धनगढी-अछाम पहिलोपटक हवाई सेवा शुरु, भाडादर ३ हजार ३ सय ५० रुपैयाँ

  २०७५ चैत ८ गते १५:०१     विकासन्युज


अछाम । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीदेखि अछामको साँफेबगरसम्म पहिलोपटक हवाई सेवा शुरु भएको छ । निजी हवाई कम्पनी समिट एयरले पहिलोपटक धनगढीदेखि साँफेबगरसम्मको उडान सञ्चालनमा ल्याएको हो ।

यस क्षेत्रका यात्रुको सहजताका लागि आजदेखि धनगढीदेखि साँफेबगरका लागि नियमित उडान भर्न शुरु गरिएको समिट एयरका अछाम प्रतिनिधि दीपक दुवालले जानकारी दिए ।

समिट एयरमा धनगढी–साँफेबगरसम्म १७ मिनेटमै यात्रा गर्न सकिने भन्दै उनले यात्रुको चाप र मागलाई मध्यनजर गरी हप्तामा सातै दिन उडान भर्न सकिने बताए ।

धनगढीदेखि साँफेबगरसम्मका लागि तीन हजार ३५० भाडादर कायम गरिएको छ । धनगढी–साँफेबगर नियमित हवाई सेवा सञ्चालन हुँदा अछामसहित बाजुरा र डोटी जिल्लाका यात्रुलाई पनि सहज हुने भएको छ ।

यसअघि नेपाल एयरलाइन्सले नेपालगञ्जदेखि साँफेसम्म निरन्तर दोहोरो उडान सञ्चालन गरिरहेकामा फागुन २२ गतेदेखि समिट एयरले पनि नेपालगञ्जदेखि साँफेबगर उडान शुरु गरेको थियो । नेपाल एयरलाइन्सले हरेक आइतबार र बिहीबार उडान भर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.