चिनियाँ कारखानाको उत्पादन मार्चमा बढ्यो, सरकारले के के गर्यो प्रयत्न ?

  २०७५ चैत १७ गते १३:००     विकासन्युज

बेइजिङ । संयुक्तराज्य अमेरिकासँगको व्यापार तनाबका कारण केही महिनादेखि समस्यामा परेको चिनियाँ कारखानाको उत्पादन क्षमता सरकारको विशेष प्रयत्नका कारण मार्च महिनामा सुधार भएको छ ।

चिनियाँ तथ्याँक ब्यूरोले आइतबार सार्वजनिक गरेको विवरणमा चीनको मासिक खरिद सूचक ५०.५ रहेको देखाइएको छ । गत फेब्रुअरीको तुलनामा यो १.३ विन्दुले वृद्धि भएको हो । गत महिना यो सूचक ५० थियो ।

गत वर्ष चीनको निर्यात घट्नुका साथै चिनियाँ उपभोक्ता मागमा समेत कमी आएका कारण कारखानाको उत्पादन न्यून भएको थियो । निर्यात, रोजगारी र नयाँ मागमा भने सुधार आएको तथ्याँक ब्यूरोले जनाएको छ ।

अमेरिकी राष्ट्रपतिका कारण सिर्जित समस्यासँग जुध्न चीन सरकारले ऋण लगानीमा रहेका नियन्त्रणहरुलाई खुकुलो पार्नुका साथै सरकारी खर्चमा वृद्धि गरेको थियो । तर अधिकारीहरुले भारी ऋणवृद्धि हुन नदिन विस्तारै सरकारी नियन्त्रण अपनाएका थिए । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले पनि नयाँ नयाँ रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा प्रभावशाली भूमिका बढाउने कार्यमा सघाउने प्रतिबद्धता जनाएको थियो ।

निजी क्षेत्रका प्रक्षेपकहरुले पनि आर्थिक वृद्धि सामान्य हुने बताउँदै आएका थिए । चिनियाँ नेताहरुले अर्थतन्त्रमा सामान्य वृद्धि हुने बताउँदै तर अघिल्लो दशकको दुई अङ्कको वृद्धिजस्तो अवस्था आउन नसक्ने बताएका थिए ।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनको गत वर्षको आर्थिक वृद्धि तीन दशककै न्यून विन्दु अर्थात् ६.६ प्रतिशतमा आइपुगेको थियो । अमेरिकासँगको जारी व्यापार तनाव कारण सरकारले यस वर्षका लागि ६ देखि ६.५ प्रतिशत मात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

सन् २०१९ को पहिलो दुई महिनामा चीनको निकासी अघिल्लो वर्षको तुलनामा ४.६ प्रतिशतले घटेको छ ।

संयुक्तराज्य अमेरिका र चीनका व्यापार वार्ताकारहरुले गत साता बेइजिङमा दुई देशबीच जारी व्यापार तनावका बारेमा वार्ता गरेका छन् । निकै रचनात्मक भनिएको उक्त वार्तामा पनि सहमति छैन । दुबै पक्ष अर्को साता अमेरिकाको वासिङ्टनमा भेट्न र वार्तालाई निरन्तरता दिन सहमत भएका छन् । रासस/एपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.