जेटको समस्या समाधान गर्न वित्त मन्त्रालय सक्रिय, नरेश गोयललाई हटाउनु पर्ने एसबीआईको शर्त

  २०७५ चैत ७ गते १५:१०     विकासन्युज

मुम्बईं । संकटग्रस्त अवस्थामा रहको भारतीय विमान सेवा प्रदायक कम्पनी जेट एयरवेजलाई समस्याबाट बाहिर ल्याउन रिज्योलुसन प्लानको कार्यान्वयन सुरु भएको छ । सरकारी स्वामित्वको भारतीय बैंक स्टेट बैंक अफ इन्डियाले सो प्लान तयार गरेको बताइएको छ ।

जहाज लिजमा लिएबापतको १७ अर्ब भुक्तानीसहित ८५ अर्ब दायित्व भएको उक्त कम्पनीलाई उठाउन साझेदार इतिहाद एयरलाइन्स समेतको चाहना बमोजिम रिज्योलुसन प्लान लागु गर्न लागेको एसबीआई बैंक सम्वद्ध स्रोतलाई उद्घृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बुधबार भारतीय वित्त मन्त्रालयका अधिकारीहरुसमेतको बैठकमा त्यस्तो योजना तयार भएको बताइएको छ । यद्यपि त्यसलाई अन्तिम रुप दिन भने बाँकी छ ।

जेट एयरवेजलाई वित्तीय संकटबाट बाहिर ल्याएर उडान नियमित गर्न यो प्लान नै अन्तिम भएको बताइन्छ । यसो नहुँदा एयरलाइन्स बन्द हुने अवस्थामा पुग्नेछ भने एयरलाइन्समा कार्यरत २३००० जनाको रोजगारी समेत गुम्नेछ । यो प्लान लागु भएमा जेट वेयरवेजको व्यवस्थापनमा ठूलो परिवर्तन आउनेछ भने नयाँ व्यवस्थापनको गतिविधिलाई शुक्ष्म ढंगले निगरानी गर्न एउटा छुट्टै समिति समेत बन्नेछ ।

हाल जेट एयरलाइन्समा ५१ प्रतिशत शेयर हिस्स भएका नरेश गोयल पनि शेयर हिस्सेदार कम्पनी र अन्य कम्पनीका अधिकारीहरुसँग वार्ताका लागि दुबईमा छन् र उनले हरेक विकासक्रमहरु सरकारलाई जानकारी गराइरहेका छन् । यो प्लान सफल भएमा गोयलको एयरलाइन्समा हिस्सा आधा भन्दा पनि कममा आउने बताइएको छ ।

यो प्लान सम्भव नभएको अवस्थामा एयरलाइन्स बन्द हुने र जेटका अन्य जहाजहरु अर्को कम्पनीलाई सञ्चालन गर्न दिने विकल्पबारे पनि छलफल भइरहेको बताइएको छ । एयरलाइन्स सुधारका लागि हाल एयरलाइन्सका कर्मचारीहरुबाट पनि निरन्तर दबाब आइरहेको छ । जेटका ४५ भन्दा बढी जहाजहरुले अहिले उडान भर्न पाएका छैनन् ।

१२३ जहाज भएको जेट भारतकै सबैभन्दा धेरै प्यासेन्जर बोक्ने विमान कम्पनीको रुपमा परिचित थियो । २४ देशमा दैनिक ७५० ओटासम्म उडान गर्ने उक्त एयरलाइन्सले भारतीय एयरलाइन्सको करिब १३ प्रतिशत प्यासेन्जर हिस्सा ओगटेको थियो, तर अहिले यो दर घटेर ११.९ प्रतिशतमा आइपुग्दा एयर इन्डियाले जेटलाई उछिनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.