ मेट्रिक टन कूल मौज्दात रहने संघले जनाएको छ ।

नेपालमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनीको माग छ । देशको मागलाई पूरा गरी २० हजार मेट्रिक टन चिनी मौज्दात रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.