गरिबलाई दिने अनुदानमा भाजपा र काँग्रेसबीच हाेडबाजी, माेदीले ६ हजार दिने, गान्धीले ७२ हजार

  २०७५ चैत ११ गते २०:४४     विकासन्युज

 

नयाँदिल्ली। गरिब जनतालाई कसले बढी अनुदान वितरण गर्ने विषयमा भारतका प्रमुख दलहरूबीच हाेडबाजी चलेकाे छ । निर्वाचनकाे पूर्वसन्धामा भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिव परिवारलाई बार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गरेका छन् ।

नरेन्द्र मोदीको नेतृत्वमा वर्तमान सरकारले  चुनावकाे पूर्वसन्ध्यामा ल्याएकाे बजेटमा करिब १२ करोड ‘गरिब तथा निम्न वर्गीय’ किसानलाई प्रति परिवार बार्षिक छ हजार भारतीय रूपैयाँ दिने घाेषणा गरिएकाे थियाे । त्यसकाे लागि सरकारका लागि दश अर्ब ५० करोड अमेरिकी डलरको थप भार परेकाे छ ।

सरकारी बजेटलाई चुनाैति दिदै सोमबार आयोजित पत्रकार सम्मेलनमा काँग्रेस अध्यक्ष गान्धीले वार्षिक ७२ हजार अनुदान दिने घाेषणा गरेका हुन् । गरिबीमा रहेकाहरुलाई न्यूनतम आय सुनिश्चत गर्नका लागि न्यूनतम आय योजना लागु गरिने अध्यक्ष गान्धीले बताए ।

“गत पाँच बर्ष जनता धेरै समस्याहरुबाट ग्रसित भए, विषेशगरी गरिब जनता बढी प्रभावित भए, त्यसैले हामीले गरिब जनताका लागि यो योजना ल्याएका हौँ,” उनले माेदी सरकारकाे  अालाेचना गर्दै भने ।

अध्यक्ष गान्धीले आफ्नो पार्टीले ल्याएको न्यूनतम आय सुनिश्चत गर्ने योजना ऐतिहासिक भएको दाबी पनि गरे । “अत्यन्त गरिब २० प्रतिशत परिवारलाई न्यूनतम आयका लागि काँग्रेसले सुनिश्चत गर्दछ, बैंक खातामै हामीले ७२ हजार रुपैयाँ हाल्दिन्छौँ,” उनलेे भने ।

यस योजनाबाट झण्डै पाँच करोड परिवार र २५ करोड जनता लाभान्वित हुने काँग्रेस नेताहरुले बताएका छन् । यस कार्यक्रमले काँग्रेसकाे भाेट निकै बढाउने अनुमान गरिएकाे छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.