‘चौँथो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला’ चैत १४ गतेदेखि शुरु, १०७ वटा स्टल राखिने

  २०७५ चैत १० गते १९:०८     विकासन्युज

काठमाडौं । महिला उद्यमी महासंघ नेपालले आगामी चैत १४ गतेदेखि “चौँथो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०१९” शुरु गर्ने भएको छ । महासंघले आइतबार पत्रकार सम्मेलन गरी सो दिनदेखि चैत १८ गतेसम्म ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा उक्त मेला आयोजना गर्न लागेको बताएकाे हाे ।

महासंघले नेपालमा उत्पादन भएका वस्तु एवं हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रर्वधन गर्ने उद्देश्यले उक्त मेलाको आयोजना गर्न लागेको हो । महिला उद्यमी महासंघ नेपाल, नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना, नेपाल इन्भेष्टमेन्ट बैंक, एफसीए आदि लगायतका संस्थाहरुको सहयोगमा उक्त मेला हुन लागेको आयोजकले बताएका छन् ।

महिला तथा बालबालिका मन्त्री थममाया थापाबाट उद्धघाटन हुने उक्त मेलाको मूख्य आकर्षण सिन्धुली जिल्लाको घाँस बेच्ने एक महिला उद्यमी सुकमाया तामाङ हुन् । ग्रामीण क्षेत्रको सफल महिला उद्यमी तामाङलाई उनको उद्यमशीलताको पहिचान, प्रोत्साहन र हौसला बढाउन मुख्य आकर्षणको रुपमा लिइने महासंघकी अध्यक्ष शारदा रिजालले बताएकी छिन् ।

मेलामा १०७ वटा स्टलहरु रहनेछन् । जसमा ४ वटा निःशुल्क रहेछन् भने बाँकी सशुल्क रहेको छ । ६ वटा अन्तर्राष्ट्रिय स्टल रहने उक्त मेलामा स्टल राख्न चाहने उद्यमी सदस्यलाई २२ हजार, सदस्यता नभएकालाई २७ हजार र जिल्लाबाट आउनेलाई १५०० रुपैयाँ शुल्क लाग्ने महासंघकी पहिलो प्रेसिडेन्ट रिता सिंहाले जानकारी दिएकी छिन् ।

मेलामा स्वदेशका ३२ वटा जिल्लाबाट उद्यमी लगायत बंगलादेश, भारत, कम्बोडिया, थाइल्याण्ड र पाकिस्तानका महिला उद्यमीहरु सहभागी हुनेछन् ।

हस्तकलाको महत्व दर्शाउन सम्पूर्ण अवलोकनकर्तालाई हस्तकलाको उत्पादनको प्रत्यक्ष प्रदर्शनको अवसर प्रदान गरिने छ । साथै, कम्बोडियाबाट कम्बोडिया महिला उद्यमी संघबाट १० जनाको टोलीले उक्त मेलाको निरिक्षण तथा अवलोकन गर्न आउनेछन् ।

मेलामा हस्तकलाका समान जस्तै, प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुन्नाका सामानहरु, हाते कागज तथा काठजन्य वस्तुहरु, जैविका खाद्य पदार्थ, कृषिजन्य उत्पादनहरु लगायत विभिन्न सेवा प्रदायक संस्थाहरुको स्टलहरु रहनेछन् ।

मेलामा करिब ५० हजारले अवलोकनका साथै कुल ५ करोड रुपैयाँ बराबरको कारोबार हुने महासंघ अनुमान रहेको छ । साथै, सार्क राष्ट्र, युरोप लगायतका देशहरुबाट ५० जनाभन्दा बढी विदेशी आयतकर्ता आउने अपेक्षा लिइएको आयोजकले बताएका छन् । मेला अवलोकन गर्न चाहने इच्छुकलाई निःशुल्क प्रवेशको सुविधा रहेको छ ।

महिला उद्यमीहरुको श्रम र श्रृजनालाई अगाडी ल्याएर राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा उनीहरुको पहिचान बनाउन सहयोग पुग्ने महासंघको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.