सर्किट ब्रेकमा नयाँ व्यवस्था, चैत १९ गतेदेखि कार्यान्वयन हुने

  २०७५ चैत १७ गते १८:३१     विकासन्युज

काठमाडौँ । शेयर बजारमा कुनै पनि कम्पनीको शेयर मूल्य चार प्रतिशतले घटे वा बढेमा सर्किट ब्रेक लाग्ने भएको छ । स्टकले सर्किट ब्रेकको प्रणालीमा नयाँ व्यवस्था गरी यही चैत १९ गते मङ्गलबारदेखि कार्यान्वयनमा ल्याउन लागेको हो ।

स्टकको नयाँ व्यवस्थाअनुसार कारोवार शुरु भएको पहिलो एक घण्टामा चार प्रतिशतले घटे वा बढेमा १५ मिनेटसम्म सर्किट ब्रेक लाग्ने भएको छ । यस्तै दोस्रो घण्टामा पाँच प्रतिशतले घटे वा बढेमा ३० मिनेट तथा तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोवार स्थगित गर्ने व्यवस्था कार्यान्वयन गर्न लागिएको छ ।

स्टकका अनुसार स्वचालित अनलाइन कारोवार प्रणाली कार्यान्वयनमा आएपछि तीन हजार ५५७ लगानीकर्ता समावेश भएका छन् । दैनिक अनलाइन कारोवारमा सक्रिय लगानीकर्ताको सङ्ख्या ५९६ रहेको छ । स्टकले अनलाइन कारोवारका लागि धितोपत्र दलाल व्यवसायीको कार्यालयमा गएर युजरनेम र पासवर्ड लिनसमेत आग्रह गरेको छ ।

अनलाइन कारोवार प्रणालीलाई थप व्यवस्थित बनाउन ‘नेशनल क्लियरिङ हाउस लिमिटेड’को प्रणालीमा आवद्ध गराई त्यसका सदस्य अन्य बैंक तथा वित्तीय संस्थामार्फत अनलाइनमा नै रकमको हस्तान्तरणको व्यवस्था मिलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.