अहिलै भर्ना बन्द गरे स्कुलहरुको दर्ता खारेज हुनसक्ने, सामुदायिक स्कुलले सबैलाई भर्ना लिनुपर्ने

  २०७५ चैत २८ गते १५:००      डोमी शेर्पा

काठमाडौं । बैशाख नलाग्दै भर्ना बन्द गर्ने विद्यालयलाई सरकारले कारबाही गर्ने भएको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागले काठमाडौं महानगर क्षेत्रभित्र रहेका विभागको नियमन क्षेत्रभित्र पर्ने विद्यालयहरुले बैशाख २ गतेदेखि १४ गतेसम्म भर्ना सञ्चालन गर्नुपर्ने भन्दै तोकिएको समयभन्दा अघि भर्ना बन्द गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

काठमाडौं महानगरपालिका शिक्षा विभागकी प्रमुख निर्मला केसीले विद्यालयहरुले समय नै नभई भर्ना कार्यक्रम सञ्चालन गर्न र भर्ना बन्द गर्न नपाउने भन्दै त्यस्तो देखिए कारबाही गर्ने बताएकी हुन् । ‘विभागले बैशाख २ गतेदेखि १४ गतेसम्म भर्ना अवधि तोकेको छ । विद्यार्थीहरुको भर्ना सोही समयभित्र गर्नुपर्छ । त्यसभन्दा अघि कुनैपनि क्रियाकलापलाई विभागले मान्यता दिँदैन । त्यस्तो भेटिए कारबाही हुन्छ । त्यस्तो कारबाही २५ हजार रुपैंया जरिवानादेखि विद्यालयको दर्ता खारेजीसम्म हुनसक्छ ।’– प्रमुख केसीले भनिन् ।

उपत्यकामा सञ्चालित विद्यालयहरुले चैत नसकिँदै विद्यालयको सीमित सिटका लागि भर्ना खुला गर्दै धमाधम प्रवेश परीक्षा लिइरहेका छन् । निजी विद्यालयहरुले मात्रै नभई सामुदायिक विद्यालयहरुले समेत सोही सीमित सिट भन्दै भर्ना खुलाइरहेका छन् ।

शिक्षा विभागले भने सामुदायिक विद्यालयहरुले विद्यालयमा भर्ना हुन आउने जोकोही विद्यार्थीलाई भर्ना लिनैपर्ने भन्दै सरकारको शतप्रतिशत युवा साक्षरता पुर्याउने र सम्पूर्ण बालबालिकालाई विद्यालयको पठाउने अभियानमा सघाउन आह्वान समेत गरेको छ । सरकारले बैशाख २ गतेदेखि राष्ट्रिय रुपमै बालबालिका भर्ना अभियान सुरु गर्दैछ । यस बर्षको भर्ना अभियानको नारा “हाम्रो नगर, हाम्रो गाउँ सबै बालबालिकालाई विद्यालय पुर्याउँ” रहेको छ।

महानगरको नियमनभित्र ६४५ संस्थागत र ९१ ओटा सामुदायिक विद्यालय छन्, जसमा २ लाख भन्दा बढी विद्यार्थी अध्ययन गर्दै आएको बताइएको छ । ती सबै विद्यालयहरुमा भर्ना अभियान सुरु भएसँगै अनुगमन पनि सुरु हुने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.