काठमाडौंका एकतर्फी सडक दुईतर्फी बनाइँदै

  २०७५ चैत २८ गते ८:२३     विकासन्युज

काठमाडौं । बढ्दो सवारी चापका कारण राजधानीका अधिकांश स्थानमा लामो समय ट्राफिक जाम पर्छ । ‘पिक आवर’ (बिहान ९–११ र साँझ ४–६ बजे) जाम हुने मुख्य स्थानमा कति सवारी गुड्छन् भन्ने तथ्यांक थिएन । काठमाडौं महानगरपालिका सहरी योजना आयोगले अहिले ‘पिक आवर’मा गुड्ने सवारी संख्या पत्ता लगाएको छ ।

यातायात क्षेत्रका विज्ञसहितको टोलीले महानगरका कोटेश्वर, थापाथली र टुँडिखेलआसपासको सडकमा सवारी चापको तथ्यांक संकलन गरेको छ । आयोगको प्रतिवेदनअनुसार उपत्यकामा चारपांग्रे सवारीको तुलनामा तेब्बरभन्दा बढी दुईपांग्रे सवारी गुड्ने गरेका छन् ।

विज्ञसहितको टोलीले पिक आवरमा चाप बढी हुने क्षेत्रमा गएर सूक्ष्म अध्ययन गरेको काठमाडौं महानगरपालिका सहरी योजना आयोगका अधिकृत सुशील सुवेदीले बताए । ‘बिहान ९ देखि ११ र साँझ ४ बजे देखि ६ बजेम्म सवारी चाप धेरै हुने रहेछ,’ उनले भने, ‘त्यही समयमा टोलीले उपयुक्त विधि प्रयोग गरेर सवारी संख्या गिन्ती गरेको हो ।’

टोलीले रत्नपार्कबाट देब्रे र दाहिने मोडिने सवारीको अध्ययन गरेको थियो । देब्रे मोडिनेले जाम नबढाउने, तर दाहिने मोडिनेले जाम बढाएको निष्कर्ष आयोगले निकालेको छ । ट्राफिक प्रहरीसँग छलफल गरेर आसपासमा जथाभावी दाहिने मोड्न नदिने व्यवस्था गर्ने तयारी आयोगको छ । ‘पिक आवरमा एउटा मोटरसाइकल दाहिने मोडिँदा लाग्ने ३० सेकेन्डका कारण तीन सय गाडी रोकिने रहेछन्,’ सुवेदीले भने, ‘त्यसैले अफिस टाइममा जथाभावी दायाँ मोड्न निषेध गर्न ट्राफिक प्रहरीसँग छलफल गर्छौँ ।’

जेब्राक्रसमा मानिसले बाटो काट्दासमेत जाम बढ्ने गरेकाले अर्को चरणमा मानिसले बाटो काट्दा कति जाम बढ्छ भनेर अध्ययन गर्ने उनले बताए । अध्ययनपछि महानगरले फुटपाथ व्यवस्थापन र केही वानवे रोडलाई टुवे बनाउने तयारी थालेको छ । त्यस्तै दाहिने मोड्न नदिने, ट्राफिक आइल्यान्ड थपेर निगरानी बढाउनेलगायत विषयमा सरोकारवाला निकायसँग छलफल र समन्वयको तयारी पनि महानगरले गरेको छ । रत्नपार्क–न्युरोडसहित विभिन्न स्थानमा मोटरसाइकल चल्न दिने कि नदिने, सार्वजनिक सवारीलाई कसरी बढावा दिने भन्ने विषयमा उसले छलफल गर्दैछ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.