९० अर्बका पाँच खानेपानी आयोजनामा लगानी गर्दै चाईना मेशिनरी, ६० लाख नेपालीलाई स्वच्छ खानेपानी

  २०७५ चैत २९ गते १३:१७     विकासन्युज

काठमाडौं । चाईना मेशिनरी ईन्जिनियरिङ कर्पोरेशनले ९० अर्ब लगानीमा पाँच वटा ठुला खानेपानी आयोजना बनाईदिने भएको छ । कर्पाेरेशनले प्रधानमन्त्री कार्यालयमा प्रस्ताव पेश गर्दै ६० लाख नेपालीलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने पाँच वटा खानेपानी आयोजनामा ९० अर्ब लगानी गर्ने बताएको हो । चाइना एक्जिम बैंकबाट सहुलियत ऋण ल्याएर खानेपानीमा लगानी गर्ने योजनासहित प्रस्ताव बुझाएको खानेपानी मन्त्री बिना मगरले बताईन् । मन्त्रालयले प्राथमिकतामा राखेर अघि बढाएका आयोजनाहरुमा चिनियाँ कम्पनीले लगानी गर्र्ने तदारुकता देखाएको बताइन् ।

खानेपानी मन्त्री बिना मगरले खानेपानीका पाँच आयोजनाहरु नारायणी थोक वितरण, कर्णाली बबई थोक वितरण, भेरी सुर्खेत उपत्यका पम्पिङ, दाङको पातुखोला र भक्तपुरको महादेव खोला खानेपानी आयोजनाको कामलाई अघि बढाउन सचिव र विभागीय प्रमुखहरुलाई निर्देशन दिएको बताइन् ।

मेलम्ची खानेपानी आयोजनाले मात्रै उपत्यकाको खानेपानीको माग पूरा नहुने भन्दै भक्तपुरको महादेव खोला जलाशययुक्त खानेपानी आयोजना पनि सञ्चालन गर्ने तयारी भईरहेको छ । खानेपानी मन्त्रालयका अनुसार यसको सम्भाव्यता अध्ययन पूरा भइसकेको छ । ३ अर्ब अनुमानित लागत रहेको यस आयोजना सञ्चालन भएपछि भक्तपुरका करिब ५ लाख जनसंख्या लाभान्वित हुनेछन् ।

कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, नवलपुर पूर्व, चितवन, बारा, पर्साका करिब ४० लाख जनसंख्या लाभान्वित हुने गरी नारायणी नदी थोक वितरण खानेपानी आयोजना निर्माण गर्ने तयारी हुँदैछ । खानेपानी तथा ढल व्यवस्थापन विभागको प्रारम्भिक अध्ययनअनुसार यस आयोजनाको लागत ६० अर्ब लाग्ने अनुमान गरिएको छ । यस आयोजनाको पनि सम्भाव्यता अध्ययन पूरा भइसकेको छ ।

त्यसैगरी करिब २ अर्ब लागतमा दाङको पातुखोला जलाशययुक्त खानेपानी आयोजना निर्माण गर्ने सरकारको योजना छ । मन्त्रालयको प्रारम्भिक अनुसन्धानबाट आयोजना सम्पन्न भएपछि दाङ क्षेत्रका करिब १ लाख ५० हजार जनसंख्या लाभान्वित हुनेछन् ।

मन्त्रालयले तेस्रो आयोजनाअन्तर्गत करिब ३ अर्बको लागतमा भेरी–सुर्खेत उपत्यका पम्पिङ खानेपानी आयोजना निर्माण गर्दैछ । यस आयोजनाको डीपीआर तयार भइसकेको छ । आयोजना सञ्चालन भएपछि सुर्खेतका करिब १ लाख ६५ हजार जनसंख्या लाभान्वित हुने बताइएको छ । त्यस्तै बाँके र बर्दियाका करिब १३ लाख जनसंख्या लाभान्वित हुने गरी मन्त्रालयले कर्णाली बबई थोक वितरण खानेपानी आयोजनाको सम्भाव्यता अध्ययन गरिसकेको छ । यो आयोजनाको लागत २१ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

चीनका ठूला कम्पनीहरु मध्ये एक चाईना मेशिनरी ईन्जिनियरिङ कर्पोरेशन (एमइसी)ले नेपालको खानेपानीको क्षेत्रमा पहिलो प्राथमिकता दिएर लगानी जुटाउने प्रस्ताव पेश गरेको छ । कम्पनीले पेश गरेको प्रस्तावमा खानेपानीका यी पाँच ठूला आयोजनाहरुमा चाईना एक्जिम बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी ल्याउने र निर्धारित समयभित्र आयोजना सम्पन्न गर्ने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा दर्ता गरेको छ । सम्भाव्यता अध्ययन भईसकेका पाँच आयोजनाहरुको लागत ९० अर्ब लाग्ने अनुमान गरिएको छ । पाँच वटै खानेपानीका आयोजनाबाट करिब ६० लाख जनसंख्या लाभान्वित हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.