लगानी सम्मेलनको शोकेश भित्र २६ खर्ब ६८ अर्बका ६३ प्रोजेक्ट, ३० खर्ब लगानी प्रतिवद्धताकाे अपेक्षा

  २०७५ चैत १० गते १०:४६     विकासन्युज

काठमाडौं । सरकारले चैत्र १५ र १६ गते काठमाडौंमा आयोजना गर्न लागेको लगानी सम्मेलनमा सम्भावित लगानीकर्ता माझ ठूला ६३ वटा परियोजना प्रस्तुत गरिनेछ । ती परियोजनाहरुको निर्माण गर्न करिव २४ अर्ब २६ करोड अमेरिकी डलर (२६ खर्ब ६८ अर्ब ७९ करोड रुपैयाँ) लागत अनुमान गरिएको लगानी बोर्डले जनाएको छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार लगानी बोर्डकै पहलमा तयार गरिएको ४७ वटा परियोजना सम्मेलनमा प्रस्तुत गरिने छ । ती परियोजनाहरुको लागत २२ अर्ब ४३ करोड अमेरिकी डलर हुने अनुमान गरिएको छ ।

त्यस्तै, सम्मेलनमा निजी क्षेत्रबाट तयार गरिएको १७ वटा परियोजना पेश हुनेछन् । ती प्रोजेक्टको लागत १ अर्ब ८२ करोड अमेरिकी डलर अनुमान गरिएको छ ।

सम्मेलनमा ३० खर्ब भन्दा बढी लगानीकाे प्रतिवद्धता जुटाउने सरकारकाे लक्ष्य छ । २०७३ सालमा भएकाे लगानी सम्मेलनमा १४ खर्ब रूपैयाँ लगानीकाे घाेषणा भएकाे थियाे । तर त्यसबाट एक रूपैयाँ पनि लगानीमा रूपान्तरणा नभएकाेले यस्ताे प्रतिवद्धताकाे महत्व र अाैचित्यमा प्रश्न उठेकाे छ ।

सम्मेलनमा लगानी बोर्डको तर्फबाट १०० अर्ब भन्दा बढी लगानी अनुमान गरिएको १० वटा प्रोजेक्टहरु प्रस्तुत गरिनेछ । त्यसमा निजगढ अन्तराष्ट्रिय विमानस्थल, पूर्वपश्चिम विद्युतिय रेलमार्ग, काठमाडौं–पोखरा–लुम्बिनी विद्युतीय रेलमार्ग, काठमाडौं मेट्रो रेल, १२०० मेवा क्षमताको पश्चित सेती हाइड्रोवापर, १११० मेवा क्षमताको सुनकोशी २ हाइड्रोपावर, ७५० मेवा क्षमताको पश्चित सेती हाइड्रोपावर, ५३६ मेवा क्षमताको सुनकोशी ३ हाइड्रोपावर, तमोर स्टोरेज हाईड्रोपावर रहेका छन् ।

लगानी सम्मेलनमा सरकारले रेल, जलविद्युत्, यातायातको पूर्वाधार, सहरी विकास, कृषि, पर्यटन, प्राविधिक शिक्षा, स्वास्थ्य शिक्षा, औद्योगिक पूर्वाधार, जग्गा तथा आवास विकासको परियोजना प्रस्तुत गर्दै यस क्षेत्रमा विदेशी लगानी आकर्षण गर्न चाहेको अधिकारीले जानकारी दिए ।

सम्मेलनमा विभिन्न ४० देशबाट ६५० जनाभन्दा बढी सम्भावित लगानीकर्ता सहभागि हुने निश्चित भईसकेको छ । सम्मेलनमा नेपाली ठूला लगानीकर्ता, गैरआवासी नेपाली, राजनीतिक नेतृत्व, प्रसाशनिक तहको नेतृत्व गरी करिव ५०० जना सहभागि हुने लगानी बोर्डले जनाएको छ ।

काठमाडौंको सोल्टी होटलमा भएको सबैभन्दा ठूलो हलको क्षमता ६०० जना मात्र भएकोले ११५० जनाभन्दा बढीलाई सहभागि गराएर सम्मेलन व्यवस्थापन गर्न कठिन भएको बोर्डले जनाएको छ । ‘सबै जनालाई हलभित्र राख्न सकिदैन । सहभागिहरुलाई वाहिर पनि राख्नुपर्छ । उनीहरुको लागि बाहिर ठूलो स्क्रीन राखेर प्रत्यक्ष हेर्ने प्रबन्ध गर्छौ ।

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री युवराज खतिवडा सहित सरकारका उच्च पदस्थ अधिकारीहरुले सम्बोधन गर्ने छन । यस सम्मेलनमा लगानीकर्ताको तर्फबाट हुने प्रस्तुतिहरुमा नेपालीलाई भन्दा विदेशीलाई बढी प्राथमिकता लिने तयारी छ । पहिलो सम्मेलनमा विदेशी लगानीकर्तालाई भन्दा बढी नेपाली लगानीकर्तालाई प्राथमिकता दिईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.