नबिलले बिहीबारदेखि १ अर्ब २० करोडको म्युचुअल फण्ड बिक्री गर्दै, एक हजारमै लगानी गर्न सकिने

  २०७६ वैशाख ४ गते १६:४२     विकासन्युज

काठमाडौं । नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड-नबिल इन्भेष्टले आगामी बिहीबार अर्थात बैशाख ५ गतेदेखि नबिल ब्यालेन्स फण्ड २ को इकाई बिक्री गर्ने भएको छ । नबिल इन्भेष्टले आफ्नो तेश्रो योजना नबिल ब्यालेन्स फण्ड २ को १० रुपैयाँ दरका १२ करोड इकाई सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।

इच्छुक लगानीकर्ता(व्यक्ति तथा संस्था)ले यस योजनामा न्युनतम एक हजारदेखि १२ करोड रुपैयाँसम्म लगानी गर्न सक्नेछन् । लगानीकर्ताले वैशाख ५ गतेदेखि छिटोमा वैशाख ९ गते भित्र आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले अन्य धितोपत्र बिक्री गरेजस्तै गरी आफ्नो सी आश्वा खाता रहेको बैंक वा मेरो सेयरमा लगइन गरी अनलाईन आवेदन गर्न सक्ने छन् ।

यो एक बन्दमुखी योजना हो जसको आकार एक अर्ब २० करोड रुपैयाँ रहेको छ । जसको अवधि १० वर्षको रहेको छ ।

नबिल इन्भेष्टमेण्ट बैंकिंगले यस अघि नबिल ब्यालेन्स फण्ड १ र नबिल इक्विटी फण्ड सञ्चालनमा ल्याइसकेको छ ।

नबिल ब्यालेन्स फण्ड २को मूख्य उद्देश्य प्रचलित सामूहिक लगानी कोष नियमावली एवं निर्देशिकाको अधिनमा रही इकाई बिक्रीबाट उठेको वा संकलन भएको रकमलाई विविध क्षेत्र र उपकरणहरुमा जोखिम न्युनीकरण गर्दै लगानी गरी सोबाट आर्जन भएको मुनाफा इकाई धनीहरुलाई वितरण गर्नु रहेको संस्थाले जनाएको छ ।

त्यस्तै, योजनाको इकाईहरु नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत गरी कारोबार र तरलताको व्यवस्था मिलाईने छ । जस अनुरुप अन्य प्रकारका धितोपत्र सरह योजनाको अवधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद बिक्री गर्न सकिने छ ।

साथै, नबिल बैंक तथा नबिल इन्भेष्टले बीज पुँजीको रुपमा योजनाको १५ प्रतिशत रकम लगानी गर्ने निर्णय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.