खुसी र सन्तुष्ट ग्राहकको उद्देश्यका साथ मिसन-२०८० मा लागेका छौं : प्रवीण बस्नेत

  २०७५ चैत १८ गते १४:००     विकासन्युज

६ महिनाअघि कामना सेवा विकास बैंकको डेपुटी सिईओ नियुक्त हुनुभएका प्रवीण बस्नेत फागुन १ गतेदेखि सोही बैंकमा प्रमुख कार्यकारीको भूमिकामा हुनुहुन्छ । यसअघिका प्रमुख कार्यकारी अधिकृतको राजीनामासँगै रिक्त पदमा ४ वर्षका लागि वस्नेतलाई नियुक्त गरिएको हो । दोलखा जिल्ला स्थायी घर भएका बस्नेतले काठमाडौं विश्वविद्यालयबाट एमबीए र भारतको मद्रासबाट चार्टर्ड एकाउन्टेन्सी कोर्ष सम्पन्न गर्नुभएको छ । एभरेष्ट इन्स्योरेन्सबाट वित्तीय क्षेत्रको करियर सुरु गरी नबिल बैंक, नेपाल बंगलादेश बैंक, एनआईशी एशिया बैंक र माछापुच्छ्रे बैंक हुँदै कामना सेवा विकास बैंकमा आउनुभएको हो ।

कामना विकास बैंक र सेवा विकास बैंक एक आपसमा मर्ज भई राष्ट्रिय स्तरको विकास बैंकको रुपमा रुपान्तरण भएको कामना सेवा विकास बैंक वित्तीय रुपमा औसत विकास बैंकको रुपमा गनिन्छ । यद्यपि बढ्दो बजार प्रतिस्पर्धा र वित्तीय क्षेत्रमा भित्रिँदै गएको अवसरको व्यवस्थापन र चुनौतीको सामना गर्नुपर्ने अवस्थाबाट भने सबै बैंकहरु गुज्रिरहेकै हुन्छन् । यसै परिप्रेक्षमा बजारको बढ्दो प्रतिस्पर्धात्मक अवस्था, चुनौती र कामना सेवा विकास बैंकको रणनीतिका सन्दर्भमा केन्द्रित भई बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।


वित्तीय क्षेत्रमा व्यवस्थापनका विभिन्न तहमा रहेर काम गर्दै विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा हुनुहुन्छ, चार्टर्ड एकाउन्टेन्सी पृष्ठभूमिबाट आएको मान्छे, व्यवस्थापनको सर्वोच्च तहमा पुग्दा यो क्षेत्रलाई कसरी नियालिरहनुभएको छ ?

सन् २००४ मा एभरेष्ट इन्स्योरेन्सबाट सुरु भएको वित्तीय क्षेत्रमा सुरु भएको मेरो करियर झन्डै १५ पूरा भएको छ । आजसम्म आइपुग्दा मैले राम्रा र देशमै उत्कृष्ठ रुपमा गनिएका संस्थाहरुमा विभिन्न तहको जिम्मेवारीमा रहेँ । खासगरी एभरेष्ट इन्स्योरेन्सबाट नबिल बैंक हुँदै नेपाल बंगलादेश बैंक, एनआईशी एशिया बैंक, माछापुच्छ«े बैंक हुँदै कामना सेवा विकास बैंकमा आबद्ध भएर मैले काम गर्ने मौका पाएँ । मैले काम गरेका संस्थाहरु एकपछि अर्को अब्बल नै रहे, म एनआईशी एशिया बैंकमा सीएफओ र माछापुच्छ्रे बैंकमा सीओओको जिम्मेवारीमा थिएँ ।

