कर अधिकृत विक विरुद्ध अख्तियारले दायर गर्यो मुद्दा, गैरकानूनी रुपमा १ करोड ८२ लाख आर्जन गरेको अभियोग

  २०७५ चैत ८ गते १८:००     विकासन्युज

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड ८२ लाखभन्दा बढी रकम गैरकानुनी रुपमा आर्जन गरेको अभियोगमा करअधिकृत मानप्रसाद विकविरुद्ध शुक्रबार मुद्दा दायर गरेको छ ।

भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत विकले पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो । विक हाल करदाता सेवा कार्यालय पाँचथर फिदिममा कार्यरत कर अधिकृत पदमा कार्यरत छन् ।

२०६८ असोज २२ गतेदेखि राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा नियुक्त भएको र २०६६ चैत १० गतेदेखि राहत शिक्षकका रुपमा कार्यरत रहँदा विकले वैध रुपमा आर्जन गरेको भन्दा बढी रकम देखिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

हालसम्म सरकारी सेवामा रहँदा विकले तीन करोड दश लाख चौंतीस हजार सात सय चौबिस रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको र उनको वैध आय एक करोड २७ लाख ६६ हजार नौ सय ४५ मात्र रहेको देखिएको छ।

आयोगले आम्दानीको तुलनामा विकले एक करोड बयासी लाख ६७ हजार सातसय उनासी रुपैयाँको स्रोत नखुलेको पाइएको जनाएको छ । मुद्दामा अख्तियारले स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग गरेको छ । मुद्दा दायर भएसँगै विक निलम्बनमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.