एसईई परीक्षा दिँदै सांसद शान्ता चौधरी, लक्ष्य पीएचडी !

  २०७५ चैत ७ गते ७:३६     विकासन्युज


काठमाडौं। प्रतिनिधिसभा सांसद शान्ता चौधरी दुई साताअघि संसद् सचिवालयमा बिदा फाराम बोकेर पुगिन् । उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट संसद्को सचेतकको भूमिकामा छिन् । आफ्नो जिम्मेवारी आगामी २० चैतसम्म सम्हाल्न नसक्ने भएकाले उनी बिदा माग्दै सचिवालय पुगेकी हुन् ।

दुई सातादेखि दाङस्थित आफ्नो निवासमा बसेर बाहिरी राजनीतिको विषयमा कुनै ध्यान नदिएर सांसद चौधरी परीक्षामा एकाग्र भएकी छन् । उनी अहिले मुलुकको कानुन बनाउनेभन्दा त्यही कानुनले व्यवस्था गरेको शिक्षाको अधिकार प्रयोग गरिरहेकी छन् । कारण हो, एसईई परीक्षाको तयारी ।

पाँच दिनपछि एसईई परीक्षा सुरु हुँदै छ । यो वर्ष उनी एसईईको परीक्षामा सामेल हुँदै छिन् । त्यसका लागि उनले संसद्बाट बिदाको बन्दोबस्तो मिलाएकी हुन् । परीक्षाको तयारीमा व्यस्त रहेकी उनी फोन उठाउनसमेत भ्याउँदिनन् ।
‘अहिले सबैजसो विषयमा ट्युसन क्लास लिएकी छु, पहिलेभन्दा धेरै सहज बनेको छ । दिनभरि पढाइमा व्यस्त हुन्छु । राजनीतिक कार्यक्रममा गएकी छैन,’ सांसद चौधरीले भनिन्, ‘स्कुलमा गएर पढ्नु राम्रो हो । त्यो गर्न नसके पनि घरमा बसेर अध्ययन गर्छु । नजानेका कुरा सम्बन्धित विषयका शिक्षकसँग सोध्छु ।’

वर्षभरि उनी राजनीतिक काममा व्यस्त रहिन् । पढाइका लागि समय मिलाउन पनि उनलाई अप्ठ्यारो थियो । विद्यार्थीले जस्तो तालिकाअनुसार पढ्न राजनीतिज्ञलाई सजिलो हुँदैन । तर पनि सकेसम्म पढ्ने वातावरण मिलाउने कोसिस गर्छिन् उनी । ‘समय व्यवस्थापन गर्ने आफूले हो । समयको व्यवस्थापन गर्न नसकेको समस्या मसँग छ,’ सांसद चौधरीले भनिन्, ‘राजनीति गर्ने मान्छेलाई जनताको काम र पार्टीको काम गर्नुपर्ने हुन्छ । यसका बाबजुत पनि पढ्ने वातावरण मिलाउन कोसिस गर्छु ।’

सचेतकको जिम्मेवारीमा रहेकी उनी नियमित संसद् बैठकमा उपस्थित हुनुपर्छ । संसद्भित्रका गतिविधिलाई उनले विशेष ध्यान दिनुपर्ने दायित्व छ । ‘पढाइप्रतिको दृढताले समयको व्यवस्थापन गर्न कोसिस गर्छु,’ उनले भनिन्, ‘बढी उमेरका मानिसमा बिर्सिने समस्या हुन्छ । अलि ढिलो बुझ्ने हुन्छ । तर, पनि भित्री इच्छाका साथ पढ्नुपर्छ भनेर होला मेरो पढाइ सन्तोषजनक छ, यसमा खुसी लाग्छ ।’

सांसद चौधरीको सपना पीएचडी गर्ने रहेको छ । उनले यो कुरा बेलाबेला साथीभाइलाई पनि सुनाउँदै आएकी छन् । तर, पीएचडी गर्ने सोच एसईईमा कस्तो नतिजा आउँछ, त्यसमा भर पर्ने उनी बताउँछिन् । ‘एसईईमा कस्तो ग्रेड आउँछ । कलेज पढ्न पाउँछु कि पाउँदिन । राम्रो ग्रेड आए पढ्छु । पीएचडी गर्छु त भनिराछु,’ उनले थपिन्, ‘हेरौं, त्यो त समयले बताउने कुरा हो । अहिलेको एसईईमा कस्तो नतिजा आउँछ त्यसमा भर पर्छ ।’ आजको राजधानी दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.