नेप्से २८ अंकले घट्दा ८ वाणिज्य बैंकको सेयर मूल्यमा वृद्धि, एनआईसी एशियाको सबैभन्दा बढी

  २०७५ चैत ८ गते १६:५५     विकासन्युज

२०७४ चैत १२ देखि २०७५ चैत ७ गतेसम्मको नेप्से चार्ट

काठमाडौं । गत वर्षको तुलनामा नेप्से परिसूचक २८ अंकले घटेको छ । २०७४ चैत १२ गते ११६८.६२ अंकमा रहेको नेप्से २०७५ चैत ७ गते ११४०.६० अंकमा अडिएको हो ।

एक वर्षको अवधिमा नेप्सेको उच्चतम बिन्दु १४३८ र न्युनतम बिन्दु ११०० अंक रहेको छ । गत वैशाख ९ गते नेप्से परिसूचक बढेर उच्चतम १४३८ अंकमा पुगेको थियो । त्यसपछि सामान्य उतारचढाव भई ओरालो लागेको नेप्से गत फागुन १९ गते ११०० अंकमा झरेको हो । जुन एक वर्षयताको न्युनतम बिन्दु हो ।

दोहोरो अंकको गिरावट देखिएको सेयर बजारमा विभिन्न ८ वटा वाणिज्य बैंकको सेयर मूल्यमा वृद्धि भएको छ । गत वर्षको तुलनामा कुल २८ वटा वाणिज्य बैंक मध्ये जम्मा ८ वटा बैंकको सेयर मूल्य बढेको छ भने बाँकी २० कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ ।

बजारमा एनआईसी एशिया, प्राइम, सिद्धार्थ, कुमारी, माछापुच्छ्रे, प्रभु, जनता र सिभिल बैंकको २०७५ चैत ७ गतेको सेयर मूल्य २०७४ चैत १२ गतेको तुलनामा ३ रुपैयाँदेखि १०० रुपैयाँसम्मले बढेको छ । सो मध्ये एनआईसी एशिया बैंकको सेयर मूल्य सबैभन्दा बढी रुपैयाँले बढेको छ । गत वर्ष प्रतिकित्ता २९८ रुपैयाँ रहेको संस्थाको सेयर मूल्य बढेर प्रतिकित्ता ३९५ रुपैयाँ पुगेको छ । जुन एक वर्षको तुलनामा प्रतिकित्ता ९७ रुपैयाँ बढी हो ।

त्यस्तै, गत वर्ष प्राइम कमर्शियल बैंकको सेयर मूल्य २७५ रुपैयाँ रहेको थियो । जसको अहिले ४२ रुपैयाँले मूल्य बढेर प्रतिकित्ता ३१७ रुपैयाँ पुगेको छ ।

सो मध्ये सिद्धार्थ, कुमारी र माछापुच्छ्रे बैंकको सेयर मूल्यमा सामान्य वृद्धि भएको छ । प्रतिकित्ता २८१ रुपैयाँ रहेको सिद्धार्थ बैंकको सेयर मूल्य बढेर २८५ रुपैयाँ पुगेको छ । कुमारी बैंकको मूल्य २३३ रुपैयाँबाट प्रतिकित्ता २३५ रुपैयाँ पुगेको छ । साथै, माछापुच्छ्रे बैंकको सेयर मूल्य प्रतिकित्ता २१२ रुपैयाँबाट बढेर प्रतिकित्ता २१८ रुपैयाँ रहेको छ ।

त्यसैगरी, प्रभु, जनता र सिभिल बैंकको सेयर मूल्य क्रमशः प्रतिकित्ता २३१, १७० र १५५ रुपैयाँ रहेको छ । हाल यी तीन वटै बैंकको सेयर मूल्य गत वर्षको तुलनामा क्रमशः प्रतिकित्ता ३१, २१ र १५ रुपैयाँले बढी हो ।

                                                    सेयर मूल्य वृद्धि भएको ८ वाणिज्य बैंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.