विश्वपरिवेश हेर्दा नेपालमा लगानी धेरै सुरक्षित छ-डा सरोज कोइराला

  २०७५ चैत १५ गते १३:१५     विकासन्युज


दक्षिण कोरियाको सोलबाट प्रत्यक्ष  बैदेशिक लगानी(एफडीआई) विषयमा पीएचडी गर्नु भएका सरोज कोइरालाले लामो समय एक्सपोर्ट क्रेडिट कर्पोरेशन अफ कोरियाका लागि लामो रिसर्च गरिसक्नु भएको छ । शुक्रबार र शनिवार नेपालमा लगानी सम्मेलन चलिरहेको छ, यसै सन्दर्भमा नेपालमा बैदेशिक लगानीको सेरोफेरोमा रहेर डा. सरोज कोइरालासँग विकासन्यूजका लागि खेमराज श्रेष्ठले गरेको विकास बहस प्रस्तुत गरेका छौँ ।

विदेशी लगानीलाई आकर्षित गर्नु भन्दा स्वदेशी लगानीकर्तालाई लगानी गर भन्दा के फरक छ ?

यो प्रश्नको सिधै उत्तरदिनु पर्दा अहिले सरकारले २ वटा कुरा थपेको छ । एउटा कर होलिडे, दोस्रो लगानीकर्तालाई रेड कार्पेट ओछ्याउन कानूनहरु संशोधन गरेको छ । विदेशी लगानीर्ताले हेर्ने भनेको मैले यो देशमा लगानी गरेर कस्तो लाभ लिन सक्छु । मैले यति रकमको जोखिम लिएपछि कति फाइदा लिन सक्छु भनेर सोचेका हुन्छन् । हरेक विदेशी लगानीकर्ताले आफुले लगानी गर्न चाहेको क्षेत्रको कच्चा पदार्थ पाइन्छ÷पाइदैन, बजार कस्तो छ ? भन्ने सोचेका हुन्छन् । स्वदेशी लगानीकर्ताले सानो बजारलाई आधार मानेर लगानी गर्छन् भने विदेशी लगानीकर्ता ठूलो बजार हेरेर लगानी गर्न चाहान्छन् । विदेशी लगानीकर्ताले हेर्ने भनेको भारतीय बजार हो । तर, सरकारले यस्ता लगानीकर्तालाई भारतसम्म पुग्ने ढोका खुला गर्नु पर्छ ।

सरकारले निर्धारण गरेको लगानी क्षेत्र कस्तो छ ?

सरकारले निर्धारण गरेको क्षेत्र निकै सतही भयो । सम्मेलनमा कृषि, पूर्वाधार, जलविद्युत, पर्यटन लगायतलाई अघि सारेको छ । तर, यसको विशिष्टीकृत अध्ययन हुन सकेन । जस्तो पूर्वाधार भनिएको छ, यसभित्रको सब सेक्टरलाई निर्धारण गर्न सकिएको छैन । हाम्रो इकोनोमिक मोडेल के हो ? यो मोडेल सफल बनाउन कस्तो किसिमको लगानी आवश्यक छ ? यो कुरामा स्पष्ट हुनुपर्छ । नेपालमा कुन उद्योग खोलेर दीर्घकालमा नाफा दिन सक्छ । यो कुरामा ध्यान दिनुपर्छ ।

सरकारले ०४८, ०७३ पछि फेरी तेश्रो लगानी सम्मेलन गर्दैछ, यो समयको हिसाबले ठीक छ या हतार भयो ?

सरकारले २ वर्ष १ महिनापछि फेरी लगानी सम्मेलको आयोजना गरेको छ । यो बीचमा सरकारले कस्तो तयारी गरेको भन्ने कुरा महत्वपूर्ण रहन्छ । पहिलेको लगानी सम्मेलनको कमि कमजोरी के थियो ? त्यो बेलाको कमजोरी नदोहार्याउनु अहिलेको चुनौती हो । अघिल्लो वर्ष १४ खर्बको प्रतिबद्धता आएको थियो, २५ प्रतिशत परियोजना अघि बढेका छन् । बाँकी प्रतिबद्धता पाइप लाइनमा छन् होला । यसबाट समीक्षा गरेर अघि बढ्नु पर्छ । एकद्वारबाट विदेशी लगानीकर्तालाई सेवा दिने कुरा राम्रो हो ।

देशले किन लगानी सम्मेलन गर्दैछ, सो विषय प्रस्ट हुनुपर्छ । यो क्षेत्रमा सरकारको सामथ्र्यले भ्याएन, अब विदेशी लगानी आवश्यक छ भनेर सबै देशमा गएर ब्रिफिङ गर्नु भन्दा एकै ठाउँमा बोलाएर ब्रिफिङ गर्नु लगानी सम्मेलन हो ।

लगानी सम्मेलनका लागि सरकारले शोकेसमा राखेका परियोजना कस्तो लाग्यो ?

