सेञ्चुरी क्यापिटल उद्घाटन, ‘चाँडै उत्कृष्ट मर्चेन्ट बैंकर हुने’

  २०७६ वैशाख ६ गते १७:५१     विकासन्युज


काठमाडौँ । सेञ्चुरी क्यापिटल मार्केट्सको आज एक समारोहका बीच उद्घाटन भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले काठमाडौँ प्लाजा, कमलादीमा ताम्रपत्र अनावरण गरेर सञ्चुरी क्यापिटलको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा डा. कार्कीले अहिले ३१ औं मर्चेन्ट बैंकरको रुपमा सेञ्चुरी क्यापिटल आएकोले थुप्रै प्रतिस्पर्धा, चुनौतीहरु रहेको बताए । तालिम प्राप्त योग्य कर्मचारी, पर्याप्त अनुसन्धान सहित धितोपत्र बोर्डले ल्याएका नयाँ क्षेत्रका कामहरुलाई अवसरको रुपमा लिई अघि वढ्न समेत उनले सुझाव दिएका थिए ।

समारोहमा सेञ्चुरी कमर्सियल बैंक लि.का प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र मर्चेन्ट बैंक एशोसिएशनका अध्यक्ष धु्रव तिमिल्सिनाले सबै अवसरहरुलाई सकारात्मक रुपमा लिएर चाँडै उत्कृष्ट मर्चेन्ट बैंकरको रुपमा स्थापित हुन सफल होस् भन्ने शुभकामना व्यक्त गरे ।

यसैबीच, शुक्रबार नै सेञ्चुरी क्यापिटल मार्केट्स लि.ले दोश्रो बार्षिक साधारण सभा समेत सम्पन्न गरेको छ । सभाले संस्थागत परामर्श सेवा तथा विशिष्टिकृत लगानी व्यवस्थापक समेतको काम गर्ने गरी  प्रबन्धपत्रमा उद्देश्य थप गर्ने निर्णय गरेको जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत झविन्द्र खत्रीले स्वागत मन्तव्य गरेको कार्यक्रम कानूनी सल्लाहकार पुरुषोत्तमप्रसाद घिमिरेले सञ्चालन गरेका थिए ।

संस्थाका अध्यक्ष रणबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम समापन गर्ने क्रममा चाँडै नै वहुआयामिक ढंगले संस्थाले आप्mनो कारोबार सञ्चालन गर्ने र चाँडै उत्कृष्ट मर्चेन्ट बैंकर हुने कुरा राख्दै उद्घाटन समारोह तथा दोश्रो बार्षिक साधारण सभामा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७३ साल साउन २६ गते दर्ता भई नेपाल धितोपत्र बोर्डबाट २०७५ साल फागुन २ गते मर्चेन्ट बैंकिंग कारोवार गर्ने ईजाजत पाएको कम्पनीको अधिकृत पूँजी ३० करोड, जारी पूँजी २५ करोड र हालको चुक्ता पूँजी २० करोड रहेको छ ।

चुक्ता पूँजी मध्ये संस्थागत लगानीकर्ता सेञ्चुरी कमर्सियल बैंक लि.को ८५.७५ प्रतिशत तथा व्यक्तिगत लगानीकर्ताको १४.२५ प्रतिशत संस्थापक शेयर रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.