कोटेश्वर र बानेश्वरमा ६ महिनाभित्र आकाशे पुल बन्ने, निर्माण जिम्मा प्रकृति/पवन जेभीलाई

  २०७५ चैत ८ गते १८:४३     खेमराज श्रेष्ठ

काठमाडौं । पैदल यात्रीको उच्च चाप हुने कोटेश्वर चोक र बानेश्वर चोकमा आकाशे पुल निर्माण हुने भएको छ । पैदल यात्री धेरै हुँदा सवारी जाम बढेपछि सो स्थानमा आकाशे पुल निर्माण गर्न लागिएको हो ।

पुल निर्माणको लागि सडक डिभिजन कार्यालय काठमाडौंले ठेकेदार कम्पनीको छनोट गरिसकेको छ । २ स्थानमा बन्ने आकाशे पुलको लागि डिभिजन कार्यालयले प्रकृति/पवन जेभीलाई जिम्मा दिएको छ । डिभिजनले बिहिबार कम्पनी विरुद्ध ७ दिनको दाबी विरोध सूचना निकालिसकेको छ । सो अवधीमा कम्पनी विरुद्ध कुनै पनि विरोध नपरेमा कामको जिम्मा औपचारिक रुपमा पाउनेछ ।

कम्पनीसँग १५ दिनभित्रै सम्झौता हुने डिभिजन प्रमुख कैलाशकुमार श्रेष्ठले बताए । उनका अनुसार दुबै स्थानमा ६ महिनाभित्र पुल निर्माण गरिनेछ । यदि सो स्थानमा अन्डरपास निर्माण हुने भएमा पुल एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिनेछ । बानेश्वर चोकमा बन्ने पुलको लागि ३ करोड ५२ लाख ७ हजार ५ सय १२ र कोटेश्वर चोकमा बन्ने पुलको लागि २ करोड ८९ लाख २४ हजार ९ सय ४५ रुपैंयमा सम्झौता हुनेछ ।

पुल निर्माणको लागि एक मात्र ठेकेदार कम्पनीले आवेदन दिएको डिभिजन कार्यालयले जनाएको छ । पुल देख्दा केहि आकर्षक भएपनि सामान्य प्रकृतिको हुने प्रमुख श्रेष्ठले बताए । मुभएवल पुल भएकाले असारभित्रै काम सक्ने गरि काम गर्ने डिभिजन कार्यालयको तयारी छ ।

लगानी सम्मेलन अघि सडकका सबै खाल्डाखुल्डी पुरिने

डिभिजन कार्यालयले चैत १५ र १६ गते हुने लगानी सम्मेलन अघि उपत्यकाभित्रको ३२५ किलोमिटर सडकमा रहेको खाल्डाखुल्डी पुर्ने भएको छ । रातीको समयमा खाल्डो पुर्ने काम सुरु गर्ने डिभिजन कार्यालयले तयारी गरेको छ । दिउँसो काम गर्दा यातायातमा असर पर्ने भएकोले १० गते आइतबार रातीबाट काम सुरु गर्नेछ । सम्मेलन अघि नै सडकमा रहेका खाल्डाखुल्डी पुर्ने र रंगरोगन गरिसक्ने डिभिजन प्रमुख श्रेष्ठले बताए ।

कार्यालयले अहिले चक्रपथमा रहेको २७.३ किलोमिटर सडक मर्मत अन्तिम चरणमा पुर्याएको छ । अब न्युरोड, दरबारमार्ग, अनामनगर, सोह्रखुट्टे, त्रिपुरेश्वर लगायत क्षेत्रमा मर्मतको काम हुनेछ । यसअघि भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले जेठभित्र उपत्यकाको सबै सडक कालोपत्रे गरिसक्ने दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.