एक साताभित्रै ५ कम्पनीको आईपीओ, उत्साहजनक सहभागिताको सम्भावना

  २०७६ वैशाख ५ गते १२:०४     विकासन्युज

काठमाडौं । एक साताको बीचमा ५ ओटा कम्पनीको आईपीओ निष्कासन हुँदैछ ।

दुईओटा जलविद्युत् कम्पनी, दुईओटा लघुवित्त र एउटा म्युचुअल फण्डको आईपीओ यस सातादेखि प्राथमिक बजारमा निष्कासनको लागि तयारी गरिएको छ ।

बिहीबारदेखि नै नबिल म्युचुअल ब्यालेन्स फण्ड-२ को १ अर्ब २० करोड रुपैंया बराबरको १० करोड २० लाख इकाई खुला भएको छ । यसको शेयर निष्कासन अवधि छिटोमा सोमबारसम्म छ ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत समाविष्ट दुई जलविद्युत् कम्पनीहरु रसुवागढी हाइड्रोपावर र साञ्जेन हाइड्रोवावरको १ अर्ब ४३ करोड रुपैंयाका १ लाख ४३ हजार कित्ता शेयर शुक्रबारदेखि बिक्रीका लागि खुल्ला हुनेछ । यो आईपीओ छिटोमा आगामी मंगलबार बन्द हुनेछ ।

उता नेपाल एग्रो र गणपति लघुवित्तको क्रमशः १ करोड ६१ लाख र ३ करोड ३५ लाख रुपैंया बराबरका शेयर निष्कासनको अन्तिम तयारीमा छन् । नेपाल एग्रोको आईपीओ आइतबार (बैशाख ८ गते) देखि खुल्नेछ भने गणपति लघुवित्तको शेयर सोमबार (बैशाख ९ गते) देखि आईपीओ निष्कासन गर्न आह्वानपत्र प्रकाशन गरिसकेका छन् । यी कम्पनीहरुले चैत १८ र चैत ७ गते धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति प्राप्त गरेका थिए ।

यसरी नबिल, रसुवागढी, साञ्जेन, नेपाल एग्रो र गणपति समेतगरी ५ ओटा कम्पनीका गरी कुल २ अर्ब ६७ करोड ९६ लाख रुपैंया बराबरका प्रारम्भिक सार्वजनिक निष्कासनहरु यसै साता खुल्ने भएको हो भने गुराँसको २ करोड ५० लाख रुपैंया बराबरको शेयर अर्को साता खुला हुने सम्भावना छ । उसले चैत २६ गते आईपीओ निष्कासनको अन्तिम स्वीकृति पाएको थियो ।

उत्साहजनक सहभागिताको सम्भावना

लघुवित्तको शेयरमा आकर्षण कायमै रहेको अवस्थामा निष्कासनको क्रममा रहेका ७ करोड ४६ लाख रुपैंया बराबरका नेपाल एग्रो, गणपति र गुराँसको शेयरहरु सदाझैँ लगानीकर्ताको आकर्षणको केन्द्रविन्दु बन्ने निश्चित छ । त्यस्तै राम्रो प्रतिफल दिनसक्ने प्रक्षेपण गरिएकोले यी दुई कम्पनीहरुमा शेयर आवेदनका लागि लगानीकर्ता आतुर देखिन्छन् । त्यसैले यी कम्पनीहरुमा उत्साहजनक सहभागिताको सम्भावना देखिन्छ ।

नबिललाई भने गाह्रो
नबिल ब्यालेन्स आईपीओ बिक्री गराउन मुस्किल पर्ने देखिन्छ । बजारमा सञ्चालनमा रहेका म्युचुअल फण्डको कार्यसम्पादन तथा बजारमूल्य राम्रो नभएको परिप्रेक्षमा आउन लागेको फण्डमा आम लगानीकर्ताको आकर्षण कम देखिएको छ ।

बजारमा रहेका १३ ओटा म्युचुअल फण्डमध्ये १२ ओटाका बजारमूल्य अंकित मूलभन्दा कम हुनु, नबिल म्युचुअल फण्डकै नबिल ब्यालेन्स फण्डको बजार मूल्य समेत अंकित मूल्यभन्दा कम हुनु, एकैपटक ठूलो परिमाणमा ईकाई बिक्री खुल्नु तथा रसुवागढी, साञ्जेन तथा अन्य तीन लघुवित्तहरुको आईपीओ समेत निष्कासनको अन्तिम चरणमा रहनु जस्ता कारणले नबिललाई आईपीओ बिक्रीमा गाह्रो पर्ने संकेत देखिएको हो । यद्यपि बिहीबारदेखि खुल्ला भएको फण्डको ईकाईमा पहिलो दिनमा पर्ने आवेदनले यसको पूर्वसंकेत गराउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.