ठूलो हिस्सा शेयर भएका ‘क्रस होल्डर’ सानिमा बैंकबाट बाहिरिँदै, २७ लाख कित्ता शेयर बिक्रीमा

  २०७५ चैत ७ गते ११:३१     विकासन्युज

काठमाडौं । एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामा होल्डिङ (क्रस होल्डिङ) गर्नेे सानिमा बैंकका एकजना शेयरधनी ठूलो हिस्सा शेयर बिक्रीसँगै सानिमा बैंकबाट बाहिरिने भएका छन् । नेपाल राष्ट्र बैंकले एकभन्दा बढी प्रतिस्पर्धी बैंक तथा वित्तीय संस्थामा ठूलो शेयर होल्डिङ गर्न प्रतिबन्ध लगाएपछि सानिमा बैंकका उक्त शेयरधनीले २७ लाख १८ हजार ८३५ कित्ता शेयर बिक्रीका लागि प्रस्ताव गरेका हुन् ।

उक्त शेयर बिक्रीका लागि उक्त न्युनतम १८० रुपैंया मूल्य र न्यूनतम २ लाख कित्ता शेयर संख्या तोकिएको छ । सानिमा बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । सानिमा क्यापिटलले जारी गरेको सूचनामा उक्त शेयरमा खरिदका लागि योग्य व्यक्तिले न्यूनतम २ लाख कित्ताका लागि आवेदन दिनसक्ने उल्लेख गरिएको छ । जसअनुसार उक्त शेयर खरिदका लागि न्यूनतम ३ करोड ६० लाख रुपैंया तिर्नुपर्नेछ ।

सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष जोशीले बैंकका शेयर बिक्री गर्न चाहने संस्थापकको आग्रह बमोजिम उक्त शेयर लिलामीमा राखेको बताउँदै सम्बन्धित संस्थापक शेयरधनीले नै शेयरको न्यूनतम मूल्य र न्यूनतम कित्ता तोकेको जानकारी दिए ।

बिक्री गर्न लागिएको शेयरको होल्डिङ एकैजनासँग भएको बताइएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि एउटै संस्थापकले २ ओटा बैंकको शेयर होल्डिङ गर्न नपाउने भएपछि शेयर बिक्रीमा राखिएको बताइएको छ । ‘नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार ठूला शेयरधनीहरुले एउटा भन्दा बढी बैंकमा होल्डिङ गर्न नपाउने भएपछि शेयर बिक्री गर्न लागिएको हो । शेयर बिक्री गर्न चाहने संस्थापकको अर्को बैंकमा पनि ठूलो होल्डिङ छ ।’ स्रोतले विकासन्यूजसँग भन्यो ।

८ अर्ब १ करोड चुक्ता पुँजी भएको बैंकको ८ करोड कित्ता साधारण शेयरमध्ये बिक्री हुन लागेको करिब २७ लाख कित्ता शेयर करिब ३ प्रतिशत बराबर हो । बिक्रीमा राखिएकाे शेयर कसले र कतिमा किन्छ वा सानिमा बैंकमा कुन प्लेयर भित्रन्छ, त्याे भने चासाेकाे विषय बनेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.