यो क्षेत्रको १५ बर्षे अनुभवले बैंकिङ क्षेत्रलाई एउटा उच्च सम्भावनायुक्त, प्रतिस्पर्धात्मक एवं दीगो प्रगतिको रुपमा लिएको छु । खासगरी बैंकिङ क्षेत्र अरुजस्तो स्वतन्त्र क्षेत्र नभएर एक अर्कामा अन्तरनिर्भर हुने र यसले वित्तीय मध्यस्तताको काम गर्ने भएकोले यो क्षेत्र थप चुनौतीपूर्ण भने छ । यो क्षेत्रको असन्तुलनले अर्थतन्त्रका हरेक क्षेत्रलाई असन्तुलित तुल्याउने र अर्थतन्त्रको सकारात्मक सकारात्मक अवस्थाको पहिलो प्रभाव यही क्षेत्रमा पर्ने भएकोले यो संवेदनशील क्षेत्र हो जस्तो लाग्छ ।

अब्बल संस्था छान्दैगर्दा तपाईँले नबिल बैंकलाई छोडेर नेपाल बंगलादेश बैंक चाहिँ किन रोज्नुभयो ?

नेपाल बंगलादेश बैंक त्यतिखेर समस्याग्रस्त संस्था थियो । यसको व्यवस्थापन राष्ट्र बैंकले टेकओभर गरेर बैंकलाई सुधारको प्रक्रियामा लैजाने क्रममा थियो । त्यस्तो अवस्थामा नीतिगत तहमा बसेर काम गरेको व्यक्तिको आवश्यकता बैंकलाई भयो । मैले नबिल बैंकमा बटुलेको अनुभव जसले बैंकको पुनर्संरचनालाई सघाउन सक्थ्यो, त्यसलाई नेपाल राष्ट्र बैंकबाट बंगलादेश बैंकको व्यवस्थापनमा आउनुभएका नेतृत्वकर्ताहरुलाई मन पर्यो र मलाई त्यसबेला महाप्रसाद अधिकारीज्यूले बैंकको सुधारका मेरो योगदान महत्वपूर्ण हुनसक्ने भन्दै एनबी बैंकमा आउन आग्रह गर्नुभयो जुन मलाई पनि ठीक लाग्यो । यसले गर्दा संस्थाको पुनर्संरचनाको क्षेत्रमा भिजेर काम गर्ने मौका पाएँ । यसले गर्दा मेरो अनुभवको दायरा थप फराकिलो र गहिरो बनाउने मौका पाएँ ।

महाप्रसाद अधिकारी आफैंमा चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्थ्यो, उमेश भण्डारी पनि त्यही टिममा हुनुहुन्थ्यो, त्यही सीए र सीएबीचको अन्तरसम्बन्धलाई नजिक बनाउन कुन तत्वले काम गरिरहेको हुन्छ ?

चार्टर्ड एकाउन्टेन्सी एउटा यात्रा हो । यो एकदमै चुनौतीपूर्ण, अप्ठ्यारो परिस्थितिलाई पार गरेर मात्रै आउनसक्ने अवस्था हो । हुन त यो क्षेत्र मात्रै होइन, अरु क्षेत्रका मानिसहरुमा पनि यदि उहाँहरु एउटै पृष्ठभूमिबाट आउनुभएको छ भने उहाँहरुले संघर्षको अवस्था, सोच्ने, व्यवहार गर्ने र समीक्षा गर्ने शैलीहरु सामान्यतया एउटै हुन्छन् । यो क्षेत्रमा पनि यस्तै भएको हुनसक्छ, एउटा चार्टर्ड एकाउन्टेन्ट र अर्को चार्टर्ड एकाउन्टेन्ट यस्तै समानताले एक अर्कालाई नजिक ल्याउने सम्वाहकको रुपमा काम गरेको हुनसक्छ । त्यसमाथि पनि मान्छेको स्वभाव भनेकै समग्रताभित्र विशेषता खोज्ने हो, बजारमा भएका असंख्य व्यक्तिहरुमध्ये एउटै पृष्ठभूमि र उस्तै अनुभव अन्तरसम्बन्ध कायम हुनु नौलो कुरा पनि होइन ।

एउटा चार्टर्ड एकाउन्टेन्टको रुपमा कामना सेवा विकास बैंकलाई चाहिँ कसरी मूल्याङ्कन गर्नुभएको छ ?

