पुँजी वृद्धि भएन भने सिभिल बैंकले २०/२५ प्रतिशत लाभांश दिन सक्छ-इच्छाराज तामाङ

  २०७५ चैत २६ गते ८:०४     विकासन्युज

सिभिल बैंक लिमिटिडले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को वार्षिक साधारणसभा गरेको छैन । बैंकले अघिल्ला वर्षको नाफाबाट ११ प्रतिशत र गत आर्थिक वर्षको नाफाबाट करिव ४ प्रतिशत लाभांश घोषणा गरेको छ । दुबै आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्र बैंकले स्वीकृत गरिसकेको बताईएको छ । तर यस बैैंकले किन साधारणसभा गरिररहेको छैन ? लाभांशको हिसावले सिभिल बैंक किन सबैभन्दा कमजोर बनेको छ ? विकासन्यूजले सिभिल बैंकका अध्यक्ष इच्छाराज तमाग्ङसँग सोधेका छौं ।

सिभिल बैंकको साधारण सभा किन भईरहेको छैन ?

अघिल्लो वर्ष साधारणसभा ८ अर्ब पुँजी नपुगेको कारण गर्न सकिएको थिएन । कर्मचारी संचय कोषले २७ करोड रुपैयाँ प्रमोटर सेयरमा राखिदिएपछि हाम्रो पुँजी ८ अर्ब रुपैयाँ पुगेको छ । गत वर्ष पुँजी नपुगेकाले राष्ट्र बैंकबाट साधारणसभामा जान स्वीकृत लिन सकिएन । यसपाली राष्ट्र बैंकबाट स्वीकृत आईसकेको छ । अब चाँडै नै सातौ र आठौं साधारणसभा एकै पटक गर्छौ । यसपाली लगानीकर्तालाई पनि राम्रै लाभांश दिन्छौं ।

गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत लाभांश दिने भन्नुभएको छ । केही समय अघि सिभिल बैंकले मुद्दती खातामा १३ प्रतिशत व्याज दियो । बचतकर्ताले १३ प्रतिशत व्याज पाउँदा लगानीकर्ताले ४ प्रतिशत मात्र प्रतिफल भयो । यस्तो लाभांशलाई कसरी राम्रो भन्ने ? अब लाभांशमा कसरी सुधार हुन्छ ?

म आफै पनि बैंकको ठूलो लगानीकर्ता हुँ । बैंकबाट उचित नाफा लिन नसक्दाको पीडा मलाई पनि छ । मुख्य कुरा के हो भने हामीलाई बजारले ड्राइभ गरेको छ । व्याज हामीले १३ प्रतिशत दियौ, हामी भन्दा पुराना बैंकले हामीले भन्दा बढी व्याज दिएर निक्षेप लिएको सबैलाई जानकारी छ ।

यस वर्षको चार प्रतिशत लाभांश ज्यादै नराम्रो होइन । गत असार मसान्तसम्ममा हाम्रो चुक्ता पुुँजी ५ अर्ब २५ करोड रुपैयाँ थियो । अहिले ८ अर्ब भएको छ । असार मसान्तको पुँजीको आधारमा सेयरधनीले पाउने लाभांश भनेको करिव ७ प्रतिशत हो । अघिल्लो वर्षको नाफाबाट हामीले करिब ११ प्रतिशत बोनस दिदैछौ । दुई वर्षको खुद लाभांश करिव १८ प्रतिशत हुन्छ । त्यो भनेको औसतमा ९ प्रतिशत हुन्छ ।

प्रतिस्पर्धात्मक बजारमा, सबै किसिमका नियमहरुको परिपालना गरेर, पारदर्शि रुपमा, कर तिरेर ९ प्रतिशत प्रतिफल पाउनु आफैमा नराम्रो पनि होइन । निकट भविष्यमा पनि हामी १०-११ प्रतिशत लाभांश दिन सक्छौं । यदि राष्ट्र बैंकले ५/६ वर्षसम्म पुँजी वृद्धि गरेन, क्यापिटल एडेक्वसी ११/१२ प्रतिशत राखेर व्यवसाय गर्न सक्ने अवस्था आयो भने हामी पनि २०/२५ प्रतिशतको हाराहारीमा लाभांश दिन सक्छौं । सरकारी नीतिमा स्थीरता आयो भने प्रतिफल दिन गाह्रो छैन । तर, पोलिसी पनि प्रतिफल दिने खालको हुनु पर्यो । बजारमा प्रतिस्पर्धात्मक अवस्था पनि सहज हुनुपर्यो ।

