मेडिकल कलेजको ठगी शृंखला, नेसनल मेडिकलद्वारा छात्रवृत्तिकै विद्यार्थीबाट चर्को ब्याज

  २०७५ चैत ८ गते ७:४६     विकासन्युज


काठमाडौं। एकपछि अर्को मेडिकल कलेजको ठगी धन्दा सार्वजनिक भइरहेको बेला वीरगन्जस्थित नेसनल मेडिकल कलेजले छात्रवृत्ति पाएका विद्यार्थीबाट समेत चर्को रूपमा ब्याज लिने गरेको पाइएको छ । प्राप्त कागजातअनुसार कलेजले समयमा वार्षिक शुल्क नबुझाएको भन्दै छात्रवृत्ति प्राप्त विद्यार्थीबाट चर्को ब्याज लिएको पाइएको हो ।

वार्षिक शुल्क र होस्टेल शुल्कस्वरूप संयुक्त रूपमा सो कलेजले ती विद्यार्थीबाट मनोमानी ढंगले शुल्क असुल्दै आएको छ । शुल्क ढिलो तिर्ने विद्यार्थीबाट ब्याज शीर्षकमा १२ हजार ६ सय रुपैयाँ लिएको छ । कलेजले १२ जना विद्यार्थीबाट प्रतिविद्यार्थी २ लाख ३३ हजार रुपैयाँका दरले रकम असुलेको छ ।

यस्तै, परीक्षा शुल्क शीर्षकमा ३५ हजार रुपैयाँ, छात्राबास शुल्क शीर्षकमा ६४ हजार, मेस चार्जअन्तर्गत ७३ हजार ६ सय र अन्य शीर्षकमा ४० हजार रुपैयाँ लिएको पाइएको छ । कलेजले एक विद्यार्थीबाट २ लाख २५ हजार ५ सय रुपैयाँ लिएको छ ।

सो कलेजको १६औं ब्याजमा १२ जना विद्यार्थीले सरकारबाट छात्रवृत्ति पाएर अध्ययन गरिरहेका छन् । यसरी हेर्दा सो कलेजले छात्रवृत्ति पाएका विद्यार्थीबाट प्रतिवर्ष १० लाख रुपैयाँका दरले असुलेको छ ।

स्रोतका अनुसार सो नेसनल मेडिकल कलेजले एमबीबीएस अध्ययन गर्दै आएका विद्यार्थीबाट प्रतिविद्यार्थी ६१ लाख ३६ हजार रुपैयाँ लिँदै आएको छ । सरकारले उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार रुपैयाँ शुल्कबापत तोकेको छ ।

बढी शुल्कबारे कुरा उठाउने अभिभावकहरूलाई कलेज प्रशासनले धम्क्याउने गरेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.