नेपाली स्याटेलाइट बिहीबार अमेरिकाबाट उड्दै

  २०७६ वैशाख ३ गते ९:०८     विकासन्युज

काठमाडौँ । नेपालको पहिलो भू-उपग्रह ‘नेपाली स्याट-१’ बिहीबार अमेरिकाबाट ‘लन्च’ हुने भएको छ । नास्टका प्रविधि विभाग प्रमुख रवीन्द्र ढकालका अनुसार नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेटमा लन्च हुन लागेको हो ।

नेपालसँगै श्रीलंकाको रावना-१ र जापानको उगिसु भू-उपग्रह पनि प्रक्षेपण गर्ने तालिका छ । अमेरिकाको भर्जिनिया राज्यस्थित नासाको ‘मिड-एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’ बाट स्याटेलाइट प्रक्षेपण हुनेछ । भू–उपग्रहलाई अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस) मा लगिनेछ ।

यसका लागि सिग्नोस कार्गो अन्तरिक्ष यानले आईएसएससम्म पुर्‍याउने काम गर्नेछ । उपग्रह अन्तरिक्षमा पुगेपछि एक महिनासम्म आईएसएसमै रहने छ । स्पेस स्टेसनमा रहेका अन्तरिक्षयात्रीले पुनः स्याटेलाइट परीक्षण गर्नेछन् । मे तेस्रो सातामा स्पेस स्टेसनबाट भू–उपग्रहलाई पृथ्वीको कक्षमा छाडिने कार्यतालिका रहेको नास्टले जनाएको छ ।

अमेरिकी अन्तरिक्ष संस्था नासाले लन्चको प्रत्यक्ष प्रसारण गर्नेछ । अमेरिकी समयअनुसार बुधबार अपराह्न ४ बजेर ४६ मिनेटमा लन्च हुनेछ । फागुन ३ गते जापानस्थित क्युसु इन्स्टिच्युट आफ टेक्नोलोजी (क्यूटेक) विश्वविद्यालयमा पत्रकार सम्मेलन गरी भू-उपग्रह निर्माण सम्पन्न भएको जानकारी दिइएको थियो । ‘बर्डस्’ कार्यक्रमअन्तर्गत नेपाल सरकारका तर्फबाट नास्टले भू-उपग्रह निर्माणका लागि जापानको क्यूटेक विश्वविद्यालयसँग सहकार्य गरेको थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.