पाइपलाइन विस्तार धमाधम, भाडा बचत वार्षिक २ अर्ब

  २०७५ चैत २४ गते ८:२८     विकासन्युज

अमलेखगन्ज, बारा । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम अन्तिम चरणमा पुगेको छ । आगामी असारसम्म पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भएपछि ढुवानी भाडा कम हुने र पेट्रोलियम पनि केही सस्तो हुने अनुमान गरिएको छ ।

हाल पर्सा राष्ट्रिय निकुञ्जको ७ किमि क्षेत्रमा पाइपलाइन बिछ्याउने काम जारी छ। भारत र नेपाल सरकारबीच २०७२ मा सम्झौता भएअनुसार इन्डियन आयल कर्पोरेसनको सहयोगमा मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म ७० किलोमिटर क्षेत्रमा पाइपलाइन बिछ्याउने काम भइरहेको छ। मोतीहारीदेखि नेपाल सीमासम्म पाइप बिछ्याउने काम सकिएको छ।

निकुञ्ज क्षेत्रको रुख कटानमा ढिलाइ हुँदा केही समस्या पनि भइरहेको छ। ‘माघ ३ गतेको मन्त्रिपरिषद्ले रुख काट्न निर्णय गर्‍यो, त्यसको डेढ महिनापछि काम सुरु भएको हो,’ आयल निगम क्षेत्रीय कार्यालय अमलेखगन्जका प्रमुख प्रदीपकुमार यादवले भने, ‘अहिले निकुञ्ज क्षेत्रमै काम भइरहेको छ।’

६ हजार ५ सय ६३ रुख काटिँदै छन्। जंगलको ९ किमिमध्ये २ किमि क्षेत्रमा पाइप विस्तार गरी सकिएको छ। काटिएका रुख व्यवस्थापन गर्दै पाइप विस्तार गर्ने काम जारी राखिएको छ। ‘१ करोड ९५ लाख रुपैयाँ हामीले निकुञ्जलाई दिनेछौं,’ उनले भने, ‘जति रुख काटिन्छन्, त्यति नै संख्यामा हुर्काउन आयल निगमले उक्त रकम दिन लागेको हो।’ पाइपलाइन विस्तार गर्न निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले नियुक्त भएलगत्तै निकुञ्जको समस्या टुंग्याएका थिए।

तेल राख्न अमलेखगन्ज डिपोमा तीनवटा भर्टिकल ट्यांक मर्मत गरिइसकिएको जानकारी यादवले दिए। उनका अनुसार एउटा मर्मत हुँदै छ। जसमा ४९ लाख लिटरको २ वटा र ४१ लाख लिटर अट्ने २ वटा ट्यांक निर्माण गरिएको हो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.