नाफामा विवेधकारी नियन्त्रण

  २०७५ चैत ३० गते ७:२५     रामकृष्ण पौडेल

२० प्रतिशतभन्दा बढी नाफा लिएर व्यापार गरे गैरकानुनी हुने कानुन अहिलेसम्म जीउँदैछ । मुख्य चाढबाढको बेलामा त्यहि कानुनलाई जप्दै कर्मचारीतन्त्र मुख्य बजारमा निस्कन्छन् । दुई वर्षअघि वाणिज्य मन्त्री शिवकुमार मण्डलले यहि कानुन देखाएर दरबार मार्गका केही पसल बन्द गराए । मन्त्री मण्डलले केही व्यापारीलाई बोका बनाएर बलिदिने दुस्प्रयास नै गरे ।

गत वर्ष एनसेलले नाफाबाट १८००० प्रतिशत लाभांश लग्यो । त्यसमा उद्योग विभाग, दुरसञ्चार प्राधिकरण, नेपाल राष्ट्र बैंक लगायत सबै सरकारी निकायले स्वीकृति दिए । यूनिलिभर नेपालले एक वर्षको नाफाबाट १२०० प्रतिशत लाभाश लैजादा नेपालको कानुनले छुट दिएकै छ । सूर्य नेपालको लगानीकर्ताले ४०० प्रतिशतभन्दा माथिको लाभांश लिईरहेका नै छन् । ९५ प्रतिशत सरकारी सेयर भएको दुरसंचार प्राधिकरणले ५५ प्रतिशत लाभांश वितरण गर्दै आएको छ । सरकारले खल्तीमा हालिरहेको छ, त्यसलाई कानुनले रोक्दैन ।

यहि देश हो, दरवार मार्गको व्यापारीले २० प्रतिशतभन्दा बढी नाफा लिन पाउँदैन । सहकारीका सेयरधनीले १५ प्रतिशतभन्दा बढी लाभांश लिन पाउँदैनन् । तर गरिवलाई सेवा दिने भनेर अप्रत्यक्ष रुपमा सरकारी अनुदानको पैसा चलाउने लघुवित्तहरुले सेयरधनीलाई २०० प्रतिशत लाभांश बाढ्छन् । कानुनले रोक्दैन, छेक्दैन ।

यी त केही प्रतिनिधिमुलक उदाहरण मात्र हुन् । भन्न खोजेको कुरा के हो भने नेपालमा नाफालाई हेर्ने दृष्टिकोष नै स्पष्ट छैन । सरकारी नीति र विधि नै विवादस्पद छन् । स्पष्ट रूपमा नाफामा पनि विभेदकारी नियन्त्रण छ । जुन देशमा सरकारले नाफामा  नियन्त्रणकाे प्रयास गर्छ, त्याे देशमा नाफा गर्ने व्यवसायीहरू डराएर बाँच्नुपर्छ, त्याे देश कसरी धनी बन्छ ।

नेपालकाे परम्परागत सोचमा नाफा आर्जन गर्नुलाई नराम्रो मानिन्छ । व्यापार गर्नेहरुले ठगेका हुन्छन्, उनीहरुले पाप गरेका हुन्छन्, उनीहरु मरेपछि नर्कमा पुग्छन् भन्ने धार्मिक चिन्तन यो समाजमा अझै मेटिएका छैनन् । नीति निर्मातामा अझै याे संस्कार छ । राजनीति गर्ने, प्रशासनिक तहमा काम गर्नेहरूमा अझै भ्रम के छ भने ‘ देश बनाउने जिम्मेवारी हाम्राे मात्र हाे।’

‘नागरिक समाजमा अलिकति फाइदा हुने कुरा गर्यो भने कस्तो व्यापारीको जस्तो सोच भनेर होच्याइन्छ’ पूर्वमन्त्री सुरेन्द्र पाण्डेले एक सार्वजनिक कार्यक्रममा भने–‘प्रशासनिक तहमा आज पनि उद्यमी व्यवसायीलाई नाफा खोर भन्छि, हेपेर व्यवहार गरिन्छ ।’ योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरलेले भन्छन्–प्रधानमन्त्री, मन्त्री, नेताहरुको नाम गाउँगाउँमा सबैले चिन्छन् । तर, सबैभन्दा बढी कर तिर्नेको नाम कसैले सुनेको हुँदैन । करदाताको सम्मान र पहिचान भएन ।

