लिटल थिएटर ग्यारेजको पाँचौ संस्करणमा रमाउँदै बालबालिका

  २०७६ वैशाख ४ गते ११:४५     विकासन्युज

काठमाडौं । लिटल थिएटर ग्यारेजको पाँचौ संस्करणमा बालबालिका अभिनय कार्यशालामा रमाइरहेका छन्र  । हामी बालबालिका हौं, देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छौ’ भन्ने मूल भावका साथ लिटल थिएटर ग्यारेजः बालबालिकाको लागि नाट्य तथा अभिनय कार्यशाला यस वर्ष पनि भइरहेको छ । थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले हरेक वर्ष गर्ने कार्यशालाको यस वर्ष पाँचौ संस्करण चलिरहेको हो ।

कीर्तिपुरस्थित राराहिल स्कुलको सहकार्यमा स्थापित थिएटर मलमा सञ्चालन भइरहेको लिटल थिएटर ग्यारेजका ३३ जना बालबालिका रमाइरहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ५ देखि १३ वर्ष उमेर समूहका बालबालिका कार्यशालामा सहभागी भएका हुन् ।

थिएटरका विभिन्न खेल तथा क्रियाकलापहरु मर्फत अभिनयको साथमा उनीहरुको व्यक्तित्व विकासका सघाउ पुर्याउने उद्धेश्य साथ कार्यशालाको ढाँचा तयार पारिएको छ । उनीहरुले कार्यशालामा कथावाचान, चित्रकला, नृत्य, वतृत्वकला, क्ले आर्ट तथा अभिनयका विभिन्न क्रियाकलापमा सहभागी भइसकेका छन् ।

कार्यशालाको अन्तिम दिन उनीहरुले अतिथि र अभिभावकका माझ ३ वटा नाट्य प्रस्तुति दिँदैछन् । साथमा कार्यशालामा सिकेका र अभ्यास गरेका अन्य प्रस्तुति पनि रहनेछन् । हरेक वर्ष चैत २० गतेबाट सुरु हुने १५ दिने कार्यशाला बैशाख ७ मा सम्पन्न हुनेछ ।

बालरंगमञ्च सम्बन्धी अन्तर्राष्ट्रिय संगठनको नेपाल सेन्टर आसितेज नेपालको सहकार्यमा कार्यशालालाई थिएटर मल र टिसीसी नेपालले २०७१ सालदेखि निरन्तरता दिँदै आएको छ । नेपालमा बाल रंगमञ्चलाई चेतनासहित स्थापना गर्न लागिरहेका युवा रंगकर्मी केदार श्रेष्ठको नेतृत्वमा कार्यशालाले सनरन्तरता पाइरहेको छ । उनी आयोजक संस्थाका कला निर्देशक पनि हुन् । साथमा युवा कलाकर्मीहरु इलिना नकर्मी, सञ्जिता पराजुली, सविर चुरौटै, अरुण पौडेल, सुजन महत, सुजिता महर्जन छन् ।

नेपालमा बाल रंगमञ्च स्थापना गर्दै यसको नियमितता र विकासका लागि खोलिएको थिएटर सेन्टर फर चिल्ड्रेनले आफ्ना नाट्य प्रस्तुतिहरु राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म मञ्चन गरिसकेको छ । गत फागुन नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवसहित कीर्तिपुरमा पुनःस्थापना भएको थिएटर मलले यही महिनाबाट नियमित नाटक मञ्चन थाल्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.