विनादबाब काम गर्न पाएँ भने ३ महिनामा सब ठीक पार्छु, टुटल र पठाओ बन्द हुन्छः कुमार दाहाल

  २०७५ चैत १० गते १२:४५     विकासन्युज

कुमार दाहाल, महानिर्देशक, यातायात व्यवस्था विभाग

मैले संघीय यातायात व्यवस्था विभागको काम सम्हालेको केहि हप्ता बितेको छ । अहिले कुनकुन ठाँउमा कमि कमजोरीहरु रहकेका छन् हेरिरहेको छु । हुन त विभागले कुनै उल्लेख्य काम गर्न सकेको कुनै उदाहरण छैन । समस्या धेरै छन्, कुन पहिले गर्ने भन्ने विषयमा सोचिरहेको छु ।

विभागमा अझै पनि ४ लाख ५० हजार भन्दा बढी स्मार्ट लाइसेन्स छपाई गर्न बाँकी छ । यसको लागि मास प्रिन्टर ल्याउने तयारी भैरहेको छ । हामीसँग रहेको मेसिनले १५ सय जति दैनिक लाइसेन्स छापिरहेको छ । यो निकै कम हो । विभागले अहिले संघीय ढाँचाका कार्यालयहरुलाई सम्पन्न बनाउने काम गरिरहेको छ । केहि दिनभित्रैमा अञ्चल कार्यालयमा सर्भर पठाउने तयारी गरहेका छौं । कसैको स्वार्थको लागि यो रोकिनु हुँदैन ।

सेवाग्राहीलाई सेवा दिने भनेको प्रदेश स्तरका कार्यालयले हो । ती कार्यालयहरुले अधिकार प्राप्त गरिसकेका छन् । कानून निर्माणदेखि काम अघि बढाउनेसम्म सबै काम सुरु हुनेछ । अब संघीय विभागले केहि कानून निर्माण गर्ने र नियमन गर्ने काममा ध्यान दिनेछ । लाइसेन्स परीक्षा सञ्चालन गर्ने, स्मार्ट लाइसेन्स छपाई गर्ने सामान्य सवारीलाई निर्देशन र नियमन साविकको अञ्चल स्तरको कार्यालयले गर्नेछ ।

विभागले यातायात व्यवस्था ऐन २०४९ लाई परिमार्जन गर्ने तयारी सुरु गरेको छ । विद्यमान ऐनले संघियता मोडेलमा काम गर्न असहज भएकाले ऐन परिमार्जन गर्न खोजिको हो । यातायात क्षेत्रको ऐनको ड्राफ्ट तयार भैरहेको छ ।

सार्वजनिक यातायातमा सुधार गर्नुपर्ने कुराहरु धेरै रहेका छन् । सबैको आआफ्नै डम्फु, आआफ्नै ताल रहेको छ । यो अवस्थामा कहाँबाट काम सुरु गर्ने भन्ने चुनौती रहेको छ । उपत्यकाको सवारी व्यवस्थापन दिनदिनै कठिन बन्दै गएको छ । एक जना यात्री १५ मिनेटमै कलंकी पुग्न सके सार्वजनिक यातायात सफल हुनेछ । यसले निजी सवारीलाई समेत निरुत्साहित गर्नेछ । इलेक्ट्रिक सवारी सञ्चालन प्रयोग गर्न धेरै पूर्वाधार विकास गर्नुपर्ने हुन्छ । यसको लागि केहि समय लाग्न सक्छ ।

अहिले सार्वजनिक यातायातमा व्यवसायी देखि लिएर सेवाग्राहीसम्मलाई समस्या छ । एक जनाले सवारी किनेर दर्ता गर्ने, रुट परमिट लिने, प्यान नं. लिने, कर तिर्ने, नबिकरण गर्ने लगायतका काम एकै स्थानबाट नहँुदा समस्यामा छ ।

व्यवसायीहरुलाई कम्पनी मोडेलमा ल्याउनको लागि कम्पनी दर्ता ऐन पनि संशोधन पनि भैसकेको छ । अन्तिम पटक जेठसम्म कम्पनीमा जाने समय थपिएको छ । हेरौं सबै आउछन् कि आउँदैनन् ।

विभागमा नतिजा निकाल्न असजिलो मैले देखेको छैन । मैले बिना अबरोध पूर्ण क्षमतामा काम गर्न पाए भने ३ महिनाभित्र काम देखाउन सक्छु । एउटा मन्त्री, सचिव, महानिर्देशक र कर्मचारी पाखुरा सुर्केर निस्कियो भने कस्ले के गर्न सक्छ । सबै कुरा प्रक्रियामा आइहाल्छ । हामीले हेर्ने सेवाग्राही र कानून हो । व्यवसायीलाई असहज रहेका केहि कानून परिमार्जन गरेका छौं । यसको लागि कम्पनी दर्ता ऐनमा रहेको सेयरधनी सम्बन्धी समस्या पनि समाधान भैसकेको छ ।

पठाओ र टुटल बन्द गरिने
पठाओ र टुटल अबैधानिक हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले पनि पठाओ र टुटल अवैधानिक भन्नु भएको छ । रातो नम्बर प्लेट भएकाले यात्रु बोक्न पाउँदैनन् । कानून बन्दैछ । कानूनको मापदण्डमा नआई यस्ता कम्पनीहरुलाई यात्रु बोक्ने अधिकार छैन, केही दिनमै यसलाई हामी बन्द गर्छौँ ।  रातो प्लेटले यात्रु बोक्दा सार्वजनिक यातायातलाई असर पर्नेछ ।
(यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालसँगको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.