राष्ट्रिय सभामा विनाटेन्डर दुई करोडको सामग्री खरिद, भुक्तानी स्वीकृत गर्न नमान्ने लेखा प्रमुख सरुवा

  २०७५ चैत ७ गते ७:४८     विकासन्युज


काठमाडौँ । संघीय संसद्ले सार्वजनिक खरिद ऐनविपरीत टेन्डर प्रक्रिया छल्दै आफूअनुकूलका विभिन्न कम्पनीबाट सामग्री खरिद गरेर भुक्तानीसमेत दिएको खुलेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको ठाडो निर्देशनमा उनीसहित उपाध्यक्ष, समिति सभापति तथा सचिवको कार्यकक्ष व्यवस्थापनका लागि फर्निचर, कार्पेट, पर्दालगायत सामग्री खरिद गर्न ३८ कम्पनीलाई विनाटेन्डर ठेक्का दिएको र २ करोड भुक्तानीसमेत भएको हो ।

५ लाखभन्दा बढी मूल्यको खरिदका लागि टेन्डर प्रक्रिया अपनाउनुपर्ने नियम छल्न संसद्ले एउटै कम्पनीलाई पौने १० लाखको ठेक्का दिएर दुई बिलमा भुक्तानी गरेकोसमेत भेटिएको छ । अरू उस्तै प्रकृतिका ३७ कम्पनीलाई पनि उही कामका लागि ठेक्का दिएर अनियमितता गरिएको संसद् स्रोतले जनायो ।

स्रोतका अनुसार सार्वजनिक खरिद ऐनविपरीत संसद्का महासचिव मनोहरप्रसाद भट्टराईको स्वीकृतिविना नै २३ फागुनमा सबै कम्पनीलाई रकम भुक्तानी भएको छ । अध्यक्षले निर्देशन दिए पनि भट्टराईले नमानेको स्रोतले बतायो । महासचिवले भुक्तानी स्वीकृत नगरेपछि संसद्का प्रमुख लेखानियन्त्रक पुष्पप्रसाद गुरागाईंले पनि अस्वीकार गरेका थिए । तर, अध्यक्षको आदेश नमान्दा उनको सरुवा भएको छ । ‘लेखा प्रमुखलाई सरुवा गरेर अहिले महासचिवको स्वीकृतिविना नै भुक्तानी भएको छ,’ सचिवालय स्रोतले भन्यो । आजको नयाँ पत्रिका दैनिकमा समााचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.