वैदेशिक रोजगारको लागि स्वास्थ्य परिक्षण गर्ने १२६ अस्पतालमा अनुगमन हुँदै

२०७६ वैशाख ६ गते १७:५२ विकासन्युज

काठमाडौं। वैदेशिक रोजगारकोमा जाने कामदारको स्वास्थ्य परिक्षणको लागि निवेदन पेश गरेका अस्पतालको अनुगमन हुने भएको छ। स्वास्थ्य परिक्षणको लागि सुचिक्रित हुन निवेदन पेश गरेका १२६ वटा अस्पतालमा बैशाख ८ गते आईतबारबाट अनुगमन हुन लागेको हो। स्वास्थ्य परिक्षणको लागि अस्पतालको मापदण्ड पुरा भएको छ वा छैन भनेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनुगमन गर्न लागेको हो।

मन्त्रालयले अनुगमनको लागि देशैभर ४ वटा टोली खटिउने जसमध्ये उपत्यका बाहिरको लागि ३ वटा टोली जसको १० दिन भित्र सुचना संकलन गरिसक्नुपर्ने र त्यस्तै उपत्यकामा १ टोली खटाईनेछ जसले १५ दिन भित्रमा सबै सुचना संकलन गरी सक्नुपर्नेछ। हरेक टोलीमा स्वास्थ्य मन्त्रालयबाट ३ जना विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयबाट एक अधिकृत गरि ४ जना रहनेछन।

अनुगमनमा आउने प्राविधिक समितिका टोलीलाई अस्पतालले आवश्यक विवरन सबै बुझाई सहयोग गर्न मन्त्रालयले आग्रह गरेको छ।