सेवा विस्तारमा एजेन्ट मोडेल नस्वीकार्ने धितोपत्र बोर्डको संकेत, ‘गाउँगाउँमा जनता ठगिए के गर्ने ?’

  २०७५ चैत २९ गते ९:३१     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकरहरुले माग गरे बमोजिम एजेन्ट मोडलमा सेवा विस्तार गर्ने प्रस्ताव अस्वीकार गर्ने संकेत गरेको छ । एजेन्ट मोडेलमा सेवा विस्तार गर्दा गाउँगाउँमा धितोपत्र कारोबार सेवा पुग्ने भए पनि त्यसले विकृति समेत निम्त्याउन सक्ने भन्दै बोर्डले उक्त प्रस्ताव स्वीकार गर्न नसक्ने जनाएको हो ।

धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले सव–ब्राञ्च वा एजेन्ट मोडेलमा जाँदा गाउँगाउँमा रहेका अशिक्षित जनता ठगिन सक्ने आशंका व्यक्त गर्दै त्यस्तो प्रस्ताव स्वीकार गर्नसक्ने अवस्था नभएको बताए । ‘गलत सुचना प्रवाह गरेर महँगोमा शेयर खरिद गर्न वा सस्तोमा शेयर बिक्री गर्न प्रेरित गर्ने काम हुनसक्छ । यस्तो अवस्थामा त्यस्ता एजेन्टहरुको नियमन गर्ने काम गाह्रो हुनसक्छ । त्यसैले हामीले ब्रोकरहरुलाई शाखा विस्तारमै जोड दिएका हौं ।’– प्रवक्ता गिरीले विकासन्यूजसँग भने ।

उनले चिलिमे जलविद्युत् आयोजनाको शेयर बिक्रीका क्रममा जनता ठगिएको उदाहरण दिँदै झनै दोस्रो बजारलाई नै एजेन्ट मोडेलमा गाउँगाउँ पुर्याए जनता कति ठगिएलान भन्दै प्रतिप्रश्न गरे । यो मोडेल स्वीकार गर्न देशभरका जनताहरु धितोपत्र बजारप्रति एक तहसम्म शिक्षित हुनुपर्ने आवश्यकता रहेको समेत बताए । ‘नत्र यसले धितोपत्र बजारमा अराजकता ल्याउँछ ।’

ब्रोकरहरुले भने देशभरका मुुख्य शहरहरुमा शाखा विस्तार गर्ने आफ्नो क्षमता रहे पनि एजेन्ट मोडेलमा जान पाए सबै स्थानीय तहहरुमा तत्कालै सेवाको पहुँच पुर्याउन सक्ने प्रस्ताव गरेको थियो । हाल देशभरका विभिन्न शहरहरुमा ब्रोकरका ४९ ओटा शाखा कार्यालय खुलेका छन् भने केही शहरमा थप शाखा विस्तार हुने तयारीमा रहेको धितोपत्र बोर्डले जनाएको छ ।

अनलाइन कारोबार सुरु भएसँगै अनलाइन पहुँच भएका जुनकुनै स्थानबाट पनि कारोबार गर्न सकिने तथा मुख्य शहरहरुमा ब्रोकरका शाखा कार्यालयहरु खुलेको अवस्थामा ग्रामीण भेगका जनताहरु समेत ब्रोकरमा खाता खोल्न र केवाईसी भर्नको लागि शहरी भेगसम्म पहुँच राख्ने भएकोले त्यति असहज अवस्था नहुने बोर्डको निष्कर्ष छ ।

पुँजी बजारको पहुँच र क्षेत्र विस्तारको चर्को आवाज र बैंकलाई पनि ब्रोकर लाइसेन्स दिनुपर्ने मागबीच ब्रोकरहरु पनि सेवा विस्तार गर्दै लगेका छन् । मुख्य शहरमा सेवा विस्तार भएसँगै मोफसलका शहरहरुबाट हुने शेयर कारोबारको मात्रामा समेत बढोत्तरी हुँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.