विगतमा नेपाली समाजमा राम्रो आम्दानी गर्ने, सुविधा सम्पन्न जीवनशैली अपनाउनेलाई राम्रो नजरले हेरिदैन थियो । नेपाल उद्योग परिसंघले आयोगजना गरेको उद्यमशिलता सम्मबन्धि एक कार्यक्रममा पूर्वमन्त्री तथा सांसद गगन थापाले भनेका थिए–‘जुन दिनसम्म नेपाली समाजमा मुनाफा कमाउनु अपराध हो, पाप हो भन्ने मान्यता रहिरहन्छ तबसम्म देश बन्दैन् ।’ पूर्वमन्त्री महेश बस्नेतको भनाई पनि यस्तै छ । भन्छन्–‘म उद्योग मन्त्री हुँदा स्कुल खोल्न, खेल मैदान बनाउन, बाटो माग्न, पुल माग्न धेरै मान्छे आए । तर उद्योग खोल्छु भनेर मान्छे आउँदैनन् । किनकी यहाँ उद्योग व्यवसाय गर्नेलाई इज्जत दिईएन ।’

जबसम्म ‘बढी नाफाले बढी खुशी दिन्छ भन्ने सोचाई, बढी नाफा, बढी खुशीलाइ प्राेत्साहित गर्ने नीति सरकारले लिँदैन तबसम्म विकासले गति नलिने बताँछन युवा उद्यमी भरतराज आर्याय भन्छन्–‘बढी नाफामा उत्सव मनाउने संस्कार नेपाली समाजमा हुर्कदै गएको छ ।’

पछिल्लाे समय नेपाली समाजको संस्कार बदलिदै गएको छ । उच्चस्तरको आम्दानी, अतिरिक्त सुविधा सम्पन्न घर, अत्याधुनिक सुविधा सुरक्षाका सुविधा भएको गाडी, सामाकिज हितकारी काममा खर्च गर्न सक्ने व्यक्तिलाई समाजले उच्च सम्मान दिन्छ । ‘जसले समाजको आवश्यकता पूर्ति गर्ने बस्तु तथा सेवा उत्पादन गरेको छ, मानिसहरुलाई रोजगारी दिएको छ, सरकारलाई राजश्व तिरेको छ र आफूले पनि नाफा आर्जन गरेको छ ती व्यक्तिलाई समाजमा सम्मानजनक रुपमा हेरिन्छ’ उद्यमी चन्द्रप्रसाद ढकालले भने । राजनीति गर्नेले मन्त्री हुँदा गर्व गरेजस्तै व्यवसाय गर्नेले पैसा कमाएकोमा, धनी भएकोमा गर्व गर्नुपर्ने र नाफाको केही हिस्सा परोपकारी काममा गर्न गर्नु पर्ने नेपाल मेडिसिटी अस्पतालका प्रबन्ध निर्देशक उपेन्द्र महत्तो बताउँछन् ।

उद्यमशिलताप्रति बढ्दो आकर्षण

‘बाँदरको अगाडि केरा र पैसा फालिदियो भने बाँदरले केरा टिप्छ, पैसा टिप्दैन । बाँदरलाई यो थाहा हुँदैन कि त्यो पैसाले धेरै केरा किन्न सकिन्छ । मलाई लाग्छ जागिर खानु केरा टिप्नु जस्तै हो भने उद्यम गर्नु पैसा टिप्नु हो’ चीनका सबैभन्दा धनी व्यक्ति ज्याक्माको भनाई हो ।
कम्पनी रजिष्ट्रार कार्यालयमा दैनिक सरदर ३० वटा कम्पनी दर्ता हुने गरेका रहेछन् । यसले नेपालमा नयाँ कम्पनीहरु खुल्ने क्रम बढेको, उद्यमशिलताको जन्म र विकास बढ्दो क्रममा रहेको देखाउँछ । तर कम्पनीको संख्या वृद्धि जसरी भएको छ तिनको व्यवसायिक विस्तार त्यति राम्रो छैन ।

