महाराजगञ्ज र रत्नपार्क क्षेत्रको प्रसारण प्रणाली भूमिगत हुने, गुमेको सौन्दर्य फर्काइदै

  २०७५ चैत ७ गते १९:१३     विकासन्युज

काठमाडौँ । अव्यवस्थित प्रसारण लाइनका कारण कुरुप बनेको काठमाडौँ उपत्यकाको प्रसारण प्रणालीलाई आगामी ३० महिनाभित्र भूमिगत गर्ने गरी निर्माण व्यवसायीसँग सम्झौता भएको छ ।

विद्युतका पोलको कारण शहरी सौन्दर्य गुमेको तथा दुर्घटनाको जोखिमसमेत बढेको भन्दै लामो समयदेखि तार भूमिगत गर्ने माग उठ्दै आएको थियो । संसारका कुनै पनि विकसित देशका शहरमा खुलारुपमा विद्युत् प्रसारण लाइन देख्न सकिँदैन । विद्युतीय दुर्घटनाको जोखिम बढेकाले विद्युतीय तार भूमिगत गर्न लागिएको हो ।

यसका लागि नेपाल विद्युत् प्राधिकरणले भारतीय कम्पनी केइआई इन्डष्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता गरेको हो । प्राधिकरणले काठमाडौँको बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने लक्ष्यका साथ गत फागुन ६ गते ती कम्पनीलाई छनोट गरेको थियो । सोही छनोटका आधारमा प्राधिकरणले केही दिन पहिले सो कम्पनीसँग सम्झौता गरेको हो ।

प्राधिकरणले पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतको विद्युतको तारलाई भूमिगत गर्ने तयारी गरेको छ । प्राधिकरणले निर्माण व्यवसायीलाई कार्यसम्पादन जमानतसहित खरीद सम्झौताका लागि आउन पत्राचार गरेको थियो । कम्पनीले सूचना जारी भएको २८ दिनभित्र कार्यसम्पादन जमानतसहित ठेक्का सम्झौताका लागि आउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार केही दिन पहिले निर्माण व्यवसायीसँग सम्झौता गरिएको आयोजना प्रमुख अभिषेक अधिकारीले जानकारी दिए ।

कम्पनीसँग महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको काम गर्न करीब तीन अर्ब ५७ करोड ५१ लाख (कर बाहेक) ठेक्का सम्झौता भएको हो । यस्तै कम्पनीले रत्नपार्क वितरण केन्द्रअन्तर्गतको काम करीब तीन अर्ब १२ करोड १५ लाख (कर बाहेक) सम्झौता गरिएको छ ।

मध्य तथा उत्तर काठमाडौँ (महाराजगञ्ज)का आयोजना प्रमुख अधिकारीले निर्माण व्यवसायी कम्पनीसँग सम्झौता भएको जानकारी दिँदै सम्झौताका सम्पूर्ण प्रक्रिया पूरा गरी आगामी जेठदेखि काम शुरु गर्ने लक्ष्य तय गरेको जानकारी दिनुभयो । कम्पनीले ठेक्का कार्यान्वयनमा आएको ३० महिनाभित्र काम सक्नुपर्ने व्यवस्था गरिएको छ ।

पहिलो चरणमा काठमाडौँको पूर्व तथा दक्षिणमा पर्ने बागबजार, असन, दरबारमार्गलगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरमा बालुवाटार, गोङ्गबु, सामाखुसीलगायतका महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत पर्ने क्षेत्रमा पर्ने विद्युत् वितरण प्रणालीलाई भूमिगत तथा स्वचालित बनाउन लागिएको हो ।

ठेकेदार कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, समान आपूर्ति, जडान र सञ्चालन गर्ने छ । पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४०० भोल्टका प्रणालीलाई भूमिगत र स्वचालित गरिनेछ । तार भूमिगत गरिएसँगै दुई वितरण केन्द्रअन्तर्गतका ९० हजार ग्राहकका घरमा स्मार्ट मिटरसमेत जडान हुनेछ ।

वितरण प्रणालीलाई भूमिगत गर्नुका साथै अप्टिकल फाइबर बिच्छ्याउने र बिजुली वितरणको तथ्याङ्क राख्न बेग्लै केन्द्र, दुई वितरण केन्द्रमा ९० हजार थान आधुनिक मिटर जडान गर्ने योजना छ । दोस्रो चरणमा काठमाडौँका अन्य क्षेत्र तथा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भूमिगत लाइनलाई आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजनामा प्राधिकरण रहेको छ ।

सडकखन्दा सर्वसाधारणलाई धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होराइजेन्टन डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइने छ । उक्त प्रविधि अपनाउँदा केही मिटरको दूरीमा दुई खाल्डा खनेर बीचमा भूमिगत तरिकाले नै पाइप हाल्न सकिने प्राधिकरणको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.