सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त

  २०७५ चैत ११ गते १८:००     विकासन्युज

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा गणेशराज पोखरेल नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समितिको बैठकले कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत पोखरेललाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

२०७५ साल चैत्र १८ गतेबाट लागु हुने गरी आगामी ४ वर्षको कार्यकालका लागि पोखरललाई सिइओमा नियुक्त गर्ने निर्णय भएको हो ।

तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको समयावधि समाप्त भए पश्चात नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए ।

पोखरेलले स्थापनाकाल देखि नै बैंकमा आबद्ध भई विभिन्न पदमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । पोखरेलले साथै २०६५ साल देखि नै दोस्रो वरियतामा रहेर बैंकमा कार्य सम्पादन गर्दै आएका हुन् । बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित पोखरेलले त्रिभुवनविश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानूनमा स्नातक तथा काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।

बैंकमा आबद्ध हुनु अघि उनले विभिन्न संस्थामा महत्वपूर्ण ओहदामा रही कार्य कुशलता प्रदर्शन गरिसकेका छन् । व्यवस्थापन क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव भएका पोखरेल दुरदर्शी, लगनशील, मृदुभाषी तथा दृढ इच्छा शक्ति भएको व्यक्तिका रूपमा परिचित छन् ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले ‘भित्र सिस्टम र बाहिर इमेज’लाई काम गर्दा प्रमुख विषय बनाउने र समस्त सरोकारवालाहरूको हितमा काम गर्ने बताए । नीतिनियमको पालना आफ्नो अत्यन्त प्राथमिकतामा पर्ने र यस अवधिमा बैंकलाई थप उचाईमा पुर्याउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । बरिष्ठ अर्थविद डा. शंकरप्रसाद शर्मा अध्यक्ष रहेको सिटीजन्स बैंक अनुभवी व्यवस्थापन समूह र जनशक्तिबाट संचालित रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.