दुई महिनाभित्र राष्ट्र बैंकबाट ५ जना कार्यकारी बाहिरिँदै, आकर्षक विभाग पाउन दौडधुप शुरु

  २०७६ वैशाख ६ गते १६:००     विकासन्युज

काठमाडौं । दुई महिनाभित्र नेपाल राष्ट्र बैंकका ५ जना कार्यकारी निर्देशकले अवकाश पाउने भएका छन् । नेपाल राष्ट्र बैंकका १७ जना कार्यकारी निर्देशकमध्ये सो संख्याका कार्यकारी निर्देशकहरुले जेठ महिनाभित्रै अनिवार्य अवकाश पाउने भएका हुन् ।

कार्यकारी निर्देशकहरु नरबहादुर थापा, जनकबहादुर अधिकारी, नारायणप्रसाद पौडेल, भिष्मराज ढुङ्गाना र झलक शर्मा आचार्यले जेठ महिनाभित्रै अनिवार्य अवकाश प्राप्त गर्न लागेको राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले जनाएको छ ।

नेपाल राष्ट्र बैंक कर्मचारी सेवा नियमावली २०६८ ले अन्य कर्मचारीको अनिवार्य अवकाशका लागि दुईओटा मापदण्ड र कार्यकारी निर्देशकको लागि ३ ओटा मापदण्ड तोकेको छ । अन्य कर्मचारीका हकमा ३० वर्षे सेवा अवधि वा ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउने व्यवस्था रहे पनि कार्यकारी निर्देशकका लागि भने ७ वर्ष निरन्तर सो पदमा रहेको व्यक्तिले समेत अनिवार्य अवकाश पाउने व्यवस्था छ ।

यी तीनओटै मापदण्डमध्ये सबैभन्दा सुरुमा आकर्षित हुने मापदण्डले अनिवार्य अवकाश पाउने व्यवस्था रहेको राष्ट्र बैंक जनशक्ति विभागका कार्यकारी निर्देशक पिताम्बर भण्डारीले जानकारी दिए । उनले पाँचैजना कार्यकारी निर्देशकहरु ती तीनमध्ये कुनै मापदण्डका कारण अनिवार्य अवकाश पाउन लागेको भन्दै सबैजना जेठ महिनाभित्र बिदा भइसक्ने जानकारी दिए ।

कार्यकारी निर्देशकहरुको अनिवार्य अवकाशसँगै राम्रो विभागमा जान चाहने र बढुवा हुनका लागि दौडधुप सुरु भएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

खासगरी राष्ट्र बैंकको सबैभन्दा शक्तिशाली मानिने नियमन विभागमा सबै कार्यकारी निर्देशकहरुको चासो छ । हाल नारायणप्रसाद पौडेलले सो विभागका साथै प्रवक्ता तथा सूचना अधिकारीको समेत जिम्मेवारी सम्हालिरहेका छन् । नियमन विभाग प्रमुख र प्रवक्ता एउटै व्यक्ति हुनु नपर्ने भएको तथा प्रवक्तालाई समेत शक्तिशाली मानिने भएकोले उनको अवकाशसँगै दुईओटा आकर्षक पद खाली हुनेछ ।

त्यस्तै, विदेशी मुद्रा व्यवस्थापन विभागमा समेत कार्यकारी निर्देशकहरुको आकर्षण छ । भिष्मराज ढुङ्गानाको अनिवार्य अवकाशपछि सो विभाग रिक्त हुनेछ ।

त्यस्तै, हाल जनकबहादुर अधिकारीले नेतृत्व गरेको लघुवित्त सुपरीवेक्षण विभागका प्रमुख पद उनको अवकाशसँगै रिक्त हुनेछ । ८२ ओटा लघुवित्तको सुपरीवेक्षणको जिम्मेवारी पाएको उक्त विभागलाई पनि राम्रो विभागको रुपमा लिइन्छ ।

कार्यकारी निर्देशकहरुमध्ये  दाेस्राे वरियतामा रहेका नरबहादुर थापाको नेतृत्वमा रहेको आन्तरिक ऋण व्यवस्थापन विभाग पनि उनको अवकाशसँगै खाली हुनेछ । खासै आकर्षण केन्द्रको रुपमा नरहेको सो विभागमा थापालाई अर्थमन्त्री युवराज खतिवडाको निर्देशनमा कारबाही स्वरुप सरुवा गरिएको थियो ।

त्यस्तै, राष्ट्र बैंकको विभागकै हैसियतमा रहेको बैंकिङ कार्यालय थापाथलीका कार्यकारी निर्देशक झलक शर्मा आचार्यले पनि अनिवार्य अवकाश पाउँदैछन् । उनी हाल राष्ट्र बैंकमा १० औं वरियताका कार्यकारी निर्देशक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.