सम्झौता भन्दा १५ फिट अग्लो भवन बन्ने भएपछि विमानस्थलको अन्डर पार्किङ असुरक्षित

  २०७६ वैशाख ४ गते १०:१५     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्डर पार्किङ असुरक्षित देखिएको छ । निर्माण जिम्मा लिएको रसुवा केडी जेभीले सम्झौता विपरित पार्किङ निर्माण गरेपछि अन्डर पार्किङ असुरक्षित देखिएको हो ।

जेभीले नागरिक उड्ययन प्राधिकरणसँग गरेको सम्झौता अनुसार ३७ फिट अग्लो व्यापारिक भवन निर्माण गर्ने उल्लेख गरिएको थियो । तर, अन्डर ग्राउण्ड पार्किङ सहित १५ फिट बढाएर ५२ फिटको भवन निर्माण गरेको हो ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार रिभाइज ड्रइङ कार्यालयबाट स्वीकृत नभई निर्माण कार्य थालेकोले गुणस्तरको पार्किङ बन्न नसकेको हो । ठेक्का शर्तमा रहेको संरचना अनुसारको भवन निर्माण नगरी पृथक शैलीमा निर्माण गर्दा प्राधिकरणलाई आर्थिक तथा गुणस्तरमा गम्भीर असर पर्नेमा कार्यालयले सजग गराएको छ ।

कम्पनीले सो भवन काठमाडौं महानगरपालिकाबाट नक्सा पास नगरी बनाएको छ । ३० वर्षपछि प्राधिकरणको स्वामित्वमा आउने सो जग्गाको भाडा वार्षिक ७८ लाख रुपैंया तोकिएको छ । तर, समयमै निर्माण कार्य सम्पन्न नहुँदा प्राधिकरणले हालसम्म भाडा वापतको रकम प्राप्त गर्न सकेको छैन् । ५० रोपनी १५ आना ३ दाम क्षेत्रमा फैलिएको यो भवन वरपर सवारी पार्किङ, बाहिरिने मार्ग, यात्रु प्रतिक्षालय, चमेनागृह, बनाउने सम्झौता भएपनि नबन्ने पक्का भएको छ ।

यस्तै, सहमति अवधिबाटै वार्षिक भाडा बुझाउने सम्झौता भएपनि ७ वर्षसम्म कम्पनीले भाडा तिरेको छैन ।

सम्झौताको बुदाँ ३ मा सवारी बाहिरिने मार्ग व्यवसायीले निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ । तर, प्राधिकरणले नै अर्को ठेक्काको वन्दोबस्त गरी ३ करोडमा बाहिरिने बाटो निर्माण गराएको छ । हाल पार्किङमा रहेको सवारी मार्गबाट चक्रपथ निक्कने गरेका छन् ।

विमानस्थलमा संरचना निर्माण गर्न कम्पनीले २०६७ भदौ १७ गते सहमति लिएको थियो । सहमतिमा २१ महिनामै निर्माण कार्य सम्पन्न उल्लेख गरेतापनि कम्पनीले हालसम्म निर्माण कार्य सम्पन्न गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.