महालेखा परिक्षककै क्षमताको परिक्षण गर्ने समय भैसकेको छ- उपाध्याय

  २०७५ चैत २८ गते १६:३४     भीम प्रसाद उपाध्याय

भीम प्रसाद उपाध्याय, पूर्व सचिव

काठमाडौं । प्रोजेक्ट व्यवस्थापन सम्बन्धमा मेरो अनुभवमा महालेखाको प्रतिवेदन मनगढन्ते र प्राविधिक ज्ञानरहित हुने गरेको पाएको छु । जटिल प्रकारको प्रोजेक्ट चलाउने पद्दति र त्यसका जटिलताका कुरा तिनका दिमागको वसको बात हैन । ती पैसा गनेरै , भएको खर्च देखेर, गोश्वारा भाउचर हेरेरै बेरूजु, अनियमितता वा भ्रष्टाचारको बिल्ला लगाउनमा अक्सर सिमीत हुन्छन् । किनभने बिकासमा तिनलाई सिन्को भाच्नु पनि छैन, भॉडमा जाये बिकास, अरूले भॉचेकोमा दोष केलाउदै यो जुनि बिताउनु छ ।

नेपालमा काम गर्ने एक , तर उसको काम चेक गर्ने , निर्देशन दिने गैरजिम्मेवार निकायहरू दर्जनौं छन् । त्यसैले यहॉ जेमा पनि समस्या छ, समस्या देखाउने दर्जनौं निकायको बोलवाला र हल्लामा पत्यार छ । काम गर्नेले बोलेको कुरा बतासले उडाईदिन्छ । बेरूजु भैरहन्छन् काममा, यो कुनै ठूलो कुरा भएन तर त्यसलाई भ्रष्टाचार भयो भन्दै स्याल हुईय्यॉ र होहल्ला मच्चाउनेहरू ईर्ष्या र डाहले मरिरहेका जन्तुहरू मात्र हुन्, पेशाविदबिद्वैषी मात्र हुन् । काममा भएको खर्च, पेश्की, मोबिलाईजेशनलाई पूरै भ्रष्टाचार भन्नेहरूको दिमाग नै भ्रष्ट भएर यस्तो सोच पलाएको हो ।

मिडियामा आएको कुरा कै भरमा त भन्न सकिन्न , कुरा बुझ्न खास रिपोर्टमा के कसरी लेखिएको छ त्यो हेर्नुपर्छ। प्रतिवेदनको लिखत, मनसाय र तिनका पूर्वाग्रही लेखनशैली पढ्दा प्रतिवेदनको रूझान कता छ सहजै बुझ्न सकिन्छ । महालेखाको रिपोर्टहरू प्रोजेक्ट कसरी चल्छ त्यससंग कुनै मतलब नराखी गवॉरहरूले लेख्ने गरेको मेरो अनुभवले भन्छ ।

महालेखा भ्रष्टाचार भयो भन्ने निकाय पनि हैन । त्यो अनियमितता र बेरूजु देखाउने निकाय हो। उसले लेख्दैमा उ ठिक र काम गर्ने बेठिक भन्ने पनि हैन किनभने यसमा उठेका कुरा संसदले नकार्न पनि सक्छ , बेरूजु नभन्न पनि सक्छ । महालेखा अडिटरले अधिकार छ भन्दै कलुषित मनले जे मन लाग्यो त्यो अडिट रिपोर्टमा लेख्ने पनि गरिआएका भेटिन्छन् किनभने उ कसैप्रति जवाफदेही हुन नपर्ने निकाय हो ।

अडिटरको चाहनाको चित्त बुझाए जे पनि सहीसलामत हुने गरेको पाएको छु, मेरो ३५ वर्षे जागिरे अनुभवमा । जगजाहेरै छ , निश्चित दस्तुर नलिई तिनले कलम नै चोप्दैनन् । अनि रिपोर्टको विषय, शैली, रूझान, गाम्भिर्यता र गुणस्तर दस्तुरले निर्धारण गर्ने कुरा घाम जत्तिकै छर्लंग छ । नेपालमा महालेखा , अख्तियार , सामान्य, अर्थ , अदालत ,संसद लेखा समिति यी सबै जसो प्रोजेक्ट संस्कृतिका अनाडी र बिकास संस्कृतिका बिरोधी छन् ।

त्यसैले यो मुलुक आजसम्म उभो लाग्न सकेको छैन र यसरी सक्दैन पनि । गल्ति गर्नेलाई कार्यवाही हुनुपर्छ तर प्रोजेक्ट देख्यो कि कमलपित्ते प्रतिबेदन लेखेर अरूलाई भ्रष्ट देखाउनुमा महारथी छान्ने, ठालू पल्टनेहरू बिकास विरोधी हुन् । भ्रष्ट मनले भ्रष्टाचार देख्ने र लेख्ने हुने गर्छ नै । प्रोजेक्टको छन्द नजान्नेले प्रोजेक्ट म्यानेजमेन्टको प्रवचन र व्याख्यान दिईरहेको कुनै मुलुक विश्वमा छ भने त्यो नेपाल मै हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.