प्रश्नपत्र बाहिरिएको बारे छानबिन शुरु, चैत भित्रै परीक्षा गर्न आइतबार नयाँ तालिका सार्वजनिक हुँदै

  २०७५ चैत १७ गते ९:१८     विकासन्युज

लहान । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले प्रदेश २ मा एसईईको प्रश्नपत्र परीक्षाअगावै बाहिरिएको विषयमा छानबिन शुरु गरेको छ ।

प्रदेश २ अन्तर्गत सप्तरीबाट विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको आशङ्कामा सिआइबीको अनुसन्धान टोलीले आइटी विशेषज्ञको सहयोग लिएर सप्तरीलाई केन्द्रबिन्दु बनाई छानबिन शुरु गरेको हो । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा खटिएको चार सदस्यीय टोलीले सप्तरीबाट काम शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए । सिआइबीको अनुसन्धानबाट घटनाको सत्यतथ्य खुल्ने विश्वास गरिएको छ ।

विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षा अघि नै बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा सबै विषयको परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।

चैत भित्रै परीक्षा, आइतबार नयाँ तालिका
यता, राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा स्थगित एसईई चैतभित्रै गर्न तयारी अघि बढाएको छ। बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले प्रदेश २ मा स्थगित र रद्द भएका परीक्षा चैत महिनाभित्रै गर्न समयतालिका निमार्णको गृहकार्य गरिरहेको जानकारी दिए ।

‘आइतबार परीक्षा तालिका सार्वजनिक गछौँ, उनले भने, चैतभित्रै परीक्षा सकेर उत्तरपुस्तिका परीक्षण थाल्छौँ ।’ बोर्डले सातवटै प्रदेशको नतिजा एकैदिन प्रकाशित गर्ने पनि जनाएको छ ।

चैत १० गते शुरु भएको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) देशभर चैत २१ गते सकिने समयतालिका थियो । प्रदेश २ मा चैत १४ गतेको विज्ञान विषयको प्रश्नपत्र परीक्षाभन्दा पहिल्यै बाहिरिएपछि रद्द गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.