बक्यौता रकम नतिर्दै नयाँ विमान दर्ता, ‘पदाधिकारीलाई जिम्मेवार बनाई कारवाही गर्नुपर्छ’

२०७६ वैशाख ६ गते १३:११ विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) का कार्यकारी निर्देशकले नियम विपरित नयाँ विमान दर्ता गरेको आरोप लागेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तिर्नुपर्ने रकम बक्यौता हुँदाहुँदै सम्बन्धित कम्पनीले ल्याएका नयाँ जहाजहरु कार्यकारी निर्देशकले दर्ता गरिदिएको आरोप संवैधानिक निकायले लगाएको हो ।

महालेखा परीक्षकको कार्यालयका अनुसार २०७४/७५ मा दर्ता भएका नयाँ जहाजहरुमध्ये ७ ओटा कम्पनीले सरकार वा प्राधिकरणलाई करिब ३ करोड ५० लाख लाख भन्दा बढी रकम तिर्न बाँकी रहेको अवस्था थियो ।

नेपाल नागरिक उड्डयन नियमावली २०५८ को नियम ८ ले त्यसरी बक्यौता हुँदाहुँदै नयाँ यान दर्ता गर्न नमिल्ने व्यवस्था गरे पनि जिम्मेवार पदाधिकारीले नियमको परिपालना नगरेको भन्दै सोही पदाधिकारीलाई जिम्मेवार बनाई उक्त रकम असुल उपर गर्न भनेको हो । नियमावलीले पदाधिकारी भन्नाले यान दर्ताको जिम्मेवारी महानिर्देशकलाई तोकेकोले महालेखाले तत्कालीन महानिर्देशकलाई नै जिम्मेवार बनाउने आशय महालेखाले व्यक्त गरेको हो ।

प्राधिकरणले भने प्रतिवेदनमा उल्लेखित धेरैजसो कम्पनीहरुको बक्यौता उठिसकेको र सो रकम ठूलो नभएको जनाएको छ । ‘एयरलाइन्स कम्पनीहरुले प्राधिकरणलाई करोडौं शुल्क बुझाउँछन्, बुझाइरहेका छन् । ७ ओटा विमान कम्पनीको साढे ३ करोड बक्यौता भनिएको छ, त्यो ठूलो रकम होइन, त्यसमाथि धेरैजसोले त्यो रकम तिरिसके । महालेखाले कमेन्ट गर्नु स्वाभाविक होला, तर क्यानको लागि यो ठूलो विषय होइन ।’-क्यानका उप महानिर्देशक राजन पोखरेलले विकासन्यूजसँग भने ।

महालेखाको प्रतिवेदनमा सीता, तारा, बुद्ध, डायनेष्टि, यति, श्री र समिट एयरलाइन्सले १ लाख ८१ हजार रुपैयाँदेखि १ करोड ८८ लाख रुपैयाँसम्म बक्यौता बाँकी रहेको अवस्थामा नयाँ यान दर्ता गरिदिएको उल्लेख गरिएको छ । त्यसमा सबैभन्दा बढी बुद्ध र सबैभन्दा कम डाइनेष्टिको बक्यौता रहेको उल्लेख छ ।

सञ्चालनमा रहेका एयरलाइन्सहरुको रकम निरन्तर क्यानलाई गैरहेकाले २-३ करोड सम्मको बक्यौता रकम ठूलो मान्न नहुने वायु सेवा सञ्चालक संघका प्रवक्ता घनश्यामराज आचार्यले बताए ।