सिभिल बैंकमा आईएलएफसी गाभिएपछि साधारणसभा भएको छैन । बोर्डमा को को जाने भन्ने विवादले साधारणसभा हुन नसकेको हो ?

विवाद केही पनि छैन । तर हामीबीच सञ्चालक समितिको छनौट सर्बसहमतिमा गरौं भनेर छलफल भईरहेका छन् । सञ्चालक समितिको छनौटको क्रममा भोटिङ भयो भने त्यसले राम्रो सन्देश जाँदैन । त्यसैले हामी सर्बसहमतिमा सञ्चालक समितिको गठन गर्ने प्रयासमा छौं । केही दिनमा नै तपाईले नयाँ खवर पाउनु हुनेछ ।

प्रतिस्पर्धात्मक बजारमा अरुले भन्दा राम्रो गर्न सिभिल बैंकले कस्तो नीति लिएको छ ?
हामी विश्वसनीय बैंक बन्न चाहान्छौं । नियम कानुम पालना गर्ने, कुनै पनि किसिमको म्यानुपुलेशन नगर्ने हाम्रो नीति हो । दोस्रो, हामीले पेपरलेस बैंकिङमा जोड दिएको छौ । डिजिटाईजेशनको प्रक्रियामा हामी धेरै अगाडि बढिसकेका छौं । यसले भविष्यमा राम्रो पे गर्छ भन्ने हामीलाई विश्वास छ । त्यस्तै हामीले कर्जा लगानी गर्दा सरकारले निर्धारण गरेको प्राथमिकताको क्षेत्रहरु कृषि, पर्यटन, जलविद्युत, साना तथा घरेलु व्यवसायमा जोड दिएका छौं । यसले भविष्यमा राम्रो पे गर्छ । निक्षेपको पोर्टफोलियो पनि राम्रो छ ।

घर जग्गा व्यवसायको क्षेत्रमा तपाईको नाम एक सफल व्यवसायीको रुपमा सबैले लिन्छन् । तर बैंकिङ क्षेत्रमा तपाईले राम्रो गर्न सक्नु भएन भनेर सिभिल बैंकका सेयरधनीले टिप्पणी गर्न थालेका छन् नि ?

हाउजिङ क्षेत्रको व्यवसायमा मेरो आफ्नै योजनाअनुसार काम हुन्छ । व्यवस्थापनको काम पनि मेरो सोच र योजनाअनुसार हुन्छन् । डिजाईन, ड्रोइङ, कन्स्ट्रक्सन, फाइनान्सियल म्यानेजमेन्ट लगायत सबै काम म आफैले हेरिरहेको हुन्छु ।

बैंकमा त्यस्तो हुँदैन । बैंकका सञ्चालक, अध्यक्षसँग सीमित अधिकार छन् । व्यवस्थापनको सबै काम बैंकका सीईओले गर्ने हो । बैंक कस्तो हुनुपर्छ ? बैंक कसरी चलाउनुपर्छ ? बैंकका नीति नियम कस्तो हुनुपर्छ ? भन्ने कुरा बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, राष्ट्र बैंकका नीति निर्देशन अनुसार हुन्छ । ऐन, राष्ट्र बैंकका नीति निर्देशनका आधारमा बैंकको व्यवसायिक नीति, योजना बनाउने काम बैंकको बोर्डको हो ।