यो संस्था प्राविधिक रुपमा नभए पनि व्यवहारिक रुपमा हालसम्मको सबैभन्दा कान्छो राष्ट्रिय स्तरको विकास बैंक हो । राष्ट्रिय स्तरको विकास बैंकमध्ये यो ११ औं प्रवेशक हो । यसको वित्तीय विवरणहरु पनि सोही स्तरका छन् । त्यसैले बैंकको सुधार र बजारमा रहेका अन्य बैंकहरुसँगको प्रतिस्पर्धात्मक स्तर माथि उठाउन एउटा ब्राण्डको रुपमा यसलाई विकास गर्नुपर्ने अवस्था छ । छोटो समयमा बजारमा उत्कृष्ठ रहेका भनिएका बैंकहरुसँग प्रतिस्पर्धा गर्ने अवस्थामा पुर्याउनुछ ।

फाइनाइन्सियल रुपमा मात्रै नभई हाम्रा टीमका सदस्यहरुको क्षमता अभिवृद्धि गरी करियर डेभलपमेन्टमा पनि हामीले उत्तिकै ध्यान दिनुपर्ने अवस्था छ । यसका लागि टीमका सदस्यहरुको स्वार्थ र बैंकको स्वार्थलाई एकीकृत गरेर अघि बढ्नुपर्ने चुनौती हामीसँग छ । जति कामना सेवा विकास बैंक वित्तीय रुपमा र ब्रान्डिङको हिसाबले अब्बल बन्दै जान्छ, त्यति नै यहाँका कर्मचारीहरुको पनि करियर विकास हुँदै जाने वातावरण बनाउनुपर्छ ।

तर आजको दिनमा सबैभन्दा महत्वपूर्ण भनेको वित्तीय कार्यक्षमता सुधार, ग्राहक सन्तुष्टि र कर्मचारीको सन्तुष्टि गरी यी तीनओटा पक्षहरुलाई सुनिश्चित गर्दै संस्थाका शेयरधनी लगायतका स्टेकहोल्डरको सन्तुष्टि कायम गर्ने चुनौती हामीहरुसँग छ ।

तपाईँले स्टेकहोल्डरको सन्तुष्टिको कुरा गर्दैगर्दा एउटा ग्राहकले, कर्मचारीले, लगानीकर्ताले वा ऋणीले कामना सेवा विकास बैंक नै किन छनौट गर्ने ?

हाम्रो बोर्ड, प्रोमोटरको ग्रुप वा हामी टिम मेम्बरहरुको सबैको सबैभन्दा पहिलो उद्देश्य भनेकै हाम्रा ग्राहकहरु सन्तुष्ट होउन भन्ने छ । त्यसैले तपाईँले मलाई तपाईँको एक नम्बरको उद्देश्य के हो भन्नुभयो भने मेरो उत्तर हाम्रा ग्राहकहरुलाई खुसी र सन्तुष्ट राख्नु हो भन्ने उत्तर आउँछ । अरु स्टेकहोल्डरको सन्तुष्टि भन्ने कुरा ग्राहकको सन्तुष्टिमै निर्भर हुने कुरा हो ।

ग्राहक भन्दैगर्दा बैंकमा निक्षेपकर्ता र ऋणी गरी दुई प्रकारका ग्राहक हुन्छन्, यी दुई पक्षको स्वार्थ एकआपसमा बाझिएको हुन्छ, यी दुई पक्षहरुलाई सन्तुलन कसरी गर्नुहुन्छ ?

