काठमाडौंका होटल र डेरीमा विभागले गर्यो अनुगमन, मापदण्ड पूरा गर्न निर्देशन

  २०७५ चैत ७ गते ११:०२     विकासन्युज


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा काठमाडौं उपत्यकाका विभिन्न स्थानका होटल र डेरीको अनुगमन गरी मोबाइल प्रयोगशाला भ्यानबाट परीक्षण गरेको छ । दूध तथा दुग्ध पदार्थ उत्पादन निर्देशिका चैत ४ देखि लागू भइसकेकोले सो अनुसार ठूला तथा साना डेरी उद्योग तथा पसलहरुको अनुगमनलाई तीब्रता दिएको विभागले जनाएको छ ।
्र
विभागले बुढानिलकण्ठ स्थित विभिन्न होटल रेष्टुरेण्ट भोजनालय तथा डेरी पसल अनुगमन गरी सरसफाइ लगायतका अन्य विषयमा सुधार गर्न निर्देशन दिएको छ । यसै क्रममा अनुगमन गरिएका प्रशान्त डेरी प्रालि, श्रेया होटल, सेन्ट्रल मम, खाद्य भण्डार, श्रृजना स्टोर्स, गिताञ्जलि होटल, अप्सरा रेष्टुराँ, गुप्ता स्विट्स तथा ए एम एस कोल्ड स्टोरमा सरसफाइ, सुधार गर्न लेवल विवरण हेरेर उपभोग्य मिति बाँकि भएका खाद्य वस्तु बिक्रिवितरण गर्न निर्देशन दिएको छ । साथै मिठाइ पसलमा रङ्गको परीक्षण गर्दा कुनैपनि अखाद्य रङ्ग नभएको पाइएको छ ।

थानकोट तथा बालाजुमा दूध तथा दुग्ध पदार्थको अनुगमन गरी दूधमा न्यूट्रलाइजर, चिल्लो तथा चिल्लो बाहेकको ठोस वस्तु जाँच गरिएको छ । थानकोट नाकाबाट भित्रिएका दूधका ट्याङ्कर, बालाजु स्थित आधुनिक डेरी, सामुहिक कृषक डेरी, पुष्प डेरी तथा थानकोट स्थित थानकोट दूध दही पसल समेतको अनुगमन गरी मोबाइल प्रयोगशालामा परीक्षण गर्दा कुनै कैफियत नभएको पाइएको छ । सामुहिक डेरीलाई स्टेनलेस स्टीलको भाँडामा दही जमाउन निर्देशन दिएको छ भने दूध दही पसलमा दूधको परीक्षण गरेर मात्र बिक्रीवितरण गर्न निर्देशन दिएको छ ।

ललितपूर स्थित हिमालय डेरी लगनखेल संयूक्त डेरी पाटन औद्योगिक क्षेत्र र राजधानी डेरी पाटनमा अनुगमन गरी मोबाइल प्रयोगशाला भ्यानमा परीक्षण गर्दा न्यूट्रलाइजर प्रयोग नभएको पाइएको छ । दूध उत्पादन निर्देशिका अनुसार मापदण्ड पुरा गर्न निर्देशन दिएको छ ।

ललितपुर खुमलटार स्थित बीग मार्ट, राम स्टोर, फेमस दूध डेरी पसल र गोर्खा स्टोरका साथै भवानी सुपर मार्केट थसिखेल, मार्ट प्रालि, झम्सिखेल तथा सानेपा डेरी सेन्टर समेतको अनुगमन गरी सरसफाइमा ध्यान दिन, लेवल विवरण हेरेर मात्र बिक्रीवितरण गर्न तथा स्टेनलेस स्टिल वा आल्मुनियमको भाँडामा दूध ढुवानी गर्न निर्देशन दिइएको छ ।

भक्तपूर स्थित सञ्जीवनी डेरी तथा कालिका डेरीको अनुगमन गरी दूध उत्पादन निर्देशिका अनुरुप भए नभएको अनुगमन गरिएको छ । अनुगमन गर्दा कुनै पनि कैफियत पाइएन । भक्तपूरको बागेश्वरीमा मण्डन देउपूर स्थित चिस्यान केन्द्रबाट प्लाष्टिकको ट्याङ्कीमा दूध ढुवानी गरी फर्कँदै गरेको सवारी साधनको चालकलाई अब उप्रान्त प्लाष्टिकको ट्याङ्कीमा दूध ढुवानी नगर्न निर्देशन समेत दिइएको छ ।

विभागले घुम्ती प्रयोगशाला परिचालन गरी स्थलगत रुपमा दूध, तेल, पानी लगायतका खाद्यवस्तुको परीक्षण गरी खाद्य ऐन अनुसार कारबाही गरिरहेको तथा आगामी दिनमा समेत काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा अनुगमन कार्यलाई निरन्तरता दिने भएको छ । दूध तथा दुग्ध पदार्थ उत्पादन निर्देशिका चैत ४ गतेदेखि लागू भइसकेकोले सो अनुसार ठूला तथा साना डेरी उद्योग तथा पसलहरुको अनुगमनलाई तिब्रता दिइने भएकोले डेरी उद्योग तथा डेरी पसलहरुले निर्देशिका अनुसारको प्रावधान पूरा गर्न समेत विभागले सूचित गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.