त्यसलाई कार्यान्वयन गर्ने काम व्यवस्थापन समितिको हो । बोर्डको नीति, योजनामा कमी कमजोरी छैन । बोर्डले ७० भन्दा बढी नीति बनाएको छ । सञ्चालन विधि बनाईदिएका छौं । राष्ट्र बैंकबाट अनुगमन गर्न आउँदा बोर्डले यो नीति बनाएको छैन, यो कमजोरी गर्यो भनेर अहिलेसम्म एउटा पनि गुनासो आएको छैन । बैंकको गुड गर्भनेन्स राम्रो छ । तर कार्यान्वयनमा सीईओ र व्यवस्थापनमा भर पर्नुपर्छ ।

सिभिल बैंक दोस्रो कान्छो बैंक हो । हामीले २०/२५ वर्ष पुरा गरेका, पुरानो, छिप्पिएको बैंकसँग प्रतिस्पर्धा गर्नु परेको छ । पुराना बैंकहरुले गरेका गल्तीलाई नियन्त्रण गर्न राष्ट्र बैंकले नयाँ नीति बनाउँछ । त्यसको असर नयाँ हामीले भोग्नु परेको छ । हाम्रो परिवारमा जेठाले काम विगार्छ, कान्छाले कुटाई खान्छ । बैंकिङ क्षेत्रमा पनि यस्तै भयो । नयाँ बैंकलाई एउटा नियम, पुराना बैंकलाई अर्को नियम लगाउने कुरा पनि भएन । राष्ट्र बैंकले सबैलाई एउटै भास्केटमा राखेर रेगुलेट गरेको छ । पुराना किसिमका बैंकले गरेका कमीकमजोरी देखेर कडा किसिमको नियम ल्याउँदा नयाँ बैंकहरुले हातखुट्टा फुर्तिलो ढंगले चलाउन नसक्ने अवस्था छ ।

अर्को प्रतिस्पर्धात्मक बजारमा नयाँ बैंकलाई नयाँ ढंगले लैजाने कुरामा केही व्यवस्थापकीय कमजोरी पनि भए होलान् । तर सिभिल बैंकलाई विश्वसनीय बनाउन, राष्ट्र बैंकको नीति निर्देशनको पालना गर्न, ग्राहकलाई सरल रुपमा आधुनिक सेवा प्रदान गर्न हामी कही पनि चुकेका छैनौ । सबै नीति नियमको परिपालना गर्दै बैंक चलाउन हाउजिङ जस्तो सजिलो छैन ।

सिभिल बैंक सुशासनमा चलेका र बोर्डले सञ्चालक समितिको काममा हस्तक्षेप नगरेको बताउनु भयो । तर सीटीसी मलमा सिभिल बैंकको केन्द्रीय कार्यालय सार्ने बैंकको कदम विवादस्पद बन्यो, किन ?

सबैलाई थाहा छ कि सिभिल होम्स्ले आम संचार माध्यमबाट विज्ञापन गरेर सीटीसी मलका पसल, यूनिटहरु बिक्री गरेको हो । हामीले सीटीसी मल हामीले बनाएका हौ र बेचेका पनि हौ । हामीले विभिन्न स्थानमा ९ फेजमा हाउजिङ डेभलप गरेका छौं । शुरुमा ती सबै हाउजिङ हाम्रो स्वामित्वमा थिए । आज सिभिल मल बाहेक अरु सबैको स्वामित्व हामीसँग छैन, जसले किने उनैसँग छ ।

आज सीटीसी मलमा जति क्षेत्रफल सिभिल बैंकले लिएको छ, त्यो सबै अरुको नाममा छ । मेरो वा सिभिल बैंकका कुनै पनि प्रमोटरको स्वामित्वमा छैन । अरुको स्वमित्वमा रहेको क्षेत्रफलमा बैंकले टेण्डर विधिबाट लिएको छ, उनीहरुसँग भाडामा नेगोसिएट गरिएको छ । बाहिरबाट हेर्दा सीटीसी मल इच्छाराज तामाङको जस्तो देखिए पनि बास्तविकता त्यो होइन । बैंकले जो जोसँग सम्झौता गरेर स्थान लिएको छ तिनैको खातामा भुक्तानी भएका छन् । यसको शंका गर्नु पर्ने ठाउँ केही पनि छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.