यसका लागि हामीले नियामकीय व्यवस्थालाई लागु गरेर जानुपर्ने नै एकमात्र विकल्प रहन्छ । नेपाल राष्ट्र बैंकले हामीलाई विभिन्न प्रोभिजनहरु निर्धारण गरिदिएको छ । त्यही प्रोभिजनभित्र रहेर हामीले काम गर्नुपर्छ । जस्तै हामीले स्प्रेडदर ५ प्रतिशतभन्दा माथि लैजान पाउँदैनौं । हामीले निक्षेपकर्तालाई दिएको र ऋणीसँग लिएको ब्याजदरको अन्तर ५ प्रतिशतभन्दा बढी हुन सक्दैन ।

नेपालको वित्तीय क्षेत्र खण्डिकृत छ । यहाँ एकातिर वाणिज्य बैंकहरु छन् । ती बैंकहरु समेत विभिन्न खालका छन् । विकास बैंकहरु राष्ट्रिय वा क्षेत्रीय स्तरका छन् । फाइनान्स कम्पनीहरु पनि सोही प्रकारका छन् । त्यसबाहेक लघुवित्त क्षेत्रहरु समेत बजारमा क्रियाशील छन् ।

विकास बैंकको सन्दर्भमा कुरा गर्दा हाम्रो पुँजी, निक्षेप, कर्जा र सेवाको आकार र दायरा वाणिज्य बैंकको भन्दा केही संकुचित हुन्छ । यस्तो अवस्थामा निक्षेपकर्ताहरुलाई आकर्षित गर्न वाणिज्य बैंकको भन्दा केही बढी ब्याज दिनुपर्ने अवस्था हामीलाई हुन्छ, त्यो हाम्रो वाध्यता नै हो । यस्तो अवस्थामा ऋणीहरुलाई दिने ऋणको ब्याजदर पनि सोही अनुसार भइहाल्छ ।

वाणिज्य बैंकमात्रै होइन, फाइनान्स कम्पनीहरु विकास बैंकभन्दा केही संकुचित दायरायुक्त हुन्छन् । उनीहरुले निक्षेप आकर्षित गर्न उनीहरुले विकास बैंकहरुले भन्दा निक्षेपमा बढी ब्याज दिन्छन् र कर्जामा सोही अनुसार बढी ब्याज लिन्छन् ।

त्यसैले गर्दा विकास बैंकहरुले निक्षेपका हकमा वाणिज्य बैंकहरुको भन्दा बढी ब्याजदर र कर्जाका हकमा फाइनान्स कम्पनीहरुको भन्दा कम ब्याजदर दिनुपर्ने बाध्यताका कारण यो सूचकमा त्यति ठूलो उतारचढाव गर्नसक्ने अवस्था छैन । त्यसैले अहिलेको अवस्थामा धेरै मार्जिन राखेर होइन, अधिकतम संख्यामा ग्राहक संख्या र सेवामार्फत् नै हाम्रो वित्तीय लक्ष्य पुरा गर्नुपर्ने अवस्था हामीलाई छ । त्यसैले अहिलेको अवस्थामा निक्षेपको दर नभई कर्जाको दरलाई चाहिँ प्रतिस्पर्धात्मक राख्ने प्रयासमा हामी छौं ।

जस्तै हामीले भर्खरैमात्र ल्याएको होमलोन अटोलोन स्कीमको ब्याजदर ११.९९ प्रतिशत छ जबकी हामीले १०.५ देखि ११ प्रतिशतमा त निक्षेप नै लिइरहेका छौं । त्यसैले हाम्रो रणनीति भनेकै सबैभन्दा कम मार्जिनमा ऋणीहरुले ऋण पाउन सकुन र निक्षेपकर्ताहरु पनि मारमा नपरुन् भन्ने हो । तर ब्याजदर मात्रै सबै कुरा चाहिँ होइन, धेरै झन्झट ब्यहोर्नुपर्ने, धेरै फोनहरु घुमाउनुपर्ने बाध्यताबाट हामी हाम्रा ग्राहकलाई मुक्त राख्ने प्रयास गर्छौं ।

ग्राहक झन्झटको कुरा गर्नुपर्दा निक्षेप राख्नदेखि कर्जा लिनसम्म विभिन्न जटिल प्रक्रियाहरु व्यहोर्दै जानुपर्ने अवस्था छ, त्यस्तो अवस्थामा कामना सेवा विकास बैंकमात्र त्यसबाट मुक्त हुन सम्भव छ ?

