२४ करोडको पुलमा पिलर मात्र, सँगैको काठेपुल तर्दा जनताबाट असुली

  २०७५ चैत ७ गते ७:४३     विकासन्युज

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा दोदा नदीमाथि ०७२ मा निर्माण सुरु भएको पुल अलपत्र छ । २४ करोडमा सम्झौता भएको पुलमा पिलर मात्र छन् । छेउमा बनाइएको काठेपुल तर्दा स्थानीयले शुल्क तिर्नुपर्छ । देखतभुली–पर्सिया–शंकरापुर गाउँ जोड्न एक सय ७० मिटर लामो पक्की पुल २५ पुस ०७५ मा निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । तर, फुटपाथसहित दुई लेनको पुल बनाउने जिम्मा पाएको ठेकेदार कम्पनी लुम्बिनी राजेन्द्र श्रेष्ठ जेभीले म्याद गुज्रिसक्दा तीन पिलर मात्रै उभ्याएको छ । प्राविधिक समस्या आएको भन्दै पुल निर्माण अवरुद्ध छ ।

‘पुलको डिजाइनमै समस्या आयो, त्यसैले निर्माण रोकिएको छ,’ सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी इन्जिनियर लक्ष्मणदत्त जोशीले भने । पुलको डिजाइन नआउँदै ठेक्का दिँदा र ठेकेदारले हतारमा निर्माण सुरु गर्दा समस्या देखिएको स्थानीय जनकराज जोशीको दाबी छ ।

इटाह बाबा मन्दिर सहयोग समितिले गत कात्तिकमा काठेपुल बनाएर पैसा उठाइरहेको छ । साइकल यात्रुसँग ५ र मोटरसाइकल यात्रुसँग २० रुपैयाँ दस्तुर उठाउने गरिएको छ । ‘पैसा उठाउनु हाम्रो बाध्यता हो, ठेकेदारले अर्को वर्ष पनि पुल पूरा गर्दैन, काठेपुल बनाउन सरकारले पैसा दिँदैन, त्यसैले दस्तुर उठाउन बाध्य छौँ,’ समितिका एक सदस्यले भने । आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.