प्राइम-ओम मर्जर: राष्ट्र बैंकलाई तीनओटा पत्र, ओम मर्जरमा जानै नसक्ने, प्राइम जानैपर्ने

  २०७६ वैशाख ३ गते १३:३७     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंक र ओम डेभलपमेन्ट बैंकबीचको मर्जर प्रक्रिया रोकिएको छ । ओम डेभलपमेन्ट बैंक मर्जर प्रक्रियाप्रति अनिच्छुक देखिएसँगै प्रक्रिया अघि बढ्न नसकेको हो । मर्जर प्रक्रिया अघि बढाउने तथा डिमर्जमा जाने सम्बन्धमा प्राइम र ओमका तर्फबाट ३ ओटा पत्र राष्ट्र बैंकमा पुगिसकेको छ ।

नेपाल राष्ट्र बैंकमा पठाइएको पत्रमध्ये ओम डेभलपमेन्ट बैंकका तर्फबाट डिमर्जमा जाने आशयसहितको पत्र, प्राइमका तर्फबाट मर्जर प्रक्रियामा सहजीकरण गरिदिने आशयसहितको पत्र रहेको बताइएको छ । एउटा पत्र संयुक्त मर्जर कमिटीको तर्फबाट पठाइएको भए पनि उक्त पत्रमा समेत दुई पक्षको फरक फरक मत रहेको बताइएको छ ।

राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले मर्जर कमिटीको पत्रले बैंकहरु मर्जरमा जान चाहेको हो कि होइन स्पष्ट पार्न नसक्ने गरी पत्र प्राप्त भएकोे बताउँदै मर्जरका लागि निर्णय गर्ने समय बैशाख १३गतेसम्म रहेको र त्यसपछि आवश्यक सोधपुछ गर्ने बताए । ‘मर्जरको निर्णयका लागि १३ गतेसम्म समय छ, यो समय सकिएपछि हामी प्रश्न गर्छौ, डिमर्जमा जाने भए पनि त्यसको छुट्टै प्रक्रिया छ, सोही प्रक्रियाअनुसार अघि बढ्छ’ पौडलले विकासन्यूजसँग भने ।

उता, ओमले राष्ट्र बैंकलाई बुझाएको पत्रमा भने प्राइम बैंकले मर्जरपछिकाे सञ्चालक समितिमा आफ्नो प्रतिनिधित्व गराउन नमानेको, आफ्ना कर्मचारीहरुलाई मर्जरपछिको व्यवस्थापनमा उचित प्रतिनिधित्व नदिएको तथा प्राइम बैंकभित्र विभिन्न व्यवस्थापकीय समस्या देखिएकोले आफूहरु डिमर्जमा जान लागेको उल्लेख गरेको बताइएकाे छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीका अनुसार ओमले त्यस्ताे व्यहाेराकाे पत्र पठाउँदा प्राइम बैंकले भने आफूहरुले मर्जर चाहेको र ओम भने प्रक्रियाबाट पछि हट्न लागेको भन्दै मर्जरमा सहजीकरण गर्न राष्ट्र बैंकलाई अर्को पत्र लेखेकाे छ ।

ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमाेहन अधिकारीले आफू मर्जर प्रक्रियामा सहभागी नभएको बताउँदै संयुक्त मर्जर कमिटीले राष्ट्र बैंकलाई पत्र पठाएको आफूले थाहा पाएको बताए । तर, पत्रमा के व्यहोरा छ भन्ने आफूलाई थाहा नभएको उनले दाबी गरे ।

तोकिएको चुक्ता पुँजी पुगिसकेका दुवै बैंकहरु यसअघि स्वेच्छिक रुपमा मर्जरको तयारीमा जुटे पनि ओमभित्र मर्जरमा जानै नहुने मत बलियो भएपछि मर्जर प्रक्रिया रद्द गर्ने निष्कर्षमा ओम डेभलपमेन्ट बैंक पुगेको बताइएको छ । ‘प्रक्रिया रोकिएको छ, राष्ट्र बैंकले एक्सन लिए केही हुन सक्छ, तर ओमले नचाहँदा नचाहँदै केही हुन सक्दैन, त्यसैले प्रक्रिया अघि बढ्ने सम्भावना कमजोर छ’– प्राइम बैंक स्रोतले भन्यो ।

प्राइम कमर्शियल बैंक लिमिटेडका सञ्चालक गजेन्द्र विष्टले पनि ओमसँगको मर्जर प्रक्रिया दुइ महिनादेखि नै अवरूद्ध भएकाे बताए । ‘माघ अन्तिम सातादेखि प्रक्रिया अघि बढेकाे छैन’ विष्टले भने-‘एउटा गाेरू बसेपछि अर्काे गाेरूबाट जाेत्न सकिदैन । राेपाइ राेकिएकाे छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.