सरकार र नियामक निकायले तोकिएका प्रावधानहरु बमोजिम लाग्ने प्रक्रिया पुरा गर्न त हामी पनि बाध्य छौं, सबै बैंकहरु बाध्य छन् । हामीले दिने सेवा भनेको आफ्नो तर्फबाट हुने झन्झट न्यूनीकरण गर्ने भन्ने हो । जस्तै खाता खोल्ने सन्दर्भमा कुरा गर्ने हो भने हाम्रो खाता खोल्ने फर्महरु एकदमै सरल छन् ।

लोनको कुरा गर्दा पनि औसत प्रोफाइलका ग्राहकहरुलाई ऋण लिन त्यति गाह्रो हुँदैन तर ठूलो मात्रामा ऋण लिने र फरक किसिमका कारोबार गर्ने ग्राहकहरुका लागि भने उहाँहरुको कारोबारको प्रकृति, ऋणको आवश्यकता लगायतको बारेमा बुझ्नुपर्ने आवश्यकता हुनसक्छ । यस्तो अवस्थामा टर्न अराउन्ड टाइम (टीओटी) फिक्स गरेका हुन्छौं । नियमित ग्राहकका लागि भने टीओटीको समय एकदमै कम गर्ने हाम्रो उद्देश्य हुन्छ । हाम्रो हकमा धेरैजसो ग्राहकले ७ लिनमा ऋण पाउनुहुन्छ ।

कामना सेवा विकास बैंकको नाफामा एकदमै उतारचढाव देखिन्छ, किन यस्तो भएको ?

तपाईँले एकदमै राम्रो प्रश्न गर्नुभयो, खासगरी विकास बैंकहरुमा त्रैमासिक वा अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने अभ्यास रहेछ । हाम्रोमा पनि फलोअप, रिकभरी गर्न समयमा ध्यान नदिने जस्तो अवस्था पनि विगतमा देखिएको थियो र ईएमआई पनि विभिन्न मितिमा राखेको हुनाले त्यसलाई सुपरीवेक्षण गर्न पनि गाह्रो अवस्था थियो । त्यसका लागि हामीले सुधारात्मक कदम चालिसकेका छौं । अब अँग्रेजी महिनाको हरेक १० तारिखका दिन यस्तो मिति तोकेका छौं । ऋणको रिकभरीको लागि सेलहरु पनि गठन गरिसकेका छौं । मेरो विचारमा अब असार मसान्तपछि त्रैमासिक रुपमा त्यस्तो ठूलो उतारचढाव नआउने र सही रिपोर्टिङ हुने वातावरण बन्छ ।

तपाईँ त एनआईशी एशियाको भिजन २०२० को निर्माणमा पनि प्रत्यक्ष रुपमा संलग्न भएको व्यक्ति । विकास बैंकहरुमध्येकै उत्कृष्ठ बैंक बनाउँछु भन्नुभएको छ, अलिकति वस्तुगत रुपमा भनिदिनुस् न, कामना सेवा विकास बैंकलाई त्यो दिशामा डोहोर्याउन भदौदेखि अहिलेसम्म के के गर्नुभयो ?