व्यवसाय गर्नको लागि पूँजी चाहिन्छ । तर विश्व बैंकको एक रिपोर्टअनुसार १०० रुपैयाँ कर्जा लिन ३६४ प्रतिशत सम्पत्ति धितो राख्नुपर्छ । जसोतसो पूँजी जुटाएर अगाडि बढ्न खोज्यो भने उसलाई सरकारी निकायले प्रोत्साहन गर्दैन, निरुत्साहित पार्छ । पुलिस वा सेनामा ५ हजार दरबन्दी थप्न वा नयाँ नियुक्ती गर्न सरकार सहज बन्छ, तर एउटा उद्योग खोल्न र त्यसबाट रोजगारी सिर्जना गराउन सरकारले सहयोग गरिरहेको हुँदैन । उद्योग दर्ता गर्न जाँदा कर्मचारीले, सरकारका मान्छेले कि सित्तैमा सेयर माग्छन् कि सोझै पैसा माग्छन् ।

एक अध्ययनका अनुसार ४५.३ प्रतिशत युवासँग नयाँ आइडीया छ तर पैसा छैन । वित्तीय पहुँच साह्रै कम छ । बैंकहरुले धितोबिना ऋण दिन गाह्रो मान्छन् । प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल लगायतका वित्तीय औजारको प्रयोग कम भएकोले पनि उद्यमशीलता प्रवद्र्धनमा पूँजीको अभाव देखिन्छ ।

कोरियामा औद्योगिक विकास गर्ने समयमा त्यहाँका बैंकले निक्षेपकर्तालाई १२ प्रतिशत व्याज दिएको थियो । तर सरकारी अनुदानमा बैंकले उद्यमीलाई ६ प्रतिशत व्याजमा कर्जा प्रवाह गरिएको थियो । नेपालमा अहिले निक्षेपको व्याज ९ प्रतिशत छ भने कर्जाको व्याज १५ प्रतिशतभन्दा माथि छ । कर्जाको व्याज उच्च हुँदा लगानीकर्तालाई पोसाउँदैन । कोरियामा जस्तै नेपालमा पनि सरकारले व्याज अनुदानको व्यवस्था गर्न जरुरी छ ।

समस्या नै आविस्कारको जननी हो । नेपालमा अलि बढी समस्या छन् र यहाँ नै धेरै अवसर पनि छन् । अमेरिका र युरोपमा लगानीकर्ताहरुले समस्या, अप्ठ्यारा, चूनौती हुन्छन् । ‘जति जोखिम लिन सकियो त्यति नै नाफा बढी लिन सकिन्छ । व्यवसाय गर्दा जोखिम लिनुपर्छ । कसरी जोखिम लिने, कसरी व्यवसाय गर्ने र कसरी बढी पैसा कमाउने भनेर विद्यार्थीहरुलाई नै सिकाउनुपर्छ’श्री एयरलाईन्स प्रालिका प्रबन्ध निर्देशक सुधीर मित्तल भन्छन्–‘जोखिम उठाउने हिम्मत नगरेसम्म सफलता आउँदैन र उद्यमशीलता पनि फस्टाउँदैन ।’

उद्यमी हरिभक्त शर्माले बारम्बार भन्ने गरेको भनाई लगानीकर्ताको लागि निकै मूल्यवान छन् । जग्गाको व्यापार गरेर आर्जेको नाफा दिगो पनि हुँदैन । त्यसले अर्थतन्त्रमा कुनै योगदान पनि गर्दैन । उद्यमी चन्द्रप्रसाद ढकालले भने जस्तै जुन व्यवसाय गर्दा समाजको आवश्यकता पनि पूर्ति गर्न मद्दत गर्छ, रोजगारी सिर्जना हुन्छ, सरकारले कर पाउँछ र लगानीकर्ताले नाफा पाउँछ त्यस्तो व्यवसाय गर्ने/गराउने वातावरण निर्माण गरिनुपर्छ । त्यस्तो नाफाले पाप होइन, खुशी ल्याउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.