रात्रिकालीन काठमाडौं, रंगिन दुनियाँ कि विकृतिको अड्डा ?

  २०७५ चैत १० गते ८:५८     विकासन्युज

काठमाडौं । संघीय मुलुक नेपालका राजधानीवासी दिउँसो समयमा धुलो, धुँवा र ट्राफिक व्यवस्थापनको समस्या झेलिरहेका छन् । फोहोर, धुलो, धुँवा र ट्राफिक समस्याको चाङले थिचिने काठमाडौंको रात्रिकालीन अवस्था पनि विकृतिजन्य क्रियाकलापले भरिएको छ । शुक्रबार राति काठमाडौंलाई नियाँल्दा विभिन्न प्रकारका विकृतिको चाङ फेला पारेको हो । निगरानीका क्रममा भेटिएको यस्तो संवादले नै पुष्टि गर्छ, राजधानीमा रात्रिकालीन समयमा हुने विकृतिजन्य कार्य ‘जाने हो ?’ स्कुटर घ्याच्च रोकियो ।

उत्ताउलो पहिरनमा सजिएकी एक सुन्दर युवतीको आग्रह थियो त्यो, जो कोहीलाई पनि प्रभावमा पार्ने जिउडाल, अर्धनग्न पहिरन र आग्रहले एकैछिन अलमलमा पाथ्र्यो । एकछिन बार्गेनिङ भयोे र एक ग्राहक तिनै युवतीको स्कुटरमा चढे र लागे ह्याप्पी फ्राइडे मनाउन ।

रातको १० बजेको छ । ठमेल आसपास धेरै यौनकर्मी महिला र तेस्रो लिंगी सलबलाउन थालिसकेका छन् । युरोप र अमेरिकाको संगत गरेको ठमेल ह्याप्पी फ्राइडेको नशामा डुबेको छ । ठमेलका रात्रिकालीन व्यवसाय मस्त र व्यस्त रूपले चलिरहेछ । डान्स बार, पव, डिस्को र दोहोरीमा विदेशीभन्दा नेपाली युवायुवतीकै चहलपहल बढी देखिन्छ । झन्डै रातभरजस्तो डान्स बार, पव, डिस्को र दोहोरीभित्र रंगिन संसारमा मस्त बन्ने ठमेल सुस्ताउँदै जाँदा बाहिर अर्को माहोल बनिसक्छ ।

रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउन उमेर नपुगेकालाई प्रवेश गर्न प्रशासनले रोक लगाएको छ । तर पनि १८ वर्षभन्दा कम उमेरका किशोर किशोरीहरूको आवतजावतसमेत सहजै भइरहेको देखिन्छ । महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त लामाका अनुसार प्रहरीले कडाइ गरेका कारण उमेर नपुगेकालाई प्रवेश दिने क्रम रोकिएको छ ।

प्रहरीले यसबारे जनगुनासो बढेपछि छुट्टै योजना अपरेसन नै चलाएर रात्रिकालीन व्यवसायमा बालबालिकालाई काममा लगाउन नपाइने र यस्ता मनोरञ्जनका नाममा प्रवेशमा कडाइ गरेको थियो । यस्तो भेटिएका व्यवसायीलाई कारबाही हुने तथा किशोर किशोरीलाई नियन्त्रणमा लिई सचेत गराउने तथा अभिभावकको जिम्मा लगाउने गरिएको छ ।

प्रहरीले दैनिक रूपमा निगरानी नगर्ने भए तापनि विभिन्न अवस्थामा गरिने चेकजाँचका क्रममा बालबालिकाको प्रवेशमा नियन्त्रण देखिएको एसएसपी लामाको दाबी छ । कानुन उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ । आजको राजधानी दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.