कामना सेवा विकास बैंकमा हामीले ‘मिसन–२०८०’ तय गरेका छौं । २०८० सम्ममा हामी बैंकलाई अब्बल दर्जाको विकास बैंक बनाउने हाम्रो लक्ष्य हो । यसका वित्तीय कार्यसम्पादनको मात्रै कुरा आउँदैन, किनकी बैंकिङ क्षेत्रको प्रगति अलिकति सन्तुलित र व्यापक हुनुपर्छ भन्ने मलाई लाग्छ । यसमा वित्तीय कार्यसम्पादन एउटा पक्ष हुन्छ भने ग्राहक सन्तुष्टि, संस्थाको ब्राण्ड, गुडबिल, इमेज तथा कर्मचारीको सन्तुष्टि, नियामकहरुको हामीलाई हेर्ने दृष्टिकोण लगायतका विषयहरु अन्य पक्षहरु हुन्छन् । यी ४/५ ओटा फरकफरक पक्षहरुको मापनमा हामी अब्बल हुने लक्ष्य लिएका हौं । फाइनान्सियल पर्फर्मेन्सलाई मात्रै अन्तिम लक्ष्य बनाएर हिँड्यौं भने हामी समाजमा दीर्घकालसम्म उत्कृष्ठ सेवा लिएर अघि बढ्न सक्दैनौं ।

हाम्रो मुख्य रणनीति भनेकै सुखी र सन्तुष्ट ग्राहक हुन् । कुनै पनि नयाँ प्रोडक्टहरु ल्याउँदा, नयाँ प्रक्रियाको विकास गर्दा वा संस्थागत रुपमा जुनसुकै आयामहरु अघि बढाउँदा पनि हाम्रो पहिलो दृष्टिकोण नै यसैमा हुन्छ । हामीले खसी र सन्तुष्ट ग्राहकहरुबाटै अन्य लक्ष्यहरुको खोजी गर्न सक्छौं । ग्राहक सन्तुष्टिबिना यी सबै बाटाहरु बन्द हुन्छन् ।

नेटवर्क विस्तारको सन्दर्भमा चाहिँ तपाईँहरुको रणनीति के हो ? धमाधम शाखा खोल्ने क्रम अघि बढाउनुभएको छ ?

हामी राष्ट्रिय स्तरको विकास बैंक भइकन पनि हामीले राष्ट्रिय स्तरको नेटवर्क डेभलपमेन्ट गर्न सकिरहेका थिएनौं । प्रदेश १, प्रदेश २ र काठमाडौं उपत्यकामा समेत हाम्रो उपस्थिति कममात्रै थियो । यही क्षेत्रहरुलाई समेट्नेगरी हामीले रणनीति बनायौं र त्यही अनुसार शाखा सञ्जालहरु समेत विस्तार गर्दै गएका छौं । यी शाखा सञ्जाल विस्तार भइसकेपछि हामी वास्तविक रुपमै राष्ट्रिय स्तरको विकास बैंक बन्छौं । हामीसँग हाल ७७ ओटा शाखा सञ्जाल छन् । पूर्वी क्षेत्र र काठमाडौंमा अझै केही शाखा खोल्ने योजना बनाएका छौं ।

अहिले बैंक तथा वित्तीय संस्थाले ग्राहकसँग लिने शुल्क अत्यधिक भयो भनिन्छ, बैंकहरुको शुल्क घटाउनुपर्ने आवाज पनि वित्तीय क्षेत्रमा तीव्र रुपमा उठ्ने गरेको छ, त्यस्तो अभ्यास पनि गर्नुपर्ने भएको हो ?

त्यस्तो अवस्था पहिले थियो, तर अहिले छैन । हालका अर्थमन्त्री युवराज खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नर भएदेखि हालसम्म पनि नेपाल राष्ट्र बैंकले ग्राहक संरक्षणका लागि विभिन्न कामहरु गरिसकेको छ । धेरै शुल्कहरु हटिसकेका छन् । अनावश्यक शुल्कहरु त अहिले केही पनि छैन । तर कतिपय सेवाहरु चाहिँ ग्राहकले आफ्नो आवश्यकता अनुसार दिने वा नलिने भन्ने सन्दर्भमा लागु हुन्छ । जस्तै डेबिट कार्ड, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ जस्ता सेवाहरु ग्राहकले लिन नचाहे नलिन सक्छन्, तर लिए तोकिएको शुल्क तिर्नुपर्छ ।

