कम्पनी रजिष्ट्रारमा चार महिनादेखि अनलाइन कारोबार, तर सेवाग्राहीको छैन आकर्षण

  २०७५ चैत २७ गते ९:३०     राजाराम न्यौपाने

काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयमा सेवाग्राहीको सुविधाका लागि अनलाइन कारोबार शुरु भएको ४ महिना भएको छ । तर, अनलाइन कारोबारमा सेवाग्राहीको आकर्षण देखिएको छैन । यो अवधिमा कम्पनी रजिष्ट्रार कार्यालयले अनलाइन पेमेन्ट कारोबार शुरु गरेपछि हालसम्म ५७ लाख २५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

मंसिर २५ बाट कम्पनी रजिष्ट्रार कार्यालयले अनलाइन पेमेन्ट कारोबार शुरु गरेको थियो । ४ महिनाको अवधिमा २ करोड २५ लाख ९५ हजार ५३१ रुपैयाँ राजश्व संकलन भएकोमा ५७ लाख २५ हजार मात्रै अनलाइनमार्फत संकलन भएको हो ।

२०७५ मंसिर २५ गते देखी चैत १७ गतेसम्म कम्पनी रजिष्ट्रार कार्यालयमा १३ हजार ९९५ वटा कम्पनीले राजश्व बुझाएकोमा अनलाइनमार्फत ३५९ वटा कम्पनीले मात्रै भुक्तानी गरेका छन् । दुई वर्षदेखि कम्पनी दर्ताका लागि अनलाइन मार्फत् आवेदन गर्ने व्यवस्था गर्दै आएको कम्पनी रजिष्ट्रारको कार्यालयले अनलाइनमार्फत ४ महिना अघि मात्र भुक्तानी सेवा समेत शुरु गरेको थिथो ।

सेवाग्राहीहरुले कार्यालयमा तिनुपर्ने सबै प्रकारका शुल्क तथा जरिवाना अनलाइन पेमेन्टमार्फत् तिर्ने व्यवस्था मिलाएको हो । कम्पनी रजिष्ट्रार कार्यालयका लेखा अधिकृत अजय बर्तौलाले कानून व्यवसायीहरु मार्फत आएका कामहरुमा उनीहरुले अनलाइनमार्फत भुक्तानी नगरेका कारणले पनि अनलाइनमार्फत भुक्तानीमा कमि देखिएको बताए ।

उनले भने-कम्पनीका सञ्चालक आउँदा मात्रै अनलाइनमार्फत भुक्तानी गर्छन् । कम्पनीका सञ्चालक थौरै मात्र आउने र सबैलाई अनलाइनमार्फत भुक्तानी गर्न सकिन्छ भनेर पनि थाहा नभएको उनले बताए । सरकारले डिजिटल नेपाल निर्माणको कार्य अघि बढाइरहँदा कम्पनी रजिष्ट्रार कार्यालयमा अनलाइनमार्फत भुक्तानी गर्नेहरुको संख्या भने निकै कमि देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.