आशलाग्दा दुई जलविद्युतकाे आईपीओ बैशाख ६ गतेदेखि; सस्तो लागत, तत्कालै सूचीकरण

  २०७५ चैत २६ गते ७:३०     विकासन्युज

काठमाडौं । राम्रो प्रतिफल र शेयरमूल्यको आशा गरिएका दुई जलविद्युत् कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बैशाख ६ गतेदेखि खुला हुने भएको छ । केही दिनअघि मात्रै जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत समेटिएको साञ्जेन जलविद्युत् कम्पनी र रसुवागढी जलविद्युत् कम्पनीको आईपीओ खुल्न लागेको हो ।

सान्जेन जलविद्युत्को ४९ लाख ८२ हजार २५० कित्ता तथा रसुवागढीको ९३ लाख ३९ हजार ४६७ कित्ता समेत गरी १ करोड ४३ लाख २१ हजार ७१७ कित्ता शेयर निष्कासनका लागि मंगलबार आह्वानपत्र प्रकाशन गरिएको छ । उल्लेखित दुवै कम्पनीमा चिलिमे जलविद्युत् कम्पनी र नेपाल विद्युत् प्राधिकरणको बहुसंख्यक लगानी छ ।

हाल रसुवागढीले १११ मेगावाट क्षमताको रसुवागढी क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यसको अनुमानित लागत १४ करोड ५७ लाख रुपैंया प्रतिमेगावाट छ भने यसले आगामी फागुनदेखि व्यवसायिक विद्युत् उत्पादन गर्ने जनाइएको छ ।

त्यस्तै, सान्जेन जलविद्युत् कम्पनीले १४.८ मेगावाट क्षमताको सान्जेन माथिल्लो र ४२.५ मेगावाट क्षमताकाको साञ्जेन जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यी आयोगनाहरु आगामी पुस मध्यसम्म सञ्चालनमा आउने प्रक्षेपण गरिएको छ ।

यी आयोजनाहरुसँग नेपाल विद्युत् प्राधिकरणले गरेको विद्युत् खरिद सम्झौता अनुसार उनीहरुले न्यूनतम ४.८० रुपैंयादेखि १०.६४ रुपैंया प्रतियुनिट रमक प्राप्त गर्नेछन् । सुरुको अवस्थामा भने वर्षायाममा प्रतिमेगावाट ४.८० रुपैंया र हिउँदमा ८.४० रुपैंया पीपीए दर तोकिएको छ ।

उक्त आयोजनाहरुका लागि न्यूनतम प्रतिकित्ता ५० कित्ता र अधिकतम ५००० कित्ता शेयरका लागि आवेदन दिन सकिन्छ । जनताको जलविद्युत् आयोजना अन्तर्गत समेटिए पनि यी कम्पनीहरुको भौतिक प्रगति ५० प्रतिशत नाघिसकेको कारणले यसको भने प्रतिकित्ता १०० रुपैंयाका दरले नै भुक्तानी गर्नुपर्ने छ । आयोजनाको छिटोमा माघ १० गते र ढिलोमा जेठ ५ गते बन्द हुनेछ ।

सान्जेन जलविद्युत्को धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सह निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल र एनएमबि क्यापिटललाई तोकिएको छ । त्यस्तै, रसुवागढीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल तथा सह निष्कासन तथा विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सनराइज क्यापिटल छन् ।

सस्तो लागत, तत्कालै सूचीकरण

यी कम्पनीहरुको शेयरकोे विशेषता भनेकै अन्य आयोजनाहरु भन्दा सस्तो र जनताको जलविद्युत् आयोजना अन्तर्गतकै अरु कम्पनीहरुको भन्दा छिटो सूचीकरण हुने हो ।

हालसालै जारी भएका जलविद्युत् आयोजनाहरुमध्ये सबैभन्दा सस्तो र राम्रो आयोजनामध्यकै सस्तो आयोजनाको रुपमा यी दुई कम्पनीहरुलाई लिइन्छ । द्रुत गतिमा काम भइरहेको र समयमै आयोजना निर्माण हुने अपेक्षा गरिएका कारण यी दुवै आयोजनाहरुको लागत प्रतिमेगावाट १५ करोड भन्दा कम नै पर्ने अपेक्षा गरिएको छ ।

जबकी ९८ प्रतिशत भौतिक प्रगति सकिएको माथिल्लो तामाकोशी आयोजनाको लागत प्रतिमेगावाट १५ करोड माथि पुग्ने निश्चित भइसकेको छ । निजी क्षेत्रका आयोजनाहरुको प्रतिमेगावाट लागत तुलनात्मक रुपमा यी आयोजना भन्दा बढी छ । आँखुखोला जलविद्युत् आयोजनाको लागत त २९ करोड रुपैंया माथि थियो ।

जनताको जलविद्युत् आयोजनामा समेटिएका अन्य कम्पनीहरुले कल इन एड्भान्स बापत १० प्रतिशत रकम संकलन गर्ने भए पनि ती आयोजनाहरुको शेयर प्राग्त गर्न बर्षौसम्म कुर्नुपर्ने अवस्था रहन्छ । ५० प्रतिशत भौतिक प्रगतिबिना आईपीओ जारी गर्न नपाउने कारणले शेयर पाउन ढिला हुने अवस्थामा जनताको जलविद्युत् अन्तर्गत नै समेटिएका यी दुई कम्पनीहरुको शेयर भने तत्कालै सूचीकरण हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.