यस्ता शुल्कहरु कतिपय राष्ट्र बैंकले नै तोकिदिएको हुन्छ भने कार्डहरुको शुल्क भने भिजा, मास्टरकार्ड जस्ता नेटवर्कहरु आफैंले त्यसको शुल्क निर्धारण गर्ने भएकोले त्यसमा हाम्र्रो नियन्त्रण हुँदैन । त्यसबाहेकका हाम्रो नियन्त्रणमा हुनसक्ने सेवाशुल्कमा हाम्रा सेवाग्राहीहरुलाई न्युनतम लागतमा सेवा दिने प्रतिवद्धता व्यक्त गर्दछौं ।

अहिले नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण र अन्तराष्ट्रिय आतंकवादविरुद्ध वित्तीय क्षेत्रको प्रयोग निराकरणका लागि केही व्यवस्था गर्नुपर्ने निर्देशन दिएको छ, यसका लागि सफ्टवेयर निर्माण र कार्यान्वयनका लागि कस्तो तयारी छ ?

हामीले त्यस्तो सफ्टवेयर खरिद गरी त्यसलाई कार्यान्वयन गरिसकेका छौं । विकास बैंकहरुमध्ये यो चरणमा अघि बढ्ने पहिलो बैंक नै कामना सेवा विकास बैंक हो । यो पूर्णरुपमा कार्यान्वयन हुने चरणमा छ । हाम्रो अनुभवकै आधारमा अन्य विकास बैंकहरुले समेत यसको कार्यान्वयनको प्रक्रिया अघि बढाइसकेका छन् । यस्ता विषयहरु लागु गर्ने सन्दर्भमा हामी शुन्य सहनशीलताको नीतिका साथ अघि बढ्छौं । त्यसका लागि संस्थागत सुशासनको ढाँचा समेत अघि बढिसकेको छ ।

बैंकिङ व्यवसाय भनेको अरु व्यवसाय भन्दा एकदमै फरक व्यवसाय हो । यो क्षेत्रमा यदि कसैले जोखिम न्यूनीकरणमा ध्यान नदिई अघि बढ्न चाहन्छ भने त्यो सम्भव हुँदैन । राष्ट्रको प्राथमिकतमा र अन्तराष्ट्रिय अभ्यासका यस्ता विषयहरुमा हामी पछि हट्नु हुँदैन, त्यसका लागि सबैले आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्नैपर्छ । यो सन्दर्भमा नेपाल राष्ट्र बैंकले समेत हाम्रो प्रशंसा गरेको छ ।

बजारमा तरलता अभावको चर्चा अझै सेलाएको छैन, पहिलो ७ महिनाको तथ्याङ्कका आधारमा विकास बैंकहरुमा समेत यस्तो चाप परेको देखियो, यसमा कामना सेवा विकास बैंकको अवस्था चाहिँ के हो ?

यसले खासगरी वाणिज्य बैंकहरुलाई बढी समस्यामा पारेको हो । विकास बैंकहरुको हकमा हाम्रा ग्राहकहरु छरिएर रहने र संस्थागत निक्षेपको आकार कम हुने हुनाले विकास बैंकहरुमा तुलनात्मक रुपमा यो समस्या कममात्र देखिएको छ । यस्तो अवस्थामा कतिपय वाणिज्य बैंकहरुलाई विकास बैंकले सपोर्ट गरेको अवस्था पनि थियो । कामना सेवा विकास बैंकलाई यस्तो समस्याले आजसम्म छोएको छैन ।

बजारमा यस्तो समस्याका बाबजुद पनि हाम्रो निक्षेपको आकार निरन्तर बढिरह्यो । हाम्रो सीसीडी अनुपात अहिले पनि ७५ प्रतिशतको हाराहारीमा मात्रै छ । त्यसैले अझै पनि ठूलो मात्रामा कर्जा प्रवाहका लागि हामी सक्षम छौं । त्यसैले हामीले होमलोन, अटोलोन जस्ता प्रोडक्ट ल्याउन समेत सफल भएका हौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.