यूनियन हाइड्रोले चैत १३ गतेदेखि आईपीओ बिक्री गर्ने, यस्तो छ कम्पनीको अवस्था ?

  २०७५ चैत ११ गते १४:०६     विकासन्युज

काठमाडौं । यूनियन हाइड्रोपावर कम्पनी लिमिटेडले ३५ करोड ३४ लाख ३४ हजार रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आगामी चैत १३ गतेदेखि अंकित मूल्य १०० रुपैयाँ दरको ३५ लाख ३४ हजार ३४० कित्ता सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले सो मध्ये २ प्रतिशत अर्थात ७० हजार ६८६ कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात एक लाख ७६ हजार ७१७ कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याएको छ । साथै, बाँकी रहेको ३२ लाख ८६ हजार ९३७ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ ।

उक्त कम्पनीमा लगानीका लागि लगानीकर्ताले कम्तीमा ५० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ३५,००० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । अर्थात उक्त आयोजनामा लगानी गर्न चाहने इच्छुकले न्युनतम ५००० देखि ३५ लाख रुपैयाँसम्म आवेदन दिन सक्नेछन् । तर, कम्पनीले जारी गर्न लागेको आईपीओमा संस्थाका संस्थापक तथा सञ्चालकहरु तथा संस्थापक सेयरधनीहरुका एकाघरको सदस्यले आवेदन दिन नपाउने व्यवस्था गरिएको छ ।

उक्त सेयर चैत १३ गतेदेखि खुला भई छिटोमा चैत १७ गते र ढिलोमा बैशाख १२ गते बन्द हुने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।

यस्ताे छ कम्पनीको अवस्था

३ मेघावाट क्षमताको यस आयोजनाको कुल लागत ७९ करोड ५० लाख रुपैयाँ र प्रति मेगावाट उत्पादन लागत २६ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीको सामान्य भुक्तानी अवधि(नर्मल पेब्याक पिरड) १०.६१ वर्ष र छुट्याइएको भुक्तानी अवधि(डिष्काउन्टेड पेब्याक पिरड) २३.२३ वर्ष रहेको अनुमान गरिएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३८ करोड ३७ लाख रुपैयाँ रहेको छ । सो मात्राको आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ पुग्ने छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि आईपीओ ग्रेड ५ पाएको छ । यसले कम्पनीको वित्तीय अवस्था कमजोर रहेको देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.