सेयर बजारमा प्यानको त्रास हट्यो, लागू भएको दोश्रो दिनमै उच्च कारोबार

  २०७६ वैशाख ३ गते १५:३०     विकासन्युज

काठमाडौं । सेयर बजारमा स्थायी लेखा नम्बर (प्यान) लागू भएको दोश्रो दिन उच्च रकमको कारोबार भएको छ । मंगलबारको बजारमा कूल ७४ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसले प्यान सम्बन्धी लगानीकर्तामा देखिएको डर/त्रास घटेको छ ।

सोमबारको तुलनामा मंगलबार मात्रै ४३ करोड ८२ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सोमबार जम्मा ३० करोड रुपैयाँ कारोबार भएको थियो ।

कारोबारको साथ साथै नेप्से परिसूचकमा पनि उच्च वृद्धि देखिएको छ । परिसूचक २३.३३ अंकले बढेर १२१२.०५ अंकमा पुगेको छ । जुन सोमबारको तुलनामा १.९६ प्रतिशत बढी हो ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले मंगलबारकाे सेयर बजारमा उल्लेख्य वृद्धि हुनुले लगानीकर्तामा प्यानप्रति जति डर जति थियो त्यो अब हट्ने बताएका छन् । साथै, बजारमा तरलताको समस्या कम हुँदै गएको र बैंक ब्याजदर घटिरहेकोले सेयर बजार बढेको उनले जनाए ।

त्यस्तै, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको कमाइ र कम्पनीहरुको प्रतिसेयर आम्दानी बढ्दै गएकाले नेप्सेमा थप सुधार हुने अध्यक्ष रौनियारले बताए ।

त्यसैगरी, मंगलबार कारोबारमा आएका सबै समूहहरु हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ८० अंकले उकालो लागेको छ । त्यस्तै, जलविद्युत्, उत्पादनमूलक र अन्य समूह सामान्य अंकले उकालो लागेका छन् भने बाँकी समूह दोहोरो अंकले बढेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.