हस्ताक्षर गर्ने वित्तिकै झोलामा पैसा बोकेर केहि आउँदैनन्

  २०७५ चैत १४ गते १०:०४     हरिभक्त शर्मा

हरिभक्त शर्मा

काठमाडौं । लगानी सम्मेलनमा सरकार र निजी क्षेत्रले आ आफ्नो तर्फबाट योगदान गरिरहेका छौं । धेरै लामो समयपछि नेपालको माटोमा यति ठूलो संख्यामा विदेशी लगानीकर्ता आएका छन् । त्यसकारण नेपालको लगानीको वातावरण माथी उनीहरुको संशय हटाउने यो राम्रो अवसर हो । नेपाल विगतमा राम्रो लगानी गन्तव्यका रुपमा मानिदैनथ्यो । तर अहिले नेपाल परिवर्तन भएको छ ।

नेपालमा लगानी गरेर विदेशी कम्पनीहरुले व्यापक रुपमा मुनाफा कमाएका छन र कमाउन पनि सक्छन् । नेपालमा विदेशी लगानीको सफलताको जुन रेट छ, त्यो भनेको उच्च नाफा नै हो । नेपालमा विदेशी लगानीको प्रतिफल अद्दितिय छ । राम्रो मात्रै होइन की संसारकै सबै भन्दा बढी नाफा कमाउने बजारका रुपमा नेपाल रहेको छ विदेशीकर्ताका लागि । यद्यपी नेपालमा विदेशी लगानी कर्ताहरुको संख्या भने कम छ । त्यसकारण हामीले यसलाई नै बजारीकरण गर्नुपर्ने अवस्था छ । नेपालमा अहिले भएको परिवर्तनपछि बनेको सरकार र सरकारले विदेशी लगानीकर्ताका लागि लिएको नीति पनि राम्रो छ ।

यो लगानी सम्मेलन भनेको विदेशी लगानीकर्तालाई आफ्ना नीति बुझाउने अवसर हो । नेपालमा जति पनि कानुनहरु परिवर्तन भैरहेका छन् तिनमध्ये केहिमा व्यापक छलफल भएको छ भने कतिपय हतारमा पनि आएका छन् । त्यसकारण हामीले चीन, भारत, बंगलादेश, श्रीलंका या पाकिस्तान सरहका लगानी मैत्री कानुनहरु बनाउनुपर्छ भन्ने सहमति पनि भएको छ । कानुनहरु समयसँगै सुधार हुँदै जानेछन् ।

अर्काे कुरा नेपालको बजार आफैंमा ठुलो छैन भनेर विदेशीले भनिरहेका छन् । तर हामीसँग चीन, भारत र सिंगो दक्षिण एसियाको बजार उपलब्छ छ । त्यसकारण साढे ३ देखि चार अर्ब डलरसम्मको परियोजना तयार पारिएका हुन् । यी परियोजना युरोप वा अमेरिकाका भन्दा साना होइनन् । यी विकसित मुलुकका लागि पनि साना होइनन् । ठूला र विकसित देशमा पनि एक सय मिलियन डलर भन्दा माथीका परियोजना धेरै सानामा गनिँदैनन् ।

हामीले साइड लाइनमा प्रि समिट रिसेप्सन गर्दैछौं । निश्चित विदेशी लगानीकर्ता, सरकारी निकाय र स्वदेशी लगानीकर्ता बसेर साइडलाइन वार्ता गर्छाै । बिजनेश टु बिजनेश छलफल गर्छाै । त्यसले पनि धेरै विदेशी लगानीकर्ताका लागि नेपालमाथी विश्वास गर्ने वातावरण बन्छ । हामीले बुझ्नै पर्ने कुरा, आज सहि गरेर भोली पल्टै झोलामा पैसा राखेर हाम्रा बैंकमा राखिदिने कुरा कुनै पनि लगानी सम्मेलनमा हुँदैन् । लगानीकर्ताहरुले नेपालको लगानी र बजारका विषयमा अध्ययन गर्छन्, हामीसँग कुरा गर्छन् । सरकारसँग वार्ता गर्छन् । अनि मात्रै लगानी गर्ने हो ।

त्यसकारण पनि यो लगानी सम्मेलन नेपालका लागि ठूलो अवसर हो । यसको अधिकतम सदुपयोग गरेर नेपाललाई विश्वकै उत्कृष्ठ लगानी गन्तव्यका रुपमा चिनाउनुपर्छ । (नेपाल उद्योग परिसंघका अध्यक्ष शर्माले व्यक्त गरेको विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.