सरकारबाट ५० र निजी क्षेत्रबाट २७ गरी ७७ परियोजना अघि सारिएको छ । जसले परियोजना अघि सारेपनि यदि म विदेशी लगानीकर्ता भएको भए यो परियोजनामा कसरी लगानी गर्न सक्छु भनेर सोच्नु पर्छ । म लगानी गर्न सक्ने अवस्थामा छु कि छैन भनेर सोच्नुपर्छ । यसबाट परियोजनामा लगानी आउँछ त ? यदि आउँदैन भने फेरी कुन कुरामा सुधार गर्ने त त्यसतर्फ सोच्नु पर्छ । शोकेसका परियोजनाहरु सतही अध्ययनले बनाइएको हो भने यसले सम्मेलनको प्रतिबद्धताको अर्थ राख्दैन ।

जलविद्युतमा चिनियाँ र भारतीय लगानीकर्ता बढी आकर्षित हुनुले कस्तो प्रभाव पार्ला ?

लगानीले बजार खोज्छ, लगानीले खानी खोज्छ, अर्को ट्यारिफ जम्पिङ गर्न आउँछन् । चीन र भारतले प्रयोग गर्ने पानी हिमालय पग्लेर आउने पानी हो । यसलाई चीन र भारतले आफ्नै तरिकाले प्रयोग गर्न चाहान्छ । फर्पिङ जलविद्युत नेपालमा आएको १०७ वर्ष भयो । यो अवधीमा जम्मा १२ सय मेगावट विद्युत उत्पादन भयो । अब विश्लेषण गर्न सकिन्छ हाम्रो देशमा आयोजना ओगट्न विदेशी लगानीकर्ता आइरहेका छन् कि जलविद्युत बनाउन । यदि साँच्चै लगानी आइरहेको भए किन यो हालत देख्नुपथ्र्यो । अब हामीले अध्ययन गर्नु पर्छ, उनीहरु आयोजना ओगट्न आएका कि काम गर्न ? ८५ प्रतिशत भन्दा बढी आयोजना ओगटेर दुई देशका कम्पनी बसेका छन् । प्रगति छैन ।

गैरआवासीय लगानीकर्ताहरुलाई सरकारले लोभ्याउन नसकेको हो ?

पहिलो कुरा गैरआवासीय नेपाली लगानीकर्ताले कुन मोडेलमा काम गर्न खोजेको हो । सो विषय खुलाएर आउनुपर्छ । सरकारले नेपाली र गैरआवसीय लगानीकर्तालाई भेदभाव गरेको छैन ।

यो सम्मेलनबाट देशले कस्तो फाइदा लिन सक्छ ?

देशले किन लगानी सम्मेलन गर्दैछ, सो विषय प्रस्ट हुनुपर्छ । यो क्षेत्रमा सरकारको सामथ्र्यले भ्याएन, अब विदेशी लगानी आवश्यक छ भनेर सबै देशमा गएर ब्रिफिङ गर्नु भन्दा एकै ठाउँमा बोलाएर ब्रिफिङ गर्नु लगानी सम्मेलन हो । लगानी सम्मेलनबाट देशको इकोसिस्टमलाई सहज बनाउन सक्छ । सम्मेलनबाट प्रतिवद्धता आउने हो, तर चुनौती कहाँ हुन्छ भने त्यसलाई निरन्तरता दिन हाम्रो मेकानिजम छ कि छैन ? छ भने यसबाट फाइदा लिन सकिन्छ ।

गत लगानी सम्मेलनमा सरकारले अनुमान गरेको भन्दा धेरै प्रतिवद्धता आयो, अहिले त्यो आँकडालाई पछि पार्न सरकार लागी परेको देखिन्छ । सम्मेलन सफलताको आधार प्रतिवद्धतालाई मान्ने देखियो नि ?

लगानी सम्मेलनलाई सफल मान्ने र असफल मान्ने दुई आधार छन् । एउटा अघिल्लो वर्षको सम्मेलनमा ८ खर्बको प्रतिवद्धता आयो, तर लगानी खोई ? अर्को लगानी आयो, बजार कहाँ छ ? अब बाहिरी मार्केट हेरौं कि भारत कि चीन । हामीले लगानी ल्याउदा कस्तो प्रकृतिको लगानी ल्याउँदा फाइदा लिन सक्छ यो विषयमा ध्यान दिनुपर्छ ।

हामी आर्थिक र सामाजिक रुपले निकै पछाडी छौँ । यो अवस्थामा हामीले हाम्रो प्राथमिकताको क्षेत्र निर्धारण गर्नु पर्छ । कुन क्षेत्रमा भारतले भन्दा राम्रो गर्न सक्छौँ ? नेपालको स्रोत साधनले कस्तो क्षेत्रलाई अघि बढाउन सक्छ ? यसमा अध्ययन आवश्यक छ ।

चिनियाँ र भारतीय लगानीकर्ताको आकर्षण साँच्चिकै बढेको हो कि उनीहरुले भ्रम छरिरहेका छन् ?

हाम्रो भूराजनीतिक अवस्था यस्तो छ कि वीरगञ्गजको पारी रक्सौल छ । तर, तातोपानीको पारी चीन छैन । यहाँबाट ३५ किलोमिटर टाढा चेन्दु भन्ने ठूलो शहर छ । चीन त हङकङको छेउमा छ । चिनियाँहरु स्टाटेजिक मुभ पनि गरिरहेका हुन्छन् । हाम्रो देशमा लगानी आउँदा विशुद्ध व्यवसायिक लगानी आयो भन्न सकिदैन । यसमा रणनीतिक क्रियाकलाप पनि हुन सक्छ । यस्तो अवस्थामा छिमेकीबाटै लगानी आइरहेका छन् । तर, यसलाई फिल्टर गर्नुपर्छ ।

नेपालको सिमावर्ती क्षेत्रमा उद्योग खोल्न भारतले विदेशी लगानीकर्तालाई जति सुविधा दिन्छ नेपालले किन दिन सक्दैन ?

हामी आर्थिक र सामाजिक रुपले निकै पछाडी छौँ । यो अवस्थामा हामीले हाम्रो प्राथमिकताको क्षेत्र निर्धारण गर्नु पर्छ । कुन क्षेत्रमा भारतले भन्दा राम्रो गर्न सक्छौँ ? नेपालको स्रोत साधनले कस्तो क्षेत्रलाई अघि बढाउन सक्छ ? यसमा अध्ययन आवश्यक छ । जस्तो हाम्रो स्रोतले सिमेन्ट उद्योगलाई सहयोग गर्न सक्छ । तर, सरकारले भारतीय बजारसम्म जाने सजिलो बाटो बनाउनु पर्छ ।

लगानीलाई नाफाले आकर्षण गर्छ, नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुको अवस्था कस्तो छ ?

नेपालमा आएर डुबेका विदेशी लगानीकर्ता निकै कम छन् । युटिएल प्राविधिक कारणले र हिमालयन स्प्रिङ कम्पनी आन्तरिक कारणले असफल भएका हुन् । नेपाल लिभरले १७ सय प्रतिशत सम्म लाभांश बाडेको छ । गत १० वर्षमा वैदेशिक ७० अर्ब लगानी आएको देखिन्छ । ९९ सय अर्ब प्रतिफल लगिसकेका छन् । यो हेर्दा नेपाल लगानीको लागि उच्च प्रतिफल दिने देश हो ।

विदेशी लगानी नेपालमा कतिको सुरक्षित छ ?

लगानी भनेको नै जोखिम हो । जोखिम नै नहुने क्षेत्र निकै कम छन् । विश्वपरिवेश हेर्दा नेपालमा लगानी धेरै सुरक्षित छ । शान्ती सुरक्षाको चुनौती नेपालमा छैन ।

विश्वपरिवेशमा लगानीको बहाव कतातिर बगिरहेको छ ?

विश्वपरिवेसमा विदेशमा लगानी गर्ने दर १८ प्रतिशतले घटेको छ । तर, नेपालको अर्थतन्त्रले विश्व अर्थतन्त्रलाई प्रभाव पार्दैन, यो हैसियत हाम्रो अर्थतन्त्रको छैन । गत वर्ष हाम्रो देशमा करिब १७ अर्बको लगानी आएको छ । यो अघिल्लो वर्षको तुलनामा १० अर्बले बढी हो । विश्व परिवेशमा घट्दा हाम्रोमा बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.