अब सार्वजनिक यातायातमा स्मार्ट कार्ड

  २०७६ वैशाख ३ गते ८:५६     विकासन्युज

काठमाडौँ । उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा स्मार्ट यात्रु कार्डमार्फत भाडा तिर्ने व्यवस्था गरिने भएको छ । काठमाडौं महानगरपालिकाले ऐन बनाएरै सार्वजनिक सवारीमा टिकट प्रणाली अनिवार्य गरेको छ ।

२४ चैतमा महानगरले पारित गरेको सवारी तथा यातायात व्यवस्थापन ऐनमा महानगर क्षेत्रभित्र सञ्चालन हुने सबै सार्वजनिक सवारीमा कागजी र विद्युतीय यात्रु टिकट अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था छ । तर, ऐनले विद्युतीय टिकट लागू गर्न जोड दिएको छ ।

‘सार्वजनिक यातायात सञ्चालनमा कागजी र विद्युतीय गरी दुई प्रकारका यात्रु टिकट प्रयोग गर्न सकिनेछ,’ ऐनको दफा ३ मा भनिएको छ, ‘कागजी टिकटको प्रयोगलाई क्रमशः विद्युतीय टिकटले विस्थापित गर्नुपर्नेछ ।’ ऐन पारित भएको १६औँ दिनमा मेयरले प्रमाणीकरण गरेपछि लागू हुन्छ ।

पहिलो चरणमा महानगर क्षेत्रभित्र सञ्चालन हुने ठूला बसमा स्मार्ट यात्रु कार्डको व्यवस्था गर्न लागिएको महानगरका सूचना अधिकारी वसन्त आचार्यले बताए । ‘विद्युतीय टिकट ९स्मार्ट कार्ड०ले कागजी टिकटलाई विस्थापित गराउने हाम्रो योजना छ,’ उनले भने, ‘पहिले ठूला बसबाट यसको सुरुवात हुन्छ ।’

अधिकांश सार्वजनिक यातायातमा टिकट प्रणाली प्रयोगमा छैन । यसले यात्रु र सवारी सञ्चालक दुवैलाई समस्या भइरहेको भन्दै महानगरले स्मार्ट कार्डको प्रयोगको तयारी गरेको हो । ‘स्मार्ट कार्डमार्फत भाडा तिर्दा यात्रु र सञ्चालक दुवैलाई फाइदा हुन्छ,’